बडिखेलको राजकुलोका साथै अन्य सहायक कुलोहरूको सञ्चालन गराइ उत्पादनमा जोड दिनेछाैं : राजन प्रसाद आचार्य

0
Shares

ललितपुर ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोदावरी नगरपालिका नं ४ वडाध्यक्ष पदका उम्मेदवार राजन प्रसाद आचार्यले बडिखेलको राजकुलोका साथै अन्य कुलोहरु सञ्चालन गराइ उत्पादनमा जोड दिइने बताउनुभएको छ ।

वडामा रहेका सो धरोहरहरुको संरक्षण गर्दै खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गरी उत्पादनमा जोड दिइने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “वडाभित्र रहेका राजकुलोका साथै सहायक कुलोहरु मासिएका छन् । यहाँ खेती गर्न जनताले आकाशको पानीको भर पर्नु परिरहेको छ ।

यसै गरी वडामा ‘एक घर एक धारा’ नीति लिही प्रत्येक घरमा प्रशोधित खानेपानीको व्यवस्था गरिने, वडाभित्रका मूल संरक्षणका लागि कार्यक्रम सञ्चालन गरी पानीको वितरणमा समेत वैज्ञानिक प्रविधि अपनाइनेछ ।” यसै गरी वडा सुशासनका मुख्य आधारहरू पारदर्शिता तथा जबाफदेहिता एवं सहभागिता र विधिको शासन भएको बताउँदै उहाँले वडा कार्यालयले उपलब्ध गराउने सबै सेवाहरू सेवाग्राहीलाई जानकारी गराउन ‘नागरिक बडापत्र’ जारी गरिने, वडामा आउने गुनासा सुनुवाइको लागि अधिकारी तथा ‘नोडल अफिसर’ को व्यवस्था गरिने, सो निर्वाचन सम्पन्न भएको तीन महिना भित्र ‘बृहत्तर बडिखेल गुरुयोजना’ तयार गरी समुन्नत र समृद्ध बडिखेलको अल्पकालीनका साथै मध्यकालिक तथा दीर्घकालीन योजनाहरू निर्माण गरिने आचार्यको भनाइ छ ।

यसै गरी कार्यकालमा हुने भड्किलो खर्चलाई न्यूनीकरण गरिने, वडामा सुझाव पेटिकाको व्यवस्था गरी आएका सुझावहरूलाई अनुसरण र कार्यान्वयन गरिने, हरेक योजना समाप्ति पश्चात् बजेट अनुसरण कामको वितरण सार्वजनिक गरिने, मूल सडकलाई सडक पेटी सहितको बनाइने, सहायक सडकहरू स्तरोन्नति गरी सबै सडक कालोपत्रेका साथै सौर्य ऊर्जामा आधारित सडक बत्तीको व्यवस्था गरिने उहाँले जानकारी गराउनुभयो ।

त्यसै गरी बडिखेल सुरक्षाका लागि सबैजसो चोकहरुमा सिसिटिभी जडान गरिने, तोकिएका बस बिसौनीहरूलाई विश्राम स्थल सहितको बाल तथा अपाङ्गमैत्री बनाइने, वडामा रहेको एक मात्र श्री पथ पदर्शक सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी आवश्यक पर्ने भौतिक पूर्वाधार थपिने, हरेक टोल तथा उपलब्ध उपयुक्त स्थानहरूमा सुन्दर उद्यानहरू निर्माण गरिने आचार्यको टिम सहित जारी घोषणापत्रमा उल्लेख गरिएको छ ।

सोका अलवा उक्त पत्रमा बडिखेल चक्रपथ सडक निर्माणका लागि डिपिआर तयार गरिने, पुराना विद्युतीय पोलहरु हटाई स्थायी पोलको व्यवस्था गर्न सम्बन्धीत निकायमा पहल गरिने, सामुदायिक वनलाई पर्यटकीय, जडीबुटी तथा फलफूल खेतीमार्फत आकर्षित गरी आयमूलक र रोजगारी मूलक बनाइने, सामुदायिक भवन परिसर जस्तै सिमलटार, हर्रामुल, ग्वालिन्दह आदिमा रमणीय पार्क निर्माण गरिने, ‘एक घर एक बिरुवा’ को नीति लागु गरिनाका साथै वडामा रहेका जल तथा जमिन र जङ्गललाई आयमूलक एवं रोजगारीमूलक बनाउन वातावरणमैत्री वैज्ञानिक भू सम्पदा उपयोगको नीति लिइनेछ कुरा उल्लेख गरिएको छ ।

उक्त प्रतिबद्धता पत्रमा सोका अलवा वडाभित्रका कृषक पहिचान गरी कृषि तथा पशुपालन गर्ने किसानलाई परिचयपत्र प्रदान गरिने, कृषकको व्यवसायी प्रकृति अनुसार अनिवार्य बिमा गरिने, वडाका दुई स्थान पहिचान गरी नमुनावस्ती विकास गरिने, स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँग समन्वय गरी ग्लालिन्दहको माथि थुम्की डाँडामा सहिद पार्क, पिकनिक स्थल, ठूलोखोलाबाट लेल हुँदै फुल्चोकी ट्रेकिङ रुटामा जोडिने व्यवस्था मिलाइने जनाइएको छ ।

यसै गरी कृषि, पशुपालन, तथा पर्यटन व्यवसायमा उत्कृष्ट किसानलाई पुरस्कृत गरिने, करियर काउन्सिलिङ र सीप परामर्श केन्द्रको निर्माण, बडिखेलको एक मात्रै सामुदायिक विद्यालयमा स्थानीय भाषा, संस्कृतिलाई प्रवर्द्धन गर्ने विषयमूलक पुस्तकालय एवं अनुसन्धान तथा अवलोकन कक्षको स्थापना, हाल वडामा रहेको उपस्वास्थ्य चौकीलाई स्तरोन्नति गरी चिकित्सक सहितको सुविधा प्रदान, स्वास्थ्य बिमाको व्यवस्था कार्यान्वयन, वडामा रोजगार वृद्धिका लागि सीप केन्द्र विकास गरी स्वरोजगार बन्ने वातावरण निर्माण, ठूलोखोला सिम, हर्रामुल, पिपल बोट, थापा गाउँ खर्क लगायत अन्य सम्भावित ठाउँहरूमा भूगोलको उपलब्धता अनुसार ब्याडमिन्टन  तथा भलिबल र टेबल टेनिस कोर्टको निर्माण गरिने सुनाइएको छ ।

त्यसै गरी सामुदायिक वनहरूमा रहेका पुराना पोखरी उत्खनन र संरक्षण, खेर गइरहेका निजी वा सरकारी बाँझो जमिनहरूमा जडीबुटी तथा बोटबिरुवा लगाउनको लागि वडामार्फत बिरुवा अनुदान दिई जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गरिने र बडिखेलमा रहेका सबै ऐतिहासिक  तथा धार्मिक राधाकृष्ण, धनेश्वर महादेव, राम, गणेश अनि देवस्थान, कुमारी, बुद्ध र तपेश्वर महादेव मन्दिर संरक्षण तथा सम्वद्र्धनका लागि आवश्यक बजेट विनियोजन गरी सार्वजनिक पाटी निर्माण, वडाभित्र बजाइने बाजा तथा मनाइने जात्रा पर्व संस्कृतिको संरक्षण, बडिखेलमा सञ्चालन हुने यातायातको व्यवस्थापनलाई चुस्त बनाइने र वडामा सञ्चालन भइरहेका उद्योग तथा व्यवसाय वृद्धिका लागि विभिन्न योजना अघि बढाइने भएको नेकपा एमाले वडा नं ४ को घोषणापत्रमा उल्लेख गरिएको छ ।

सो गोदावरी नगरपालिकामा एमाले पार्टीको तर्फबाट मेयर पदका उम्मेदवार गम्भीर बहादुर राणा, उप–मेयर पदका उम्मेदवार रमी प्रधानाङ्ग, वडाध्यक्ष पदका उम्मेदवार राजन प्रसाद आचार्य सहित वडा सदस्यमा महिला तर्फबाट सिता दवाडी आचार्य सहित अप्सरा विश्वकर्मा र पुरुष तर्फ भने खबर पहरीका साथै युवक पहरी चुनावी मैदानमा उत्रिनु भएको छ ।