ओलीलाई गगन थापाको प्रश्न- पाँच वर्षे म्याण्डेड खेर फाल्नेलाई जनतासँग भोट माग्ने नैतिक आधार के ?



काठमाडौं । प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न गरेका छन् । प्रजातान्त्रिक विचार समाजले आज (शुक्रबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले ओलीलाई प्रश्न गर्दै पाँच वर्षे म्याण्डेड खेर फाल्नेलाई जनतासँग भोट माग्ने नैतिक आधार के छ ? भन्दै प्रश्न गरेका हुन् ।

महामन्त्री थापाले भोट माग्नुअघि कम्युनिष्ट पार्टीहरूले यतिका समय खेर फालेकोमा जनतासँग माफी माग्नुपर्ने बताएका छन् । ‘कम्युनिस्ट नेता र पार्टीहरूले खेर फालेको ५ वर्षको समयका लागि जनतासमक्ष माफि माग्नुपर्ने हुन्छ,’ उनले भने, ‘जनताले देश विकासका लागि जिताएर पठाएको भए पनि ५ वर्षको समय र अवसर उहाँहरूले खेर फालेकोले जनतासमक्ष क्षमायाचना माग्नुपर्छ ।’

उनले ओली र एमालेलाई भोट दिएर देश पुनः अस्थिरतातर्फ धकेल्नुभन्दा कांग्रेसलाई नै जनताले सरकारको अख्तियार दिनुपर्ने बताए ।

एमाले अध्यक्ष ओलीले दुई पटक संसद् विघटन गरेका थिए भने सर्वोच्च अदालतले पुनःस्थापना गरेको थियो । त्यस्तै उनले नै नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी विघटन भएको छ । एमाले पार्टी पनि विभाजित छ ।

प्रतिक्रिया दिनुहोस्