सञ्चार क्षेत्रको समस्या समाधान गर्न सरकार कटिबद्ध


काठमाडौं । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार क्षेत्रमा देखिएको समस्या समाधान गर्न वर्तमान सरकार कटिबद्ध रहेको

बताउनुभएको छ ।
गोरखापत्र संस्थानको ६०औं वार्षिकोत्सव तथा उक्त पत्रिका प्रकाशन भएको १ सय २२ वर्षको उपलक्ष्यमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले गोरखापत्रलाई सरकारी मुखपत्र मात्र नभई जनताको आवाज उठाउने पत्रिकाको रूपमा विकास गर्न सरकार लागिपरेको बताउनुभयो ।

उहाँले श्रमजीवी पत्रकारहरूको सुरक्षाका लागि सरकारले नीति नै बनाएर अघि बढ्ने तयारीमा रहेको बताउँदै दक्षिण एसियामा १ सय २२ वर्षसम्म निरन्तर प्रकाशित हुँदै आएको गोरखापत्रको छुट्टै इतिहास रहेको बताउनुभयो ।

सञ्चार सचिव बैकुण्ठ अर्यालले गोरखापत्रलाई आवाजविहीनहरूको आवाज बनाउन सरकार लागिपरेको र पछिल्लो समयमा गोरखापत्रले हासिल गरेको सफलताले पनि पत्रिकाको गरिमा बढ्दै गएको बताउनुभयो ।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले गोरखापत्र सरकारको मुखपत्र मात्र नभएर नेपालको एउटा इतिहास भएकाले यसको गरिमालाई कायम राख्न सरकारले यसमा देखिएको समस्या समाधान गर्न लाग्नुपर्ने बताउनुभयो ।नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले जनताको करबाट चलेको गोरखापत्रलाई सरकारी मुखपत्र नबनाई जनाको मुखपत्र बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।

गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदीले गोरखापत्रले पछिल्लो समय जनभावनाको कदर गर्दै जनताका आवाजलाई उठाउँदै आएको बताउँदै गोरखापत्रको भवन जीर्ण बन्दै गएकाले आधुनिक भवन बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने गोरखापत्रका कर्मचारी तथा पत्रकारहरूलाई सम्मान गरिएको थियो ।