एमाले भक्तपुर सह-इञ्चार्ज दुलालको दाबी : जिल्लाका तीनवटा पालिकामा हाम्रो जित सुनिश्चित

स्थानीय तह निर्वाचन

0
Shares

भक्तपुर । स्थानीय तह निर्वाचनमा भक्तपुरका चारवटा पालिकामध्ये तीनवटामा नेकपा (एमाले)को जित सुनिश्चित रहेको भक्तपुर सह-इञ्चार्ज गोविन्दप्रसाद दुलालले दाबी गरेका छन् । सूर्यविनायक, मध्यपुरथिमि र चाँगुनारायणमा एमालेको जित सुनिश्चित रहेको दुलाले दाबी गरेका हुन् ।

एमाले केन्द्रीय सदस्यसमेत रहेका भक्तपुर सह-इन्चार्ज दुलालले सूर्यविनायक नगरपालिका-१ को घरदैलो कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो दाबी गरे । पहिलो स्थानीय तह निर्वाचन २०७४ मा एमालेले जितेका तीनवटा नगरपालिकाका थप वडाहरुसमेत एमालेले जित्ने उनको दाबी छ ।

उनले भने, ‘गठबन्धनसँग कुनै नीतिगत विचार, विकास निर्माणका योजना र कुशल नेतृत्व छैन, हामीसँग भएका मदनसुन्दर क्षेष्ठ, उत्तरा नेपाल, वासुदेव थापा, सुमीत्रा भट्टराई, विना बास्तोला, रमेश बुढाथोकी यहाँका लोकप्रिय उम्मेदवार हुनुहुन्छ । उहाँहरूको लोकप्रियताले पनि मतदाता लोभिएका छन् । त्यसैले यस पटकको निर्वाचनमा एमालेको जित सुनिश्चित छ ।’

निर्वाचनको मिति नजिकिँदै गर्दा भक्तपुरमा राजनीतिक गर्मामर्गी ह्वात्तै बढेको छ । विभिन्न राजनीतिक दलले चुनावी सभा तथा घरदैलो कार्यक्रमलाई प्राथमिकता दिँदै आएका छन् । यसका साथै नगरसभा, वडासभा लगायतका चुनावी कार्यक्रम दैनिक हुने गरेका छन् ।

भौगोलिक दृष्टिले भक्तपुर सानो जिल्ला भएपनि कला, साहित्य, धर्म-संस्कार, संस्कृति र पौराणिक सभ्यताका दृष्टिले अथाह धनी र आन्तरिक तथा बाह्य पर्यटकको प्रचुर सम्भावना बोकेको जिल्ला हो ।