सर्वनाशभन्दा अर्धनाश जाती : वरिष्ठ नेता पौडेल

0
Shares

तनहुँ ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अस्थिरताको अन्त्य गर्दै राजनीतिक स्थिरताका लागि गठबन्धन भएको दाबी गर्नुभएको छ । नेपाली कांग्रेसले तनहुँको दमौलीमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेता पौडेलले संसदीय व्यवस्थालाई निरन्तर प्रहार भएपछि गठबन्धन भएको स्पष्ट पार्नुभएको हो ।

अस्थितरताका कारण देशले निकास नपाएको उहाँको भनाइ छ । केपी ओलीलाई नायक बनाएर मुलुकलाई अस्थिरतातर्फ लैजाने ग्रान्ड डिजाइन भएको नेता पौडेलले बताउनुभयो । ‘यो देशमा भ्रष्टाचार कमिसनतन्त्रको खेल धेरै भए, जनतामाथि शोषण, राजनीतिमा भ्रष्टाचार घुस्दै छ, त्यसबाट पनि देशलाई मुक्त गर्नुपर्छ’ –उहाँले भन्नुभयो ।

गठबन्धनलाई प्रगतिशील शक्तिहरूको एकताको संज्ञा उहाँले दिनुभयो । गठबन्धनले केपी ओलीको एकछत्र राजको अन्त्य गरेको पौडेलको भनाइ छ । गठबन्धनलाई अन्डरस्टिमेट गर्नेको सामना गर्न आफू तयार रहेको उहाँको भनाइ थियोे । सर्वनाशभन्दा अर्धनाश जाती भएकाले गठबन्धन गरेको उहाँले बताउनुभयो । कम्परमाइज गर्दा कहीँ कतै कांग्रेसका कार्यकर्ताले रूखमा मात्रै नभएर हँसिया हथौडा, कलम र छातामा भोट हाल्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

त्यो सम्झौता हो, संविधान पनि सम्झौताको दस्तावेज हो, राजनीति पनि सम्झौताको दस्तावेज हो, सम्झौता गर्न जान्नुपर्छ, मौकामा सम्झौता गर्नु सक्नुपर्छ, आँट गर्नुपर्छ । हामीले एउटा नगरपालिकामा हँसिया हथौडामा छाप लगायौं भने प्रचण्डले तीन वटा नगरपालिकामा रूखमा छाप लगाउँछन्, कुरा त बुझ्नप¥यो नि हामीले तीनवटा महानगरपालिका लिएर अरूलाई एक एक महानगर दिएका छौं, यो लेनदेन हो’ –उहाँले भन्नुभयो ।

आफू पार्टी सभापति शेरबहादुर देउवाको लाइनमा नगएको जिकिर गर्दै उहाँले आफ्नो लाइनमा देउवा आएको स्पष्ट पार्नुभयो । कार्यक्रममा नेपाली कांगे्रेसका प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल, धु्रव वाग्लेलगायतले देशमा हुने गरेका भ्रष्टाचार, आर्थिक समृद्ध बनाउन नेपाली कांग्रेसका उम्मेदवारलाई रूखमा मतदान गरी जिताउन आग्रह गरेका थिए ।यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सफल पार्न सबै दल प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँले शनिबार दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थायित्व कायम गर्दै गठबन्धन ऐतिहासिक आवश्यकता हो, राष्ट्रिय आवश्यकता हो यसलाई सफल पारेरै छाड्ने बताउनुभएको हो ।

गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले यसलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको उहाँको भनाइ छ । स्थानीय तहको चुनाव हुन्छ भन्ने कुरा कमैले पत्याएको भन्दै प्रधानमन्त्री देउवाले देश चुनावमा होमिएको बताउनुभयो । ‘धेरैलाई चुनाव हुन्छ र भन्ने भ्रम थियो, तर देशमा चुनावको माहोल बन्यो र चुनावका लागि होमिरहेका छौं’ –देउवाले भन्नुभयो ।

गठबन्धनलाई असफल बनाउन षड्यन्त्र भइरहेको भन्दै नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले त्यस्ता तत्वलाई चुनावको मैदानबाट परास्त गर्ने जिकिर गर्नुभयो । गठबन्धन सफल बनाउने कांग्रेसको एउटै मात्र लक्ष्य भएको देउवाको भनाइ थियो ।कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन स्थानीय तह निर्वाचनका लागि मात्रै नभई प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म कायम रहने प्रधानमन्त्री देउवाले दाबी छ । प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारबाट जनताले मुक्ति पाएको भन्दै ओलीको नेतृत्वको सरकारले संसद् अवरुद्ध गरी सरकारलाई काम गर्न नदिइएको आरोप लगाउनुभयो ।