लोकतन्त्र ‘गइल भैंस पानी में !’



‘गठबन्धनका कारण स्थानीय तहको प्रमुख र उपप्रमुखमा महिलाको उम्मेदवारी सङ्कटमा पर्दै छ । दलहरूलाई हेक्का होस् ।’ वरिष्ठ पत्रकार धर्मेन्द्र झाले आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै दलहरूलाई सम्झाउने कोशिश गरेका छन् । पत्रकारहरूले मात्र नभएर समाजका सबै तह र तप्काका सचेत नागरिकहरूले यतिखेर यही आशयका विचारहरू लेखेर दलहरूलाई घचघच्याइरहनुपरेको छ । किनकि दलहरू लोकतन्त्रको घोषित ट्रयाकबाहिर जाँदै छन् ।

आफू र आफ्नो दललाई मात्र फाइदा हुने एङ्गलबाट अहिले ‘गठबन्धनीय तर्कका जिलेबीहरू’ पाकेका छन् । प्रचण्डलाई जसले जहाँबाट जितोस् ‘बाल मतलब’, तर भरतपुरबाट ‘एनी हाउ रेणु जिताऊ’ शैलीको उखरमाउलो भैरहेको छ । नेकपा एकीकृत समाजवादीका माधव नेपाल त यतिखेर ‘पैसा न सैसा टिकी ट्याँस्ट्याँस’ भन्ने शैलीमा कांग्रेससँग बार्गेनिङमा लागिरहेका छन् । नेपाललाई डर छ कि उनको पार्टीले देशैभरिबाट एक सिट पनि नजित्ने पो हो कि ? अनि कांग्रेस सभापति शेरबहादुर देउवालाई गठबन्धन नगर्दामा आफ्नो छँदाखाँदाको प्रधानमन्त्री पद गुमाउनुपर्ने पिर ! गठबन्धन गर्दा एमालेलाई छिर्के लगाएरै लडाउन पाइने तथा अघिल्लो स्थानीय चुनावभन्दा केही सिट बढ्ने झीनो आश छ ।

उता उपेन्द्र यादव र जनमोर्चाको दाउ भने ‘लागे लाग् मुहुनी नलागे आफ्नी बूढी घर छँदै छे’ भन्ने खाले रहेको छ तर जनताचाहिँ यी सबै घिउ बेचुवा र तरबार बेचुवाका सोचभन्दा फरक मानेमा सोचिरहेछन् । अतः परिणाम अपेक्षित नहुन पनि सक्छ !
पहिलोपटक भोट खसाल्दै गरेका मतदातालाई यो गठबन्धन शैलीले तिनको पार्टी, चुनाव चिह्न र आदर्श चिन्ने अवसरै नदिई इमोसनल ब्ल्याकमेलिङ गरिरहेका छन् । यसरी तत्कालका लागि मात्र हेर्ने तर दूर दराजको नहेर्ने राजनीतिक मोतिया विन्दुको रोग यतिखेर सबै पार्टीहरूमा सल्किने भय बढेको छ । कांग्रेसमै पनि देउवा, शेखर, गगन र विश्व प्रकाशहरूको मत मिलिराखेको छैन । देउवा भोकाएका छन् ।

भन्छन्, ‘डाँडावारि खाऊँ’ । अरूहरू अघाएका छन् । भन्छन्, ‘डाँडापारि खाऊँ ।’ यही शैलीमा कांग्रेसी नेताहरू गठबन्धनलाई लिइरहेका छन् भने शेखर, गगन र विश्व प्रकाशहरू भोलिको राजनीति र कांग्रेसी विचारलाई बचाउन लागिपरेका छन् । अचम्म गरी कांग्रेसविरुद्धमा पासा पल्टियो र चुनावी हावा एमालेमय हुँदै गयो भने यही चुनावबाटै कांग्रेस सभापति शेरबहादुर देउवाका राजनीतिक दूर्दिनका श्रीगणेश नहोलान् भन्न सकिन्न । यो कुरा उनले भलिभाँती बुझेका छन् तर अहिले उनी सत्ताको रापतापमा वास्तविकतालाई पचाउन नसक्ने स्थितिमा छन् । आफ्ना वरिपरि घुम्ने सिन्चाधुन्चा, सरकारका सहयोगीहरू र गठबन्धनबाट टिकट पाउनेहरूबाहेक यो चुनाव कांग्रेसका लागि फलिफाप हुन्छ भनेर तर्क दिने लाखौं कार्यकर्ताहरूसमेत यतिखेर अमिलो मुख पारेर नेतृत्वतिर हेर्दै रुन्चे हाँसोमा भन्दै छन्, ‘टिकट पाए जितेर देखाउँछु, नपाए जिताएर देखाउँछु ।’

गठबन्धनको सहमतिअनुसार कांग्रेसलाई काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर भागमा परेको छ भने माओवादी केन्द्रलाई भरतपुर, नेकपा एकीकृत समाजवादीलाई पोखरा र जसपाका लागि वीरगन्ज महानगरपालिका बाँडिएका छन् । महागठबन्धनलाई लिएर अहिले देशैभरि माओवादीको भोलिको रबैया र माधव नेपालले कांग्रेसलाई धोका नदेलान् भन्ने के आधार छ शैलीका विचारहरू अखबारहरूमा आइरहेका छन् । पूर्व–अर्थ सचिव रामेश्वर खनाल भन्छन्, ‘स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नु भनेको लोकतन्त्रलाई लुटतन्त्रमा लाने प्रबन्ध हो । विकास र नागरिक सेवा ध्वस्तै बनाउँछन् यस्ता गठबन्धनबाट आएका जनप्रतिनिधिहरूले । त्यसैले गठबन्धनलाई साथ नदिऊँ ।’

देश–विदेश बुझेका र अर्थतन्त्रको नाडी गतिलो गरी छामेका यस्ता बुझक्कड विद्वान्ले समेत निख्रेर भनिसकेपछि वर्तमान परमादेशवाला सरकारका नेताहरूले जनअभिमत विपरीत गरेको गठबन्धनको दिशा र भविष्य त्यति राम्रो देखिएन ।नेताहरू देश, जनता र सिस्टमप्रति कहिल्यै बफादार भएनन् । सधैँ सत्ताको डर–त्रासले विदेशीको एजेन्डा बोकेर सत्तावरिपरि रहिरहन बाध्य भए, जसले उनीहरूका मनमा रहेको कुटिल स्वार्थीपन हटेन । राजा र राजसंस्थालाई सहयोग पनि गरेनन्, उल्टै सधैँ बेमेलको राजनीति गरे । इन्डियन कंग्रेसको धुत्र्याइँका मोहरामा नेताहरू झुलिरहने कारणले देश फेल हुने अवस्थामा पुग्यो । जो सत्तामा पुग्यो उसलाई आफ्नो सत्ता जोगाउनमै सबै शक्ति लगाउनुपर्ने । विनाबित्थामा देश र जनताले सर्वस्व गुमाए ।

२०५८ देखि राजा ज्ञानेन्द्रलाई यी नेताहरूले धोका दिए । जब दलीय पार्टीले राजालाई साथ नदिँदा कस्तो पीडा भयो होला देश चलाउन ? नयाँ–नयाँ राज्य कार्यभार सम्हालेको राजालाई देशको मिडिया पनि उत्तिनै जिम्मेवार छ भन्ने हेक्का भएन, जसले कहिल्यै पनि नेताहरूको दोहोरो चरित्र आम जनतालाई स्पष्टताका साथ देखाउन सकेको छैन ।देशमा आएको गणतन्त्र, धर्मनिरपेक्षता र समावेशितालाई आर्थिक, सामाजिक र राजनीतिक तवरले संस्थागत गर्ने कुनै प्रयास भएनन् । प्रदेश नामका फजुल खर्ची संस्थाहरू नेपाली जनताका टाउकामा जबर्जस्त लाद्ने काम भए । आफैँमा ‘सस्टेन’ गर्न नसक्ने यी प्रदेशहरूले देशलाई थप आर्थिक बर्बादीको दिशातिर लैजाने काम द्रूतत्तर गतिले गरिरहेका छन् । माओवादी यी कुराहरूमा अन्देखा गर्दै छ भने एमाले द्विअर्थी र बेमतलबी कथाकुथुङ्ग्रीहरू झिकेर जनतालाई झिँझ्याइरहेको छ ।

यता कांग्रेसको चाल न हाँस, न कुखुराको छ ! यतिखेरको माहौललाई नै लिऊँ ‘पूरै देशभरि र युवावयका नेताहरू स्थानीय चुनावमा एकाध ठाउँबाहेक पूरै गठबन्धन विरोधमा छन् तर केन्द्र प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई काठमाडौँ मेयरमा लडाउन चोचोमोचो मिलाउँदै छ । उता, पर्ख र हेरको स्थितिमा एमालेले ‘ओली बाका साला’ लाई लत्याएर कांग्रेसविरुद्ध ‘केशव स्थापित क्षेप्यास्त्र’ तेस्र्याउने निश्चितजस्तै छ ।’बूढा कांग्रेसी नेता रामचन्द्र पौडेलको हविगत आलङ्कारिक राष्ट्रपतिका लागि मरिहत्ते गरेको अवस्थामा छ भने सभापति देउवाले प्रधानमन्त्रीको कुर्सी काखी च्याप्नैका लागि पिँध नभएका लोटाझैँ भएका कम्युनिस्टहरू बोकेर हिँड्ने भाउँतो कांग्रेसलाई भिराएका छन् । परिवेश हेर्दा कांग्रेसलाई चुलेँसी अड्केको जस्तो भएको छ । नबाहिर आउने न, भित्र सजिलै पस्ने !

एउटा कार्यक्रममा कांग्रेस नेता डा. मीनेन्द्र रिजाल र महामन्त्री गगन थापाहरू भाषण गर्दा जनताको ताली खाँदै चिच्याउँदै थिए, ‘स्थानीय तहको चुनावमा मानिलिऊँ प्रचण्डले अपेक्षाकृत धेरै स्थान जिते भने उनलाई ओलीले प्रचण्डजी तपाईं आउनुस् हामीसँग मिल्न, तपाईं भोलिको प्रधानमन्त्री हो भनेर ललिपप देखाउँदै लोभ्याए भने प्रचण्ड ओलीसँग मिल्न नजालान् भन्ने के विश्वास छ ? अनि उनै प्रचण्डले जति सिट जित्छु भन्दै छन् ती–ती ठाउँबाट हात धुनुप-यो भने फेरि ओलीसित मिलेर देउवाभन्दा बढी सिट प्राप्तिका आशमा प्रदेश र केन्द्र चुनावमा मिल्न नजालान् भन्न सकिँदैन !’ मीनेन्द्र र गगनद्वयको यो चिन्ता उनीहरूका स्तरबाट पार्टी जोगाउन सान्दर्भिक छ । किनकि यतिखेर एमाले स्वयंमा दह्रो पार्टी हुँदाहुँदै पनि हतास भएको छ ।

उसले राप्रपाका कमल थापासँग जो गठजोड ग¥यो त्यसले भोलि उसको लाक्षणिक बाटो तय गरेको देखियो । एकातिर ‘रामजन्म’ मुद्दालाई समाएर विवादास्पद भूमिका निर्वाह गर्नु, अर्कोतिर कमल थापा र हिजो होलि वाइन ख्वाउने एकराज ढकालहरूसँग टाउको ठोक्काएर मित लगाउनुको भित्री अन्तर्य पक्कै गह्रौं हुन सक्छन् । आगे भविष्यले देखाऊला ।’यो कुरा कांग्रेस सभापति शेरबहादुरका लेभलबाट बुझिनुप¥यो । नत्र कांग्रेसको बचेखुचेको आदर्श गठबन्धन शैलीले शनैःशनैः कांग्रेस नै केही दशकमा समाप्त नहोला भन्न सकिन्न । गठबन्धनबारे घतलाग्दो टिप्पणी यसपटक जसपा केन्द्रीय सदस्य तथा विश्लेषक डम्बर खतिवडाले गरे । उनी भन्छन्, ‘११ गते नामाङ्कनको दिन । जिल्ला–जिल्लाबाट सूचना सङ्कलन गर्दा गठबन्धन पनि गफै मात्रै होलाजस्तो छ ।

स्थानीय कांग्रेसमा गठबन्धन भावनाअनुरूप चल्ने खासै उत्साह देखिन्न । अरू पार्टीका स्थानीय कमिटीलाई पनि गठबन्धन खाए खा, नखाए घिच भनेजस्तो भयो । जो जहाँ अलिकति बलियो छ, उसलाई सबैथोक चाहिएको छ । केन्द्रले मिलाएका भनिएका महानगर, उपमहानगरमा पनि वडामा पुग्दा उस्तै तमासा । शीर्ष नेताहरूले या त देशको माहौल र स्थानीय मनोविज्ञान राम्रो बुझेनन्, या आफ्नो बुझाइ र योजना लागू गर्न सकेनन् । भद्रगोल हुने सम्भावनालाई जिम्मेवारहरूले पक्कै बुझ्नेछन् ।’ बुझेको स्तरको नेताले यसरी विश्लेषण गरेपछि अहिलेको माहोल भनेको कांग्रेस शनैःशनैः मनोवैज्ञानिक रूपमै हारेको अवस्था हो । यो अवस्था भनेकै जुनसुकै हिसाबले शेरबहादुरको पतनोन्मुख यात्राको थालनी हो ।

सुन्दा तीतो लाग्ला तर जीवनमा पहिलोचोटि रूख चिह्नमा भोट हाल्ने खुशी रहस्य साँधेर मतदाता लाइनमा बसेका टिनएजरका हृदयमा बेमिसालसँग उठ्ने वैचारिक राजनीतिको कुत्कुतीलाई यो महागठबन्धन नामको तमासे ‘ठगबन्धन’को माखेसाङ्लाले बाह्र–सत्ताइसपटक घुमाएर लगाउन लगाएको सात छाप उम्मेदवार नै नभएका कोठाहरूमा समेत नपर्लान् भनेर कसरी भन्न सकिन्छ ? अहिलेको सर्वाधिक चिन्ता र चासो यही हो ।हरुवा जुवाडेको ताल भोग्ने पात्रझैँ अवस्थामा रहेका प्रचण्ड र च्याँखे थापेर साउँ बल्झाउँछु भन्ने आशमा प्रचण्ड पछाडि बसेर कहिले प्रचण्ड र कहिले देउवाको तिघ्रा ठटाउँदै मार्रा… शैलीमा उफ्रिने माधव नेपाल यी दुई भाइ खन्चुवा कम्युनिस्टलाई देउवाले प्रौढ काँधमा बोकेर स्थानीय निर्वाचन जिताउँदा पनि सुख छैन र हार्दा झन् चौतर्फी आलोचित हुनुपर्नेछ । यस्तो अवस्थामा देउवालाई स्थानीय निर्वाचन ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाबुको अनुहार’ हुने सोह्रै आना निश्चित छ ।

सत्य तीतो हुन्छ तर अहिलेको सत्य यही हो । यो सत्यांशभित्र नै लोकतन्त्रको आयु र त्यसको जश-अपजश सबै घुमाइफिराई कांग्रेसका थाप्लामा गएर जोडिन्छ । यसै बीच सत्तारुढ गठबन्धनबीच जनकपुरधाम उपमहानगरपालिकाको मेयर जनता समाजवादी पार्टीलाई दिने सहमति भएपछि नेपाली कांग्रेसका जिल्ला नेताहरूले असन्तुष्टि व्यक्त गरे । उनीहरूले अब सामूहिक राजनीनामा दिन लागेको बताए । कांग्रेस नगर सभापति मनोज साह आफूसहित दर्जनौं नेता-कार्यकर्ताले राजीनामा दिन लागेको बताउँछन् । ‘स्थानीय नेताका भावनाविपरीत गठबन्धन गर्ने केन्द्रीय नीतिविरुद्ध हामी पार्टी परित्याग गर्न लागेका हौं । सभापति देउवाजीले पार्टीलाई बर्बाद गर्न लागेपछि कांग्रेस जोगाउन हामी स्वतन्त्र भएर उम्मेदवारी दिन लागेका हौं,’ उनले भने । देशैभरिको अवस्था यस्तो छ, कहीँ मौन विद्रोह र कहीँ प्रकटित विद्रोह ।

प्रतिक्रिया दिनुहोस्