फोहोरमाथि राजनीति



‘फोहोरमाथि राजनीति’ शब्दावलीको प्रयोग लाक्षणिक रुपमा धेरै हुनेगरेको पाइन्छ । ‘धमिलो पानीमा माछापार्ने खेल’ पनि यस्तै लक्षणा र व्यञ्जनाको अभिव्यक्ति हो ।

तर पछिल्लो समय राजधानी काठमाडौं उपत्यकामा सोझो वा अभिधाकै अर्थमा फोहोरमाथि राजनीति भइरहेको छ । हप्तौंदेखि राजधानीको फोहोर उठेको छैन, तर त्यसैलाई कुल्चेर भोट माग्न जुलुसका साथ नेताहरु हिंडेका छन् । स्थानीय सरकारको निर्वाचनको मिति नजिकिएसँंगै राजनीतिक माहौल तात्नु र नेता–कार्यकर्ता सडकमा निस्कुनु स्वाभाविकै हो । एकले अर्काे प्रत्याशीलाई तुच्छ शब्दमा गाली गर्ने श्रृंखलाले निरन्तरता पाउनु भने स्वाभाविक थिएन ।

आफ्नो स्थानीय निकायलाई दीर्घकालीन रुपमा कस्तो बनाउने भन्नेमा नै अलमलमा रहेका नेताहरु अनेकन सपना देखाएर मत आफ्नो पक्षमा पार्न व्यस्त छन् । जनताले पनि हिजो जे भनिएको थियो त्यो किन भएन भनेर आवाज उठाउन सकेका छैनन् बरु मत माग्न आउनेलाई अबिर र माला लगाएर जीतको शुभकामना दिइरहेका छन् । ‘जस्ता नेता त्यस्तै जनता’ को भनाइ चरितार्थ भइरहेको छ ।जनतामा चेतना भएपनि उनीहरुले नेता र उम्मेदवारलाई हिजो गरिएको बाचा किन पूरा भएन भनेर प्रश्न गर्न नसक्नुले नेताहरुलाई झन् अराजक बनाउन मलजल गरिरहेको देखिन्छ ।

नेता र कार्यकर्ता अराजक बन्दै गए मुलुक झन् अधोगतिमा जाने प्रष्ट हुँंदाहुंदै पनि जनतामा अझै पनि नेता तथा कार्यकर्तालाई हप्काउनसक्ने हिम्मत नहुनु मुलुककैलागि दुर्भाग्य मान्नुपर्दछ । जनतालाई भ्रममा पार्न सुन्दर सपना बाड्नसक्ने नेताले राजधानी उपत्यकामा फैलिएको दुर्गन्ध भने देखेका छैनन् । वर्षायाम शुरु भएसँंगै राजधानीका चोक चोकमा थुप्रिएको फोहोरले निर्वाचन प्रचारमा हिडेका नेता तथा कार्यकर्तालाई गिज्याएपनि उनीहरुका लागि त्यो चुनावी मुद्दा बनेको देखिंदैन । झण्डै दुई महिनादेखि राजधानीका चोक–चोकमा थुप्रिएको फोहोरको व्यवस्थापन हुन सकेको छैन । सरकार सञ्चालन गर्नेहरु चिर निन्द्रामा रहेका छन् भने स्थानीय निकायका प्रतिनिधिहरु कुम्भकर्णजस्तै निन्द्रामा छन् ।

एकले अर्कालाई गाली गरेर नथाक्ने ती मनुवाहरुका लागि राजधानीमा थुप्रिएको फोहोर गौण बनेको छ । मुलुकलाई हाइटेक प्रविधिमा लैजाने घोषणा गर्नसमेत भ्याएका दलहरुले व्यवस्थित राजधानी बनाउनका लागि कुनै योजना अघि सार्न सकेका छैनन् । राजधानीको फोहोर व्यवस्थापन हुँदैआएको बन्चरेडाँंडाका स्थानीयले उठाएका मागलाई सम्बोधन गर्नसमेत सरकारलाई फुर्सत नहुँदा आज राजधानीवासी दुर्गन्धित शहरमा बस्न बाध्यभएका छन् । वर्षासँंगै फैलने दुर्गन्धले पार्ने असरका बारेमा समेत सरकार अझै सचेत हुन नसक्नु मुलुककै लागि दुर्भाग्य हुंँदैगएको छ ।

सम्भव नै नहुने उडन्ते कुरा गर्नुभन्दा दलका नेता तथा कार्यकर्ताले कुरुप र फेहोर बन्दै गएको राजधानीलाई सुन्दर बनाउने र दूरदराजमा देखिएका साना–साना समस्यालाई समाधान गर्ने वाचा गरिदिए मात्रै जनता खुसी हुनेथिए । हिजो जनताको घरदैलो र जनताका समस्यालाई नजरअन्दाज गर्दैआएका उम्मेदवारहरु आज खेत खन्न जाने, भैंसी दुहुनेजस्ता नौटंकी काममा लाग्नुभन्दा जनताका तमाम समस्या समाधानतर्फ अग्रसर भइदिए जनताले राहत पाउने थिए । दल र नेताहरुको ध्यान यसतर्फ जाओस् !

प्रतिक्रिया दिनुहोस्