भिजन भएको मेयर खोज्दै नेपालगञ्जवासी

0
Shares

 बाँके । नेपालगञ्ज अर्थात् पश्चिम नेपालको प्रमुख शहर । पश्चिम नेपालका २४ जिल्लाका बासिन्दाको शिक्षा र स्वास्थ्यको हब । नेपालगञ्ज कुनै बेला काठमाडौं, विराटनगर, वीरगञ्जपछिको प्रमुख शहर मानिन्थ्यो । विसं २०१७ सालमै नेपालगञ्ज नगरपालिका बनिसकेको थियो । तर, पछिल्ला दिनमा नेपालगञ्जलाई देशका अन्य शहरले धेरै पछि पारिसकेका छन् ।

यति पुरानो र ऐतिहासिक शहर किन पछिल्ला दिनमा पछाडि परिरहेको छ भन्ने विषयमा जानकारहरु भन्छन्– ‘नेपालगञ्ज पछाडि पर्नुको मुख्य कारण नेपालगञ्जले दूरदर्शी र प्रभावशाली नेतृत्व नपाउनु हो ।’ नेपालगञ्जको विकास कुरा गर्दा दुईपटक मेयर भएका डा. धवलशमशेर राणाले अलिअलि काम गरे ।

जति हुनुपर्ने त्यति हुन सकेन । किनभने, सानो पार्टीका नेता डा. राणाको केन्द्र र प्रदेश सरकारमा पहुँच भएन ।
केन्द्र र प्रदेशमा पहुँच र कर्मचारीतन्त्रमा पकड नभएका नेताले नेपालगञ्जवासीले अपेक्षा गरे अनुसारको विकासका काम गर्न सक्दैनन् भन्ने आम नेपालगञ्जवासीको बुझाई छ । अब नेपालगञ्जको विकासका लागि भिजन भएको वरिष्ठ नेताको आवश्यक छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपालगञ्जवासीले परिपक्क, विकास गर्न सक्ने, केन्द्रसम्म पहुँच भएको व्यक्तिलाई छनोट गर्नुपर्छ भन्ने बढ्दै गएको देखिन्छ ।

अहिले नेपालगञ्जको मेयरमा उम्मेदवार दिएका एमालेका पशुपतिदयाल मिश्र, कांग्रेस र जसपाको गठबन्धनको मेयर प्रशान्त विष्ट र राप्रपाको उम्मेदवार नन्दलाल वैश्यमा परिपक्क, विकासप्रेमी, पहुँच भएका, वरिष्ठ नेता को हुन् भन्ने चर्चा भइरहेको छ । मतदाताहरुले कसलाई जिताउँदा नेपालगञ्जको विकास हुन्छ भन्ने दृष्टिकोणबाट नियालिरहेका छन् ।

हाल नेपालञ्जको नेतृत्व गरिरहेको राप्रपाले मेयरमा नन्दलाल वैश्यलाई उम्मेदवार बनाएको छ । वैश्य व्यापारी हुन् । उनीसँग नेपालगञ्ज उद्योग वाणिज्य संघको एक कार्यकाल नेतृत्व गरेको अनुभव छ । उनी राजनीतिमा प्रवेश गरेको अझै एक दशक पुगेको छैन । वैश्य शुरुमा कांग्रेस, त्यसपछि एमाले, माओवादी हुँदै मनोनयन दर्ताको एक दिन पहिले मेयरको टिकट पाएपछि राप्रपा प्रवेश गरेका हुन् । राप्रपा प्रवेश गर्नुभन्दा पहिले उनी माओवादीको नगर कमिटीको सहसचिव थिए । सानो पार्टीको सानै नगरस्तरीय नेताले नेपालगञ्जको फड्को मार्ने गरी विकास गर्लान् भन्नेमा मतदाता विश्वस्त हुन गाह्रो भइरहेको छ ।

सत्तारूढ कांग्रेस र जसपा गठबन्धनका उम्मेदवार प्रशान्त विष्ट नेपाली कांगे्रसको नगर कमिटीका अध्यक्ष हुन् । कांग्रेसको राजनीतिमा एक दशकभन्दा लामो समयदेखि सक्रिय विष्ट नगर कमिटीको अध्यक्षभन्दा माथिल्लो पदमा पुग्न सकेका छैनन् । स्थानीय तह जनप्रतिनिधिविहीन हुँदा नेपाली कांग्रेसको पार्टी प्रतिनिधि भएर नगरपालिकामा काम गरेको केही अनुभवबाहेक अन्य कार्यकारी पदमा काम गरेको अनुभव विष्टसँग छैन । त्यो बेला पार्टीका प्रतिनिधिहरुले नगरपालिकामा गरेका कामका बारेमा अनेकांै टिप्पणी हुने गरेका छन् । विष्टको नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरभन्दा माथिल्लो तहका नेतासँग सीधैं पहुँच छैन । प्रमुख पार्टीका शीर्ष नेता र उच्च पदस्थ कर्मचारीसम्म खासै पहुँच नभएका विष्टले केन्द्र, प्रदेश र दातृनिकायलाई प्रभावमा पारेर थप बजेट ल्याएर नेपालगञ्जको विकास गर्लान् भनेर पत्याइहाल्ने अवस्था देखिँदैन ।

एमालेका उम्मेदवार मिश्र नेकपा एमालेका केन्द्रीय सदस्य हुन् । मधेसवादी दलबाट एमालेमा प्रवेश गरेका मिश्र बाँकेका अनुभवी नेता हुन् । पछिल्लो समय मिश्रको सीधा पहुँच एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छ । मिश्रसँग गाउँपालिकाको अध्यक्ष, गाविस महासंघको अध्यक्ष, जिल्ला विकास समितिको सभापति, सुकुम्बासी समस्या समाधान आयोगको केन्द्रीय सदस्य भएर काम गरेको अनुभव छ । मिश्रले परिपक्क र विकासप्रेमी नेताको परिचय बनाइसकेका छन् । मिश्रको अनुभव र पहुँचले केन्द्र, प्रदेश र दातृ निकायबाट थप बजेट ल्याएर नेपालगञ्जमका अन्य मेयरका उम्मेदवारले भन्दा बढी काम गर्न सक्छन् भन्ने आम आममतदाताको बुझाइ रहेको देखिन्छ ।

नेपालगञ्जमा राप्रपाका महामन्त्री रहेका डा. राणाले जित्दा त केन्द्र र प्रदेशमा ल्याउन पर्ने बजेट ल्याउन सकेनन् भने केन्द्रमा पहुँच नभएका व्यक्तिले चुनाव जितेर नेपालगञ्जले विकासमा फड्को मार्ला भनेर सोच्नु कति सान्दार्भिक होला ? युवा र जाति विशेषको विरादरीमा केही पकड भएकै आधारमा नेपालगञ्जको मेयरमा जित्न उम्मेदवारहरुलाई हम्मे–हम्मे पर्ने देखिन्छ । अब नेपालगञ्ज पछि प¥यो भनेर चिन्ता गर्ने कि नेपालगञ्जको विकासमा फड्को मार्न सक्ने सक्षम नेतालाई जिताउने भन्ने बहस नेपालगञ्जका मतदाताका बीचमा व्यापक बन्दै गएको छ ।