तीन पालिकामा प्रदेश संयन्त्रको निर्णयविपरीत गठबन्धन


जाजरकोट । 

जाजरकोटमा सत्ता गठबन्धन दलको प्रदेश संयन्त्रले गरेको भागवण्डाविपरीत तीनवटा पालिकामा गठबन्धन भएको छ । प्रदेश संयन्त्रले सातवटा पालिकामध्ये नेपाली कांग्रेस तीन, नेकपा माओवादी केन्द्र तीन र समाजवादी एक पालिका लिएर गठबन्धन गर्ने निर्णय गरेको हो ।

आसन्न वैशाख ३० गतेको स्थानीय तहको चुनाव जित्न प्रदेश संयन्त्रको लामो छलफलपछि कुशे, बारेकोट र छेडागाड नेपाली कांग्रेस, नलगाड नगरपालिका, जुनीचाँदे र शिवालय गाउँपालिका माओवादी केन्द्रलाई र भेरी नगरपालिका नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गरेको थियो । चारवटा पालिकामा प्रदेश संयन्त्रअनुसार गठबन्धन कायम भए पनि भेरी, शिवालय र कुशेमा फरक ढंगले चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

कुशेमा कांग्रेसबाट अध्यक्षमा हरिचन्द्र बस्नेत उपाध्यक्षमा देविका सिंह एक्लै चुनावी मैदानमा उत्रिएका छन् भने एकीकृत समाजवादी र माओवादी केन्द्र्रको गठबन्धन भएको छ । समाजवादीका तप्त हमाल उपाध्यक्षमा माआवादी केन्द्रका विकास रोकायको गठबन्धन भएको छ । भेरी नगरपालिकामा समाजवादीले पाएको भाग कांग्रेस र माओवादी केन्द्रले खोसेर नयाँ गठबन्धन भएको हो ।भेरी नगरपालिकामा माओवादी केन्द्रबाट गगनबहादुर खड्का नगरप्रमुख र उप्रमुखमा कांग्रेसबाट सीता जैसीको गठबन्धन भएको छ । समाजवादीका कमानबहादुर खड्का एक्लै चुनावी मैदानमा उत्रिनुभएको छ । उहाँले प्रदेश संयन्त्रले गरेको निर्णय कार्यान्वयन गराउन पहल भइरहेको बताउनुभयो ।

भेरी नगरपालिकामा काग्रेसले माओवादीलाई नगर प्रमुखमा सहयोग गरेपछि माओवादी केन्द्रको भागमा परेको शिवालय गाउँपालिका कांग्रेसको भागमा परेको छ । शिवालयमा कांग्रेसबाट शेरबहादुर शाही अध्यक्षमा माओवादी केन्द्रले र उपाध्यक्षमा माओवादीकी गीता शाहीलाई कांग्रेसले सहयोग गर्ने गरी गठबन्धन भएको हो ।

चारवटा पालिका पालिका छेडागाड, नलगाड नगरपालिका, बारेकोट र जुनीचाँदे गाउँपालिकामा प्रदेश संयन्त्रबमोजिमको गठबन्धन कायम भएको छ । छेडागाडमा नेपाली कांग्रेसका रत्नबहादुर खड्का नगर प्रमुख माओवादी केन्द्रका चन्द्रबहादुर थापा, नलगाड नगरपालिकामा माओवादी केन्द्रका डम्बरबहादुर रावत नगरप्रमुख, कांग्रेसबाट सरिता सिंह, उपप्रमुख बारेकोट गाउँपालिकामा कांग्रेसबाट महेन्द्रबहादुर शाह उपाध्यक्षमा नरबहादुर गिरी, जुनीचाँदेमा माओवादी केन्द्रबाट अध्यक्षमा शिवा आचार्य, उपाध्यक्षमा कांग्रेसबाट वीरेन्द्र शाही चुनावी मैदानमा उत्रिनुभएको छ ।चारवटा पालिकामा गठबन्धनको सहमतिअनुसार उमेदवारी परेको हो भने सातवटै पालिकामा एमाले एक्लै उमेदवारी दर्ता गराएको छ । २०७४ को चुनावी नतिजा हेर्ने हो भने गठबन्धन दलले चुनाव जित्ने अनुमान स्थानीयले गर्न थालेका छन् ।