पनौती कांग्रेसको योजना : एक वडा एक हाट बजार


पनौती

नेपाली कांग्रेसको तर्फबाट पनौती नगरपालिकाका मेयरका प्रत्यासी रामशरण भण्डारीले कृषिमा उद्यमशीलता–आजको आवश्यकता भन्ने नाराका साथ कृषिमा आधुनिकीकरण गर्ने बताउनुभएको छ ।

बुधबार घरदैलो अभियानअन्तर्गत पनौती–११ ख्याकु क्षेत्रमा पुगेका उहाँले किसानहरुलाई राहत प्रदान गर्ने, कृषि पकेट क्षेत्र निर्धारण र सहुलियतमा ऋण उपलब्ध गराउने योजना ल्याउने बताउनुभएको थियो ।भण्डारीले कृषि उत्पादन वृद्धिका लागि सिँचाइ र बजार व्यवस्थापनका साथै नगरभित्र रहेको १२ वटै वडाको पहुँच पुग्ने गरी कोल्डस्टोरेजमा छुटको व्यवस्था मिलाउने पनि बताउनुभएको छ । किसानलाई समयमै रासायनिक मल, बीउबिजन उपलब्ध गराउन नगरपालिकाले विशेष चासो दिएर कार्य गर्ने बताउँदै भण्डारीले तरकारी शीत भण्डार निर्माण गर्नुका साथै एक वार्ड, एक हाट बजार सञ्चालनको कार्यक्रम ल्याइने बताउनुभएको छ । उत्पादन वृद्धिका लागि सिँचाइलाई विशेष प्राथमिकतामा राखेर नगरपालिकाले योजना बनाउने उहाँको भनाइ थियो ।

आफूले नगरप्रमुखमा विजयी हासिल गरेमा किसानको उत्पादनलाई उत्पादनको आधारमा न्यूनतम मूल्य कायम गरी अनुदान कार्यक्रम सञ्चालनमा ल्याइने र उन्नत बीउबिजन एवं उन्नत नश्लका पशुपन्छीमा ५० प्रतिशत अनुदानको व्यवस्था मिलाउने मेयरका प्रत्यासी भण्डारीले बताउनुभएको छ ।

किसानको सूचीकरण र वर्गीकरण गर्ने भन्दै भण्डारीले आधुनिक र व्यावसायीक कृषिमा जोड दिएर योजना ल्याउने बताउनुभएको छ ।
पनौती नगरमा कांग्रेस नेतृत्वको गठबन्धनले आफ्नो प्रतिबद्धतामा कृषिलाई प्राथमिकतामा राखेको छ । प्रतिबद्धतामा कृषिबाली र पशुधन बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन किसान क्लब गठन गरिने पनि उल्लेख छ ।
पनौती नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरका प्रत्यासी भण्डारीले नगरभित्रका वडाहरुलाई उत्पादन हुन सक्ने आधारमा पकेट क्षेत्र निर्धारण गरी पर्यटक आकर्षित गर्ने समेत बताउनुभएको छ ।

‘विश्वास गर्नुस्, धोका दिँदैनौं’

नेकपा एमालेको प्रभाव क्षेत्र रहेको पनौती नगरमा नेपाली कांग्रेसको पक्षमा जनलहर उर्लिन थालेको छ । जनताको विश्वासलाई कहिल्यै कुठाराघात नगर्ने भन्दै नेपाली कांग्रेसले मत मागिरहेको छ ।शुक्रबार बिहान पनौती नगरपालिका–१२ को मगरगाउँमा कांग्रेसका उम्मेदवारहरुले स्थानीयबासीले गरेको स्वागतपछि सम्बोधन गर्दै एमालेको गढ भत्काउन सहयोग गर्न स्थानीयबासीलाई आग्रह गरेका थिए । ‘कांग्रेसले टोल–टोलमा गरेको घरदैलो कार्यक्रममा मतदाताको सहभागितालाई हेर्दा वैशाख ३० गते हुन गइरहेको निर्वाचनले एमालेको गढ भत्किने निश्चित भएको छ ।’

जिल्ला सभापति तीर्थ लामा, कोषाध्यक्ष जगन्नाथ गिरी, जिल्ला सदस्य अनिता थापा, गठबन्धन तर्फका उपप्रमुख छवि हुमागाईं वडा अध्यक्षका उम्मेदवार बलराम तामाङ, सदस्यहरु ओम लामा, सरिता खत्री, चमेली विक, कारसाङ लामासहित मगरगाउँ पुग्नुभएका मेयरका उम्मेदवार रामशरण भण्डारीलाई स्वागत गर्न २ सयभन्दा बढी मतदाता उपस्थित भएका थिए ।

एउटा वडाको टोलमा आयोजना गरेको कार्यक्रममा यति धेरै मतदाताले मायाँ गरेको भन्दै मेयरका उम्मेदवार भण्डारीले भन्नुभयो– ‘यो वडाको हरेक समस्याप्रति परिचित छु । यो वडामा २५ वर्षभन्दा बढी एमालेले शासन गरेको छ । तर, यहाँको जीवनस्तर जस्ताकोतस्तै छ । मेयरमा विजयी भएँ भने यहाँबाट जाने राजस्वको निश्चित प्रतिशत यही वडाको विकासका लागि खर्च गर्छु । स्वास्थ्य शिक्षा र कृषिमा विशेष ध्यान दिने बताउँदै उहाँले पनौतीको वडा नं १२ मा बौद्ध शिक्षाको शुरुआत गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘पनौती नगरमा प्रजातन्त्र आएको छैन, अर्थिक अनुशासन छैन’, भण्डारीले भन्नुभयो– ‘पनौतीमा मेरै नेतृत्वमा सुशासन आउँछ । विश्वास गर्नुहोस् तपाईंहरुलाई म कहिल्यै धोका दिन्नँ ।’

कांग्रेस जिल्ला सभापति तीर्थ लामाले पनि पनौती–१२ को न्यानो स्वागतको प्रशंसा गर्दै पनौतीमा प्रजातन्त्रको अनुभूति पाउन कांग्रेस नेतृत्वको टिमलाई जिताउन आग्रह गर्नुभयो । १२ नम्बर वडाको मात्र नभएर समग्र वडाको उन्नति र प्रगति कांग्रेस नेतृत्वबाट मात्र सम्भव हुने उहाँको भनाइ थियो । पनौती–१२ मा मगर गाउँका साथै कलाँती, चिण्डु, सिमपानी गाउँ र रोशी बजारमा पनि कांग्रेसको पक्षमा राम्रो जनमत रहको छ । गागलका करण लामाका भनाइ अनुसार पनपा–१२ मा कांग्रेसको जित निश्चित छ ।