निर्वाचनमा २ हजार ५ सय सुरक्षाकर्मी खटिने


डोटी । 

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी डोटीमा २ हजार ५ सय सुरक्षाकर्मी परिचालन हुने भएको छ । जिल्ला सुरक्षा समितिले यहाँका नौवटै स्थानीय तहमा रहेका निर्वाचन केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेर आवश्यक सुरक्षा प्रबन्ध मिलाएको हो ।

प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले निर्वाचन शान्तिपूर्ण वातारणमा सम्पन्न गराउनका लागि रणनीतिक सुरक्षा योजनासहित जिल्लाको निर्वाचन सुरक्षा मजबुद बनाउने तयारी गरिएको बताउनुभयो । ‘यसपटकको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन हामीले सुरक्षा रणनीति निकै बलियो बनाएका छौं, निर्वाचन बिथोल्ने खालका गतिविधि भए तत्काल कारबाही गछौं ।’ –प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले भननुभयो । निर्वाचनका समयमा नेपाली सेना ५ सय, म्यादी प्रहरीसहित नेपाल प्रहरी १ हजार ७ सय तथा सशस्त्र प्रहरी ३ सय जना परिचालन हुने भएका छन् ।

जिल्ला सुरक्षा समितिका अनुसार सबैभन्दा बाहिरी घेरामा नेपाली सेनाको गस्ती तथा सुरक्षा पहरा रहनेछ भने भित्री घरेमा प्रहरीको सुरक्षा रहनेछ । निर्वाचनका बेला हुनसक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा निर्वाचन सुरक्षाका लागि यहाँका नौवटै पालिकामा सुरक्षा निकायले सक्रियता बढाएका छन् ।

स्थानीय प्रशासनले जिल्लामा रहेका कुल १ सय १५ मतदानस्थलमध्ये ९ वटा मतदानस्थललाई अति संवेदनशील, ३० वटालाई संवेदनशील र ७६ वटा मतदानस्थललाई सामान्यमा राखेको प्रजिअ विष्टले जानकारी दिनुभयो ।