नयाँ वर्षको शुभकामना !



हिजोबाट पुरानो वर्ष बिदा भएको छ । आजदेखि सुरु भएको नयाँ वर्ष २०७९ लाई आम नेपालीले स्वागत गरेका छन् । शुभकामना स्वाभाविक ढंगले आदान–प्रदान भइरहेका छन् ।

नयाँ अपेक्षा जागृत भएका देखिन्छन् । खासगरी शुभकामनामा विगत वर्षमा जस्तो कोभिड संक्रमणले पुनः शिर नउठाओस् भन्ने चाहना प्रमुख देखिन्छ । वास्तवमा ‘शरीरः माध्यम खलु धर्मसाधनम्’ भनिन्छ । शरीर जहाँ मन–मस्तिष्क पनि वास गर्दछ, त्यो स्वस्थ रहेन भने जीवनको कुनै मूल्य हुन्न । जीवनमा खाएर, छोएर, हेरेर, हाँसेर, नाचेर, बोलेर, लेखेर नै आनन्द लिनेहो जो शरीर नभई सम्भव छैन । यावत् आनन्दको माध्यम शरीर हो, यसको स्वास्थ्य सधैंका लागि आवश्यक छ । नेपाल समाचारपत्र पनि आदरणीय पाठक वर्गप्रति स्वस्थ जीवनको शुभकामना प्रकट गर्दछ ।

गत वर्ष कोरोना संक्रमण मात्र समस्या बनेन, राजनीतिक अस्वस्थताले मुलुकलाई जर्जर बनायो । जनताले राजनीतिक स्वास्थ्यका लागि झण्डै दुईतिहाईको बहुमत दिएको सरकार पनि ढल्यो । दल र नेताबाट जनचाहनाको सम्मान भएन । निष्कर्षमा यो अस्वस्थ मष्तिष्ककै उपज थियो । देशलाई स्वस्थ बनाउन स्वास्थ्य क्षेत्र नै स्वस्थ हुनु आवश्यक छ, यद्यपि प्रवृत्तिगत अस्वस्थता अस्पतालले ठीक गर्नसक्ने विषय होइन । तरपनि स्वास्थ्य विज्ञानका क्षेत्रमा संविधानले भनेजस्तै समाजवादउन्मुख स्वास्थ्य आर्जन भएमा मुलुकका लागि ठूलो योगदान पुग्ने निश्चित छ ।

स्वास्थ्य तथा जनसंख्या क्षेत्रका वैज्ञानिकहरुको हालै तीन दिनसम्म सञ्चालन भएको आठौं शिखर सम्मेलनले जारी गरेको नौबुँदे घोषणापत्रले नेपालमा भएका स्वास्थ्य समस्या र समाधानका लागि अपनाउनुपर्ने नीति नियमका बारेमा उजागर गरेको छ । नेपालमा अनुसन्धानका नाममा सम्झौता हुन्छ तर ७५ पतिशत बजेट जताबाट आयो उत्तै फर्कने गरेको तीतो यथार्थ स्वास्थ क्षेत्र स्वस्थ बनाउन नदिने एक प्रमुख कडी देखिन्छ ।

नेपालमा अनुसन्धानका नाममा ५६ वटा विकास साझेदारले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गरिरहेको भएपनि नेपाललको अनुसन्धान शीर्षक र बजेटमा मात्र केन्द्रित भएको तर प्रतिफल नआएको सन्दर्भले यस क्षेत्रको स्वास्थ्य कति कमजोर रहेछ भन्ने प्रमाणित गर्दछ । नेपालमा भैरहेका काम र स्वास्थ्य विज्ञानका क्षेत्रमा अब हुनुपर्ने वैज्ञानिक स्वास्थ्य अनुसन्धान र प्रमाण संकलनको कार्यमार्फत् नीति तर्जुमा कार्यलाई सहज बनाउन सघीय संरचनामा क्षमता अभिवृद्धि गर्नुपर्ने देखिएको छ । वास्तवमा स्वास्थ्य एक मन्त्रालय वा विभागको मात्र चासोको विषय होइन, हरेक क्षेत्रमा स्वास्थ्य आवश्यक छ । नीतिगत अस्वस्थता आजको मूल समस्या हो ।

नेपाल र नेपालीको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण पक्ष शिक्षा हो । गलत काम गर्नुहुन्न भन्ने सोचको अभाव आजको समस्या हो । आम नागरिकलाई स्वस्थ राख्न नैतिक, चारित्रिक र संस्कारगत शिक्षा आवश्यक पर्दछ । सही अर्थमा नेपाल राजनीतिक रुपमा जसरी अस्थिर जीवन बाँचिरहेको छ, प्रशासनिकदेखि समाजका विभिन्न पक्ष र विकास–निर्माणमा जसरी भ्रष्टाचार हाबी छ, त्यसका लागि चरित्र निर्माणको शिक्षा आवश्यक देखिन्छ । आशा गरौं, नयाँ वर्षले स्वस्थ जीवनका लागि सबैलाई सचेत बनाउने छ ।

प्रतिक्रिया दिनुहोस्