मतदाताको गुनासो सुन्दै उम्मेदवार


धादिङ ।

स्थानीय तहको निर्वाचन आउनै लाग्दा मतदाता भेटघाट गर्दै नेकपा एमालेका उम्मेदवारहरु गाउँ–गाउँ हिँडिरहेका छन् । मतदाताको गुनासा सुन्दै उम्मेदवारहरु भोट माग्न व्यस्त भएका हुन् ।

रुबीभ्याली गाउँपालिका अध्यक्ष उम्मेदवार बिचा तामाङ, उपाध्यक्ष रुसमाया तामाङसहितको एमाले कार्याकताहरुको टोली घर–घर पुगेर कपुरगाउँ, लाप्चेत, कुप्चेतमा घरदैलो गर्नुभएको छ । घरदैलोमा पुगेका एमाले उम्मेदवारहरुलाई गाउँबासीले गाउँमा सडक पहुँच बनाउन, खानेपानी व्यवस्थापन गर्न, विद्यालयलाई अंग्रेजी माध्यममा लैजान, गाउँको नगदेबालीलाई बजारसम्मको पहुँच बनाउन माग गरेका थिए । जवाफमा आफूहरु निर्वाचित भएमा गाउँबासीको मागको आधारमा योजना बनाएर काम गर्ने एमाले उम्मेदवारहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।

गल्छी गाउँपालिकाको सबै वडामा पनि घरदैलो कार्यक्रम सञ्चालन भइरहेको छ । ८ नम्बर वडामा भने गाउँ–गाउँ पुगेका एमाले वडाध्यक्ष उम्मेदवार हरि खतिवडाको टिमलाई गाउँबासीले टीका लगाउँदै दही खुवाएर स्वागत गरेका थिए । गाउँको विकासका लागि युवाको अवश्यकता रहेको गाउँबासीको भनाइ छ । नेकपा एमालेले मतदाता भेटघाटको क्रममा शनिबार नीलकण्ठ नगरपालिका–७ को विभिन्न स्थानमा पुगेको थियो । मेयरका उम्मेदवार गंगादेवी श्रेष्ठ, उपमेयरका उम्मेदवार फन्द्रा तामाङ, वडाध्यक्ष उम्मेदवार ईश्वरीप्रसाद अधिकारीलगायतको सहभागिता रहेको थियो । मतदाता भेटघाटपछि पीपलछापमा कोणसभासमेत गरिएको थियो ।

यसै गरी, तारुखर्कको घर–घरमा उम्मेदवार पुगेका छन् । गाउँबासीले गाउँटोलमा एमाले निर्वाचित भएमा गाउँको खानेपानी, सडक कृषि उत्पादनमा जोड दिन माग गरेका थिए । व्यावसायिक कृषि प्रणालीका लागि काम गर्न गाउँबासीको आग्रह छ । मतदाताहरुको मागअनुसार योजना बनाएर काम गर्ने एमाले उम्मेदवारहरुले पनि प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्यस्तै, सिद्धलेक गाउँपालिका–१ मा मतदाता भेटघाटपछि उत्साहपूर्ण रूपमा सभा आयोजना भएको थियो । गाउँपालिका अध्यक्ष उम्मेदवार प्रेम सिलवाल, उपाध्यक्ष उम्मेदवार कमला शर्मा, वडाध्यक्ष उम्मेदवार ईश्वर सिलवालले सम्बोधन गर्दै गाउँको विकासलाई निरन्तरता दिएर अब्बल बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।