निजी दृष्टिकोण प्रस्तुत नगर्न कांग्रेसको निर्देशन

0
Shares

हेटौंडा । 

नेपाली कांग्रेस मकवानपुरले सामाजिक सञ्जालमार्फत पार्टी हितविपरीत र गठबन्धनको नीतिविपरीत आफ्ना निजी दृष्टिकोण प्रस्तुत नगर्न निर्देशन दिएको छ ।

पार्टीका क्रियाशील सदस्य तथा नेता–कार्यकर्तालाई त्यस्ता कार्य अबिलम्ब बन्द गरी पार्टीको नीति र गठबन्धनको सहमतिअनुरूप अगाडि बढ्न सचेत गराइएको हो ।‘यस्ता कार्य बन्द नगर्ने नेता–कार्यकर्तालाई पार्टीको विधिविधानअनुसार कारबाही गरिने जानकारी गराइन्छ’, पार्टी मकवानपुर प्रवक्ता अर्जुनप्रसाद चौलागाईंले शनिबार विज्ञप्ति जारी गर्दै भन्नुभएको छ– ‘जिल्लाका १० वटै स्थानीय तह निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारको पक्षमा लाग्न सम्पूर्ण नेता–कार्यकर्तालाई निर्देशन दिन्छु ।’

जिल्लाका १ सय २ वटा वडामध्ये केही वडामा सहमति हुन नसके पनि सहमति नभएका वडा तहमा मित्रवत् प्रतिस्पर्धा गर्न र पालिकास्तरमा गठबन्धनका साझा उम्मेदवारका पक्षमा सशक्त ढंगले परिचालित हुन पाँचै दलका नेता–कार्यकर्तामा विज्ञप्तिमार्फत अपिल गरिएको छ ।
वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा सत्तारूढ पाचदलीय गठबन्धनका नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गर्ने र गठबन्धन पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गर्ने ७ सय ५३ वटै पालिकामा उम्मेदवारको पक्षमा जनलहर उर्लिरहेको सन्दर्भमा यदाकदा नेपाली कांग्रेसका क्रियाशील सदस्य, नेता–कार्यकर्ताबाट सामाजिक सञ्जालमार्फत मतदातालाई भ्रमित पार्ने अभिव्यक्ति प्रकाशन÷प्रसारण गरिरहेको देखिन आएको भन्दै उहाँले यस्ता घटनाक्रमले विपक्षी उम्मेदवारहरुलाई पृष्ठपोषण हुने गरी सामाजिक सञ्जाल दुरुपयोग भइरहेकोप्रति ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

निर्वाचन प्रचार–प्रसारका क्रममा राष्ट्रसेवक कर्मचारीहरु खुलेआम सामाजिक सञ्जाल,-याली, घरदैलो कार्यक्रममा अमुक राजनीतिक दलको प्रचार–प्रसारमा संलग्न भएकोप्रति पनि नेपाली कांग्रेस मकवानपुरको ध्यानाकर्षण भएकाले त्यस्ता राष्ट्रसेवक कर्मचारीलाई तत्काल कारबाही माग गर्दै जिल्ला निर्वाचन कार्यालय मकवानपुरको ध्यानाकर्षण गराइएको छ ।स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तथा पार्टीले समर्थन गरेका गठबन्धनका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिएका तथा त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थक बसेकाको नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा १३ (४) (ग) बमोजिम पार्टी सदस्यता समाप्त भई विधानको धारा ३४ (४) (क) बमोजिम पाँच वर्षका लागि स्वतः पार्टीबाट निष्काशन भएकाले त्यस्ता व्यक्तिको आधिकारिक विवरण नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरले संकलन गरिरहेको पार्टीका जिल्ला अनुशासन समिति संयोजक प्रभातकुमार दाहालले बताउनुभयो ।

पार्टी विधानको धारा ३४ (४) (ख) र (ग) बमोजिम मकवानपुरमा पार्टीका उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध असहयोग गर्ने, अन्य पार्टीका उम्मेदवारको पक्षमा प्रचार–प्रसार गर्ने पार्टीका उम्मेदवार र पार्टी हितविपरीत कार्य गर्ने पार्टीका क्रियाशील सदस्यलाई नेपाली कांग्रेस जिल्ला अनुशासन समिति मकवानपुरले तत्काल निलम्वन गर्न सक्ने भएकाले पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका पक्षमा सक्रिय रहन दाहालले विज्ञप्तिमार्फत अनुरोध गर्नुभएको छ ।

बागी राजवाहक घरदैलोमा

हेटौंडा उपमहानगरपालिकाका नेपाली कांग्रेसका बागी उम्मेदवार सुदीप राजवाहकले चुनावी घरदैलो अभियानलाई तीव्रता दिनुभएको छ । स्थानीय तह निर्वाचनमा हेटौंडा–२ का लागि कांगे्रसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका उहाँले आफ्ना विभिन्न प्रतिवद्धतासहित घरदैलो अभियानलाई तीव्रता दिनुभएको हो ।
राजवाहकले शनिबार बिहान हेटौंडा–२ को बनस्खण्डी, मनकामना चोक, मानसचोक, कांग्रेस चोक, संगम चोकलगायत क्षेत्रमा मत माग्दै घरदैलो गर्नुभएको थियो । यसअघि २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्यमा उहाँ विजयी हुनुभएको थियो ।२०७४ को निर्वाचनमा वडामा वडाध्यक्षसहित ३ सदस्य एमालेले जित्दा कांग्रेसबाट राजवाहकले मात्र वडा सदस्य जित्नुभएको थियो । यसपटक कांग्रेसले नेकपा एमालेबाट कांग्रेस प्रवेश गरेका विष्णुगोपाल महर्जनलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।

थापालाई एमालेको कारबाही

आसन्न स्थानीय तह निर्वाचनमा पार्टीको निर्देशन र पार्टीको हितविपरीत गतिविधि गरेको भन्दै हेटौंडा–७ का धन थापालाई एमालेले कारबाही गरेको छ । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका–७ नम्बर वडा कमिटीको बैठकले पार्टीको निर्देशन र हितविपरीत गतिविधिमा सक्रिय भएको, पार्टीका उम्मेदवार हराउन लागिपरेको भन्दै थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासनसहितको कारबाही गरेको वडा कमिटी अध्यक्ष कुलप्रसाद त्रिपाठीले बताउनुभयो ।

व्यवसायीसमेत रहनुभएका थापाले एमालेले सर्वसम्मत् उम्मेदवार बनाएका अध्यक्षलगायत सदस्य उम्मेदवारलाई हराउन विपरीत गठबन्धनसँग मिलोमतो गर्ने, गठबन्धनको चुनावी क्रियाकलापमा सक्रिय भएकाले पार्टीको विधानअनुरूप कारबाही गरिएको उहाँले बताउनुभयो ।