काठमाडौंको राष्ट्रिय सभागृहमा नमुना मतदान हुँदाहुँदै मतपेटिका लुटियो



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभागृहको प्रांगणमा नमुना मतदान कार्यक्रम गरेको छ । स्थानीय तह निर्वाचनमा मतपत्र बदर हुन नदिन आयोगले नमुना मतदान कार्यक्रम गरेको हो ।

आज (शनिबार) राष्ट्रिय सभागृहको प्रांगणमा नमुना मतदानका लागि महिला र पुरुषलाई छुट्टाछुट्टै लाइन लगाएर मतदान सुरु गरिएको थियो । मतदानस्थल वरपर सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो । म्यादी प्रहरीसमेत उक्त स्थलमा खटिएका थिए । मतदान स्थलनमा मतदाता नमुना परिचयपत्र देखाएमा मात्रै प्रवेश अनुमाति थियो ।

मतपत्रमा छाप लगाउने र मतपेटिका पनि एउटा मात्रै थियो । मतदाताले धमाधम मतदान गरिरहेकै क्रममा दिउँसो दुई बजे मतपेटिका राखिएको ठाउँमा एकजना मास्क लगाएका व्यक्ति हतार-हतार आए र मतपेटिका टपक्क उचालेर दौडिहाले । त्यसपछि प्रहरी र म्यादी अक्क न बक्क भए । मतपेटिका उचालेर दौडिँदै गर्दा ती व्यक्ति अलि पर पुग्न नपाउँदै प्रहरी फन्दामा परे र मतपेटिका प्रहरीले आफ्नो नियन्त्रणमा लियो ।

मतदान स्थलमा पुगेका कतिपयले मतपेटिका लुटियो भन्ने ठाने । तर, मतदानका क्रममा मतपेटिका यसरी लुटिन सक्ने र यस्तो घटनाबाट कसरी बच्ने भनेर ‘डेमो’ देखाइएको निर्वाचन आयोगका अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्