त्रिविमा ताला लागेको आज ३ महिना पूरा

बन्द छैन त्रिवि मुख्यालय !



काठमाडौं ।

औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुषालको कार्यकक्षमा तालाबन्दी भएको आज मंगलबार तीन महिना पूरा भएको छ । सरकार आबद्ध नेपाल विद्यार्थी संघले माघ ६ गते तीनैजना पदाधिकारीको कार्यकक्षमा गरेको तालाबन्दी अझै खुलेको छैन । तर, ती कार्यालयको काम भने रोकिएको छैन ।

तालाबन्दी भएको एक महिनासम्म त कर्मचारीहरू तलब नखाइकन घरमै बसेका थिए । तालाबन्दी लम्बिदै गएपछि पदाधिकारीको निर्देशनमा सबै कर्मचारीले चोरबाटो प्रयोग गरेर काम गर्न थालेका हुन् । एक कर्मचारीले सोमबार समाचारपत्रसँग भने– ‘मूल गेटमा तालाबन्दी भएर के गर्नु ? हामी त पछाडिको ढोका प्रयोग गरेर काम गरिरहका छौं ।’ ती कर्मचारीका अनुसार त्रिविका तीन पदाधिकारीहरू भने कहिले पुल्चोक त कहिले परीक्षा नियन्त्रण कार्यालय, सिनासलगायतका निकायमा बसेर सुटुक्क काम गर्न थालेका छन् ।

त्रिविका पदाधिकारीको अक्षमताका कारण तालाबन्दी भएको तीन महिना भइसक्दा पनि एमाले र माओवादी कोटाबाट नियुक्ति भएका पदाधिकारीले ताला खोल्ने विषयमा कुनै वास्ता गरेका छैनन् । कर्मचारी भन्छन्– ‘उनीहरू आफ्नो कुर्सीमा बस्न मात्र नपाएका त हुन् नि, तलब खाएकै छन्, सबै काम फाइल मगाएर सम्पन्न गरेकै छन् ।’

त्रिवि कर्मचारी स्रोतका अनुसार उपकुलपति कार्यालयको मूल गेटमा ताला लगाएपछि उनीहरू बाहिरिएका छन् । तर, सो कार्यालयमा रहेको कार्यकारी समिति र योजना खुलै छ । रेक्टर कार्यालयमा ताला लागेको छ । सो भवनमा रहेको पाठ्यक्रम र अनुमगन र समन्वय महाशाखा खुलै छन् । रजिस्ट्रार कार्यालयमा ताला बन्द छ । तर, रजिस्ट्रार प्राडा पेशल दाहालले आफ्नो सम्पूर्ण काम पुरानो रजिस्ट्रार कार्यालयबाट गरिरहनुभएको छ ।

स्रोतका अनुसार अहिले देखावटी रूपमा मात्रै त्रिविका पदाधिकारीको कार्यालय यति दिन बन्द भयो भन्ने हल्ला फैलिएको छ । तर, सबै काम चालु भएको छ । तीन पदाधिकारीहरू आफ्नो कुर्सीमा बस्न नपाएका मात्र हुन्, तर सबै कागजपत्र निकालेर काम सञ्चालन गरिरहेका छन् । अहिले पुरानो रजिस्ट्रार कार्यालयभित्र कर्मचारी, आर्थिक, लेखा, खरिदलगायत सबै कार्यालयमा कर्मचारीले काम गरिरहेका छन् । ती कर्मचारी भन्छन्–‘ तालाबन्दी भएको भए हामीले कसरी तलब खाने थियौं ? देखावटी रूपमा मात्र तालाबन्दी हो, हामीले त समयमै तलब खाएका छौं, सबै कर्मचारीले काम गरिरहेका छन्, गेटमा ताला लागेको छ तर, भित्रबाट काम गरिरहेका छौं ।’ यस विषयमा जानकारी लिन खोज्दा उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले मोबाइल उठाउनुभएन ।

उपकुलपति प्राडा बाँस्कोटा कुलपति, सहकुलपति एवं शिक्षामन्त्री र आफ्ना पार्टीका प्राध्यापक, कर्मचारी र विद्यार्थी संगठनसँग कुरै गर्न चाहनुहन्न । उहाँमात्र होइन तीनै जना पदाधिकारीले भित्री रूपमा खासै पहल गरेको नदेखिएको कर्मचारीको भनाइ छ ।

नेविसंघले जनकपुरस्थित युथ क्याम्पसमा बीसीए ‘ब्याचलर अफ कम्प्यूटर एप्लिकेसन’ कार्यक्रमको सम्बन्धन दिँदा त्रिविका कर्मचारीले घुस मागेको र घुस नदिएपछि त्रिविले सम्बन्धन खारेज गरेको आरोप लगाउँदै पदाधिकारीको कार्यालयमा तालाबन्दी गरी तीनै जना पदाधिकारीको राजीनामा माग गरेका थिए । नेविसंघले पदाधिकारीको राजीनामाबाहेक कुनै विकल्प नभएको अडान राखेको छ भने तीनै पदाधिकारहरू राजीनामा नदिने स्पष्ट अडान छन् । विद्यार्थीले विशेषगरी उपकुलपतिले वरिष्ठलाई भन्दा कनिष्ठलाई नियुक्ति गरेको आरोप लगाएका छन् । लगातार ३ महनासम्म मुलुककै जेठो विश्वविद्यालय बन्द हुँदा त्रिविका पदाधिकारी मात्र होइन, कसैले पनि खासै चासो देखाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्