महिला स्वास्थ्य



नेपालमा विशेषगरी महिला स्वास्थ्य अत्यन्तै कमजोर छ । घरपरिवार, समाज र राज्यकै मूलधारमा समेटिन नसकेका महिलाको स्वास्थ्य अवस्था निकै समस्यामा छ । यस विषयलाई राजनीतिक दल र राज्यले समेत प्राथमिकतामा राख्न खोजेको पाइन्न । महिलालाई बच्चा जन्माउने मेसिन र यौन चाहना पूरा गर्ने मनोरञ्जनको साधनका रुपमा हेर्दैआएको पुरुषको सोचमा परिवर्तन ल्याउनेतर्फ कुनै पनि राजनीतिक दलको एजेण्डा आएन । महिलाको अधिकार, महिला स्वास्थ्य, समानताका विषय व्यावहारिक रुपमा नपर्नु दुर्भाग्यको कुरा हो ।

महिलाको संयमता, जिम्मेवारीमा इमानदारी, कटिबद्धतालाई योजना तर्जुमाका क्षेत्रमा पु-याए आफू पछि परिएला भन्ने कनिष्ट सोचमा गुज्रिएका उच्चपदमा आसीन पुरुष वर्गकै कारण आज महिला शारीरिक, मानसिक, आर्थिक, राजनीतिक रुपमा पछि परेका छन् । स्थानीय निर्वाचनमा ठूला भनिएका राजनीतिक दलहरुको मिलेमतोमा उम्मेदवार चयन गर्ने क्रममा समेत विगतका निर्वाचनमा मेयर अथवा उपमेयर महिला हुनुपर्ने भन्ने उल्लेख भएको नियमलाई लत्याएर यसपटक महिलाका सिट नै पुरुषकै पोल्टामा पारेको देख्दा आखिर कानून त महिला, बालबालिका र ज्येष्ठ नागरिकले मात्र पालना गर्नुपर्ने रहेछ भन्ने आशंका बढेको छ ।

नेपालमा सरकारी स्वास्थ्य संस्था, स्वास्थ्यचौकी, अस्पतालमा लाइन बस्नेका अनुहार हेर्दा महिला, दलित, जनजाति र ज्येष्ठ नागरिक नै बढी देखिन्छन् । विदेश गएर उपचार गराउनेहरुमा पुरुष नै बढी छन् । तर राजनीतिक दलका उच्च पदमा आसीन पुरुषले नै स्वदेशका महँगा अस्पतालदेखि विदेशका स्वास्थ्य केन्द्रहरुमा गै स्वास्थ्य सेवा लिने सुविधा पाउँछन् । यहाँ लाखाैं महिला उपचार सेवा नपाएर, रोग नै पहिचान नभएर र सुत्केरी बेथा लागेर, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था र उपकरण नपाएर ज्यान गुमाइरहेका छन् ।

पदमा पुगेका नेताहरु खानुपर्नेभन्दा बढी खाएर ज्यान फुलाएर घटाउँनका लागि महँगा औषधिको खोजीमा छन् भने ग्रामीण भेगका महिलाहरु रक्त अल्पता, कुपोषणजस्ता समस्याले दिनानुदिन मरिरहेका छन् । विकासका नाममा हाइब्रिड संस्कृतिले दिनानुदिन मानिसलाई रोगी बनाएको छ । हाइब्रिड जातिका हरेक बस्तुको आयु लामो देखिएन । वनस्पतीमा बिषादी सिञ्चन गर्नुपर्ने र पशुमा अनेक रोगलाग्ने भएकाले समाज पुनः परम्परागत तरिकाले खेतीकिसानी गर्ने मनस्थितिमा फर्किदै छन् । बिषादीयुक्त खाद्यान्न खुवाउने र छिटोभन्दा छिटो प्रतिफल लिनेजस्ता गलत शिक्षाका कारण गाउँघरमा कृषि क्षेत्रमा रातदिन खटिने तिनै महिला बढी रोगी बनेका छन् ।

हरेक विषादीयुक्त भान्सामा पाक्ने खानाका भान्से महिला छन् । विषादीसँग महिला नै बढी जुधिरहेका छन् । ठूला महल तथा तारे होटलका भान्छामा पनि विष नै पाकिरहेको छ । यस्ता विषयमा राजनीतिक दलहरुले प्राथमिकताका साथ एजेन्डा बनाएको देखिएन । महिला स्वास्थ्यको विषय ओझेलमा प-यो । यदि महिला पनि उच्च दहमा वा नीति–नियम बनाउँने ठाउँमा हुन्थेभने यसमा ध्यान जानसक्थ्यो । महिलाको स्वास्थ्य राम्रो भयो भने एउटा घर–परिवार स्वतः स्वस्थ र सुन्दर हुनेथियो । महिला प्रजनन र यौन जिम्मेवारीका कारण विभिन्न अवसरबाट वञ्चित छन् । हजार हण्डर सहेर सृष्टि धान्ने र नेपाली नागरिक दिने मातृजातिप्रति राज्यको बेवास्ता दुर्भाग्यपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्