राजतन्त्रात्मक शब्द–संस्कृतिमा रमाएको लोकतन्त्र



बाघको छालामा स्यालको रजाइँ ! यो हामीले बेलामौका सुनिआएकै उखानतुक्का हो । राणाका छोराले गर्नुसम्म रजाइँ ग¥यो जस्ता आलोचना पनि समाजका बूढापाकाहरुबाट ठाउँठाउँमा सुनिन्छ । यी सबै सामन्तकालीन शब्दावली हुन् र पनि अद्यावधि चलनचल्तीमै छन् । भर्खरै एकजना बूढा मानिसको टिप्पणी सुनियो– अहिले मुलुकमा यत्रतत्र सर्वत्र यी जनप्रतिनिधि भनाउँदा नयाँ राजाहरुको रजगज छ । सत्तामा रहेका भ्रष्टहरुका लाजमर्नु व्यवहार–शृङ्खलाहरुलाई उद्धृत गरेर भर्खरै केही वर्षअघि मात्र एकजना नाउँ चलेका लेखकले ‘रजगज’ शीर्षकको एउटा ग्रन्थ नै सार्वजनिक गर्नुभएको थियो । रजाइँ र रजगज यस्ता शब्द हुन् जसले अख्तियारको एकलौटी प्रयोग, हैकम, मैमत्तापन र ढलिमलीजस्ता अर्थ दिन्छन् ।

यसै त नेपाली राजनीतिमा सत्तामा रहेर ढलिमली राज गरिरहन मन पर्ने सत्तागणेश काङ्ग्रेस र कम्युनिस्टहरुलाई अरु राजा मन पर्दैन, विदेशीको कृतदास बनेरै सही आपूm राजा र आफ्नो रजाइँ मात्र अति नै मन पर्छ । यसैले राजा शब्द हटाउने र रजाइँ अपनाउने नयाँ सामन्त शैलीको दरबारी राजनीति अहिले मुलुकमा यत्रतत्र विराजमान देखिएको हो । यस सन्दर्भमा एउटा उदेक लाग्दो कुरा के देखिएको छ भने, आजका यी नयाँ सामन्तरुले पुराना सामन्तहरुका ठानमान, शान र सुखसयलको व्यवहार त हुबहु अपनाएकै छन्, पुराना र जनतामा आलोचित सामन्त शब्दहरुलाई पनि छोड्न सकेका छैनन् । सामन्त शाही व्यवहार अपनाउन अनि ठानमान र शान व्यक्त गर्न सामन्तहरुका शब्द–शब्दावली पनि त चाहियो । यो यी नवसामन्तहरुको बाध्यता नै हुन सक्छ । जस्तै– आज राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्रीहरुको डुलफिर, घुमघाम हुँदैन, भव्य सवारी हुन्छ । मन्त्रीहरु सरकारी भ्रमणजस्ता शब्दबाट चित्त बुझाउन सक्दैनन्, अकूत सरकारी धनराशि खर्च चपाएर ‘राजकीय भ्रमण’ गर्छन् ।

राजकीय भ्रमणका ठाउँमा निरीक्षण भ्रमण, भेटघाट भ्रमण, लोकीय भ्रमण, जनसम्पर्क भ्रमण, मैत्री भ्रमण, सरकारी भ्रमण भन्न र तदनुकूल भ्रमण गर्न यी नयाँ राजाहरु सक्दैनन् । उनीहरुलाई सामान्य भ्रमण होइन, राजकीय भ्रमण नै गर्न मन पर्छ । राजाजस्तै हुन मन पर्छ । के यो जनतामाथि निर्लज्ज रजाइँप्रतिको मोह होइन ? सुखसयल र विलास–वैभवप्रति नेता, उपनेता, शीर्षनेताहरुका मुखमा कति धेरै ¥याल ! सधैँ–सधैँ लालायित । कति बीभत्स ! कति विद्रूप !यसै त नेपालको भाषिक चलनचल्तीमा राजसँग जोडिएका शब्दहरु धेरै छन् । जस्तै– राजनीति, राजसत्ता, राजपत्र, राजकोष, राज्यकोष, राजस्व, राजकाज, राजकीय, राजतन्त्र, राजमुकुट, राजसिंहासन, राजचिह्न, राजमुद्रा, राजपरिवार, राजकुमार, अधिराजकुमार, राजकुमारी, राजपरिषद्, राजपत्नी, राजपण्डित, राजपुरोहित, राजवैद्य, राजकुल, राजमहल, राजगद्दी, राजधानी, राजतेज, राजदण्ड, राजघराना, राजगुरु, राजगुठी, राजकुलो, राजपथ, राजमार्ग आदि ।

ठूलाबडालाई बस्नुस् नभनेर राजहोस् भन्ने, खानुस् नभनेर ज्युनार होस् भन्ने, हिँड्नुस् नभनेर सवारी होस् भन्ने, हेर्नोस् नभनेर नजर गरिबक्स्योस् भन्ने चलन दरबारिया चलन हो । अभै कति पूर्वआठपहरियाहरुले यो बिर्सेका छैनन् । सबैभन्दा मीठो मिठाई– राजभोग । सबैभन्दा राम्रो धान– राजभोग । शानदारको शाहीभोज– राजभोज । ठूलो जातको सेतो हाँस– रजहाँस । ठूलो टाउको हुने एक खालको बाम माछा– रजबाम । लामो फल पल्ने वृक्ष– राजवृक्ष । यी पनि राजा शब्दको उत्कर्ष जनाउने फरक कोटीका शब्दहरु नै हुन् ।राजाको भनेर चिनाउने उपकरण– राजोपकरण । राजकाजको अभिभारा– राजभार । राजकाजको अर्थात् कानुनी लेखापढी र शासन–प्रशासनकोे मुख्य भाषा– राजभाषा । राजाको ढुकुटी– राजढुकुटी । राजाको ढुकुटीमा जम्मा गरिने धन– राजस्व अर्थात् राजाको सम्पत्ति । यहाँ स्व शब्दको अर्थ धनसम्पत्ति हो । जस्तै:  देवस्व– देवताको सम्पत्ति, सर्वस्व– भएजति सबै सम्पत्ति ।

यी त परम्परागत शब्द र अर्थहरु भए । आजको परिवर्तित भनिएको पृष्ठभूमिमा शब्दहरुचाहिँ परिवर्तित हुन नसक्नुको निहितार्थ के हुन सक्ला ? अहिले हाम्रो चासोको विषय यही हो ।परम्परागत सन्दर्भमा हेर्दा राजतृष्णा, राज्यतृष्णा शब्दहरु पनि छन् । । यी दुवै तृष्णाका रोमहर्षक दृष्टान्तहरु पनि विश्वइतिहासमा भेटिन्छन् । लाग्छ, हाम्रा लोकतान्त्रिक र समाजवादी शीर्षनेता, नेता र उपनेताहरुमा पनि अघोषित रुपमा त्यही परम्परागत राजतृष्णा उर्लिएको छ । अरुबाट सम्मान, उपहार लिने । र, खुशी लाग्दा आफ्नाहरुलाई जग्गाजमिन र राज्य नै पनि उपहार दिने । सत्ता–सम्पत्ति जति भए पनि नपुग्ने ।

ठानमान र शान देखाउन नोकरचाकरलाई बेलामौकामा धेरथोर बक्सिस दिने । दान दिने । महाभारतकालमा दुर्योधनले कर्णलाई अङ्ग नामको एउटा सिंगो राज्य नै बक्सिस दिएका थिए । जस्तै: अहिले नेपालका सत्तामा आसीन डा. भारतशरण, डा. अमेरिकाशरण, देवमानव भोजबहादुर, मोजबहादुर, भालुबहादुर, आलुबहादुर, लालकमल, जालकुमार, आशाराम, पासाराम आदि सबै कांग्रेसी, कम्युनिस्टी, अनिष्टी नामधारी कृतघ्न मनुवाहरु साम्राज्यवादी अमेरिकाको युद्धस्वार्थलाई शिरोपर गरेर नेपाली जननताको सार्वभौम अधिकार सम्पन्न नेपाल भूमि अमेरिकी सरकारलाई बक्सिस दिन हतार हतार लागिपरेका छन् । शब्दान्तरमा भन्नुपर्दा साम्राज्यवादको चरणकमलमा मुलुक र जनताको सार्वभौमिकता चढाउनसमेत कृतसङ्कल्प बनेर तँछाडमछाड शैलीमा लाम लागेका छन् ।

हुन त रोगहरुमा सबैभन्दा भयानक रोग क्षयरोगलाई राजरोग मानिन्थ्यो र त्यसलाई राजरोग नै भनिन्थ्यो । यी राजमनुवाहरुको दिलदिमागमा अहिले त्यही राजरोग लागेको हुनुपर्छ । ध्यान दिनलायक पक्ष यो पनि छ । अनि नेपालीमा प्रचलित एउटा शब्द छ, अण्डकोष । अण्डकोषलाई राजखानी पनि भनिन्छ । भन्नुको अभिप्राय यो राजा–महाराजाको प्रिय खाद्य भन्न खोजिएको हो भनिन्थ्यो । लाग्छ, साम्राज्यवाद प्रेमी, सत्तालिप्त मनुवाहरुलाई ‘अमेरिकी साँढेको राजखानी’ले लालायित बनाएको पनि हुन सक्छ ।

यथातथ्य के हो, यो गम्भीर खोजीको विषय बनेको छ । बोकाको राजखानी प्रदर्शन गरेर बाख्रीको मासु बेच्ने पसल–संस्कृतिको राजनीतिमा चलेको अनि खसीको टाउको तेस्र्याएर कुकुरको मासु बेच्ने संसदीय व्यवस्थामा एमसीसी प्रेमका स्वार्थपूरक अन्य विभिन्न लाक्षणिक अर्थ पनि हुन सक्छन् । यो सबै जनताका लागि थाहा लिनुपर्ने र सम्भावित खतराका विरुद्ध अनवरत सावधान एवम् संघर्ष सन्नद्ध रहनुपर्ने विषय नै हो । लोकतन्त्र, जनतन्त्र भनेको सत्तामा जनता हुनु हो, जो आज पनि छैन । सत्तामा बाघ भए पनि, हुँडार भए पनि, सर्प भए पनि, मकर–गोही भए पनि जनताका लागि जीवनरक्षाको समस्या नै हो । निरन्तर समस्या नै हो । नेताहरुको भोक तान्त्रिक सत्ता हामी जनताका लागि भयङ्कर समस्या नै हो ।

हामी यहाँ अहिले सामन्तकालीन चल्तीका शब्दहरु केलाउँदै थियौं । शब्दहरु आफैँमा सामन्त र साम्राज्यवादी वा जनवादी हुने त होइनन् । शब्दहरु प्रयोगका आधारमा अर्थोत्कर्ष र अर्थापकर्षमा जाने अर्थात् सफा र फोहोर बन्दै जाने हुन् । हामी यस लेखमा सामन्तहरुले बिटुल्याएका शब्दहरुको चर्चामा थियौँ । अन्ततः राजसँग सम्बन्धित सबैजसो शब्द–शब्दावलीहरुमा राजतन्त्रको गन्ध आउँछ । सामन्त शाहीको गन्ध आउँछ । हिजोको व्यवस्था राजतन्त्र भएजस्तै आजको व्यवस्था नेतातन्त्र बनेको र नेताहरु राजाको नकारात्मक मनस्थितिमा पुगेको विकृति र विसङ्गतिमा डुबेको अवस्था हो र पनि यसलाई नेतातन्त्र नभनेर लोकतन्त्र भन्ने गरिएको छ । लोकतन्त्रमा लोकको तात्पर्य जनता हो । जनतामा यो जनताको व्यवस्था हो भन्ने मायाजाल बिच्छ्याउन नेताहरुले लोकतन्त्र, लोकतान्त्रिक जस्ता शब्दहरु प्रयोगमा ल्याएको बुझ्न अब कुनै बार पर्खिरहनुपर्दैन ।

यो कुरा बुझ्न उनीहरुले प्रयोगमा ल्याएका शब्दका साथै उनीहरुको बानीबेहोराकै लाचारीका कारण छोड्न नसकेका शब्दहरुको उल्लेख गर्नु पर्याप्त हुन्छ । जस्तै: लोकतन्त्र भन्न रुचाउने महान् लोकतान्त्रिक शीर्षनेता, नेता–उपनेताहरुले राजपत्रलाई लोकपत्र र राजमार्गलाई लोकमार्ग नाम दिएजस्तै गरी राजनीतिलाई लोकनीति, राजकाजलाई लोककाज, राजस्वलाई लोकस्व नाम दिन सकेका छैनन् । किन ? लोकस्वभन्दा जनताको सम्पत्ति भन्ने अर्थको बोध हुन्छ, जुन बोध यी नेताहरु जनतामा दिन चाहँँदैनन् । मालपोत आदि पोता एवम् करलाई राजस्व भन्ने चलन राजतन्त्रकालीन नै हो ।राज शब्दको परम्परागत अर्थ र देश–दुनियाँलाई सुरक्षासहित आनन्द प्रदान गर्न सक्ने व्यक्तित्व भन्ने थियो । ‘राजा प्रकृतिरन्जनात्’ भनिन्थ्यो ।

अहिले लोक प्रचलित अर्थ उन्मत्तता, उच्चता, शासकीय गुणवत्ता, विलास, वैभव, ठानमान, शान, सुखसयल, आनन्द आदि हुन सक्छन् । जो आजका सत्तासीन नेताहरुको परमप्रिय स्वभाव हो । राजसी भन्नाले सुखसयल र मोजमस्ती भन्ने बुझिन्छ । जस्तै: आजका लोकतान्त्रिक राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र हाकिमहरुलाई राजसी ठाँटबाँट मन पर्छ । राजकीय सवारी मन पर्छ । राजकीय निवास मन पर्छ । यसैले उनीहरु राजतन्त्रकालमा राजा–महाराजाले जस्तै सरकारी कामकाजको भ्रमणलाई पनि राजकीय भ्रमण नै भन्न मन पराउँछन् । यसो भन्दा उनीहरुलार्ई जनताका बीच लाजको अनुभूति हुँदैन, बरु गौरव महसुस हुन्छ र गजक्क पर्छन् । पिर्का, टेबल वा ढिस्को चढेर पनि सलामी लिन्छन् ।

यहाँनिर यो ‘बाघको छालामा स्यालको रजाइँ’ भन्ने उखान कत्तिको सान्दर्भिक बन्ला ? यो प्रश्न आपै पदासीन र विलास वैभवाधीन बनेर भुक्तभोगीसमेत रहनुभएका उखान विद्यावारिधि पूर्वप्रम ओली महोदयसँग सोध्नु मुनासिब हुन सक्छ ।महाभारतमा राजा, मन्त्री, राजकर्मचारी, राजनीति र राजधर्मबारे विस्तृत विवरण पढ्न पाइन्छ । ती विवरणका आँखाबाट हेर्दा मात्र पनि अहिलेका हाम्रा राजनेताहरु स्तरहीन बिचरा विदूषकजस्ता देखिन सक्छन् । यिनका क्रियाकलाप, भ्रमण र राजकीय भ्रमण सबै–सबै विकृत र बीभत्स प्रहसनजस्तो देखिन सक्छ । यो एउटा अर्को रमाइलो पक्ष हो ।

प्रतिक्रिया दिनुहोस्