पाल्पामा प्रकृतिको प्रहार कतै जित कतै हार



 

गएको वर्ष २०७८ पाल्पा जिल्लाका लागि त्यति सुखद रहेन । कोरोना, बाढीपहिरो आदिका कारण पाल्पा जिल्ला राष्ट्रिय समाचारको केन्द्रमा भने रहन पुग्यो । केही सन्दर्भ हेरौं:

कोरोनाको लहर:
कोरोनाको पहिलो लहरमा त्यत्ति धेरै असर नपरे पनि दोस्रो लहरले यहाँको कृषि, व्यापार, व्यवसाय शिक्षा पर्यटन र समग्र दैनिकीमा नै प्रत्यक्ष असर प-यो । जिल्ला सदरमुकाम तानसेन मात्र होइन यसको असर ग्रामीण भेगसम्म पनि प्रत्यक्ष देखिन पुग्यो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोना कहर शुरू भए यता जिल्लामा जम्मा २६८ जनाले ज्यान गुमाउन पुगे । जसमा महिलाको संख्या ८८ र पुरुषको संख्या १८० रह्यो । यस अवधिभित्र तानसेन नगपालिकामा मात्रै ८५ जनाको ज्यान गयो भने वगनासकालीमा ४५ जनाले ज्यान गुमाउन पुगे । जिल्लाका दशवटै स्थानीय तहमा यसको असर प-यो ।

कार्यालयका अनुसार गएको २६ चैत्रपछि कोरोना परीक्षणमा पाल्पामा पहिलोपटक शून्य रेकर्ड आयो । अहिले पाल्पा जिल्ला कोरोना शून्य जिल्ला भएको छ । यस अवधिमा जिल्लामा निषेधाज्ञा जारी पनि भयो । जनजीवन प्रभावित बन्यो तर पनि स्वास्थ्य सावधानी नअपनाउँदा र लापर्बाही स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग तथा मापदण्ड पालना नगर्दा पाल्पामा गएको साउन ३१ गते एकै दिन १ सय ९० जना संक्रमित समेत थपिन पुगेका थिए ।

कोरोना कहरका कारण जिल्लामा अक्सिजन प्लान्ट निर्माणसँगै सञ्चालन पनि भयो भने सरकारको प्रयासमा जिल्लामा कोरोनाको परीक्षण हुने व्यवस्था पनि भयो भने जिल्लामा कोरोना कहरका बेला सहयोगी हातहरू पनि देखापरे । तानसेन नगरपालिका र स्थानीय युवाको पहलमा घरघरमा कृषि एम्वुलेन्समार्फत तरकारीको व्यवस्था गर्ने र समयमा अस्पताल पु¥याउनका लागि स्थानीय युवा तथा व्यवसायी यादवसिंह कार्कीलगायतका युवाहरूले गरेको प्रयास निकै नै प्रशंसनीय बन्यो भने स्थानीय तहले विभिन्न स्थानमा खोलेका आइसोलेसन सेन्टर, औषधि उपचारको व्यवस्था र यहाँका ठूला अस्पतालसँगको सहकार्यमा गरेको उपचार व्यवस्था प्रर्याप्त नभए पनि जनतालाई राहत दिने खालका थिए ।

रोना संक्रमण समुदाय स्तरसम्म फैलिन थालेपछि जिल्लाका स्थानीय तहहरूले कोरोना अस्पताल निर्माण कार्यलाई तीव्रता दिएका छन् ।
जिल्लाका १० स्थानीय तहमध्ये ८ स्थानीय तहहरूले आफ्नै कोरोना अस्पताल निर्माणकार्य सम्पन्न गरी सञ्चालनमा ल्याए । बगनासकाली गाउँपालिकामा १० वेडको, रिब्दीकोट गाउँपालिकामा ५ वेडको १ अस्पताल, रैनादेवी छहरा गाउँपालिकामा १० वेडको १ अस्पताल तयार गरे भने तिनाउँ गाउँपालिकामा १० वेडको, माथागढी गाउँपालिकामा १५ वेड अस्पताल तयार भयो ।

पूर्वखोलामा १० वेडको रम्भा गाउँपालिकामा ५÷५ वेडका २ अस्पताल, निस्दी गाउँपालिकामा पनि ५ वेडको १ अस्पताल तयार गरियो भने तानसेन नगरपालिकाले पाल्पा अस्पतालसँगको समन्वयमा कोरोना संक्रमितका लागि ५० वेड बनायो रामपुर नगरपालिकाले ३५ वेडको अस्पताल तयार गरी सक्दो उपचार गरियो । रामपुरमा कोरोना संक्रमितहरूको लागि अक्सिजन सिलिन्डर लगायतका सामग्रीको जोहो गरी आवश्यक राहत दिने प्रयास गरे ।
 

दैवी विपत्ति र दुर्घटना :

 असार २४ गते तिनाउ गाउँपालिका–५ मा पहिरोले ५ घर बगाउँदा दुई जनाको मृत्यु भयो भने पहिरोले दुई घर पुरिएको र तीन घर बगायो । पहिरोमा परी सात जना घाइते भए । यस्तै, सिद्धार्थ राजमार्गअन्तर्गत हिउँदेखोला नजिकै माथिबाट ठूल्ठूला ढुंगासहितको पहिरो आई घरहरू पुरिएका र बगाएका थिए जसमा सात जना घाइते भएका हुन् । पहिरोमा परेका ७ जनाकोे घाइते अवस्थामा प्रहरी र स्थानीयवासीले उद्दार गरेका थिए

त्यस्तै, असोज ८ मा पूर्वी पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित गहिराटोल बेलौजामा पहिरो गयो । पहिरोमा पुरिएर पाल्पामा एकै घरका पाँच र अर्का एक घरका एक गरी ६जनाले ज्यान गुमाउन पुगे ।अर्को पहिरोले सिद्धार्थ राजमार्गकै पाल्पा र स्याङ्जाको सिमाना राम्दीमा पनि घरहरू बगायो भने सोही समयमा डुम्रैमा घर बगाउँदा मानवीय क्षति समेत हुनपुग्यो । सिद्धबाबा, झुम्सा, पानी मिल, हिउँदे खोला, कालीमाटी क्षेत्र, लामेदमारमा पहिरो खसी सडक अवरुद्ध भएका थिए । सिद्धार्थ राजमार्गको तानसेन–पोखरा सडक खण्डको राम्दी तथा शेरा क्षेत्रमा पहिरो झरी सडक अवरुद्ध भयो भने आर्यभन्ज्याङ रामपुर सडक खण्ड रोकियो ।

देशमै सवारी दुर्घटनाका दृष्टिले जोखिमकै सूचीमा रहने जिल्लामा खासगरी यो वर्ष पुष १८ गते शवको अत्येष्टिका लागि रिडी घाटतर्फ जाँदै गरेको बस रिब्दीकोट गाउँपालिका लघुवमा दुर्घटनामा पर्दा ७ जनाको घटनास्थलमै मृत्यु भयो भने १५ जना घाइते हुन पुगे ।त्यस्तै, असार ५मा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर रिब्दीकोट गाउँपालिका वडा नं. ३ हिरापोखराकी ३५ वर्षीया नीरा विकको मृत्यु भयो ।

आफ्नै घरमा गीत बजाउने उफरको तार विद्युत्को बोर्डमा जोड्ने क्रममा करेन्ट लागेको थियो ।पाल्पाको तिनाउ गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भयो भने दुई जना घाइते भए ।बाबुले मकैबारीमा आएको स्याललाई ताकेर हानेको बन्दुकको छर्रा लागेर छोरा रिब्दीकोट गाउँपालिका– ६ ठिमुरेस्थित तल्लोताल ३५ वर्षीय धनबहादुर लम्तरीको मृत्यु भयो ।

स्थानीय तहको प्रयास:

पाल्पामा २०७८ सालमा पीडाका सन्दर्भ मात्र आए भन्ने होइन । विकास– निर्माणका सुखद सन्दर्भ पनि छन् ।
तानसेन नगरपालिकाले घरपरिवारको लगत विवरण संकलन गरी क्युआरसहितको फेमिली कार्ड वितरण शुरू गरेको छ । नगरपालिकाले टोल टोलमा गणकहरू परिचालन गरी नगरपालिकाभित्रका सबै घरपरिवारहरूको विवरण संकलन गरी फेमिली कार्ड वितरण ग¥यो । फेमिली कार्डमा नागरिकता विवरण, परिवारका सबै सदस्यको विवरण लागत समावेश रहेका छन् । फेमिली कार्डमा डिजिटल माध्यमबाट अध्ययन गर्न सकिने बार कोड, घर नम्बर, फेमिली आईडी नम्बर समावेश गरिएको छ ।

मौसम पूर्वानुमानलाई सहज बनाई क्षति कम गर्ने उद्देश्यका साथ पाल्पामा अत्याधुनिक राडार निर्माणको काम भइरहेको छ । नेपालमा यही वर्षायाममा पूर्वानुमानभन्दा फरक फरक फरक स्थानमा बाढी, पहिरो र वर्षाले ठूलो क्षति पु¥याएको अवस्थामा पाल्पामा निर्माण हुन लागेको मौसमी राडारले मौसमको पूर्वानुमान पहिले नै गर्ने हुँदा क्षति कम हुने अपेक्षा गरिएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नंं ५ रिब्दीकोट डाँडामा १ हजार ८ सय ७७ मिटरको उचाइमा २० मिटर अग्लो टावर निर्माण भइरहेको छ ।

रम्भा गाउँपालिका वडा नं. २ रानीबासमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा रम्भा गाउँपालिकाको संयुक्त पहलमा आदिवासी जनजाति सांस्कृतिक संग्रहालय निर्माण कार्य भइरहेको छ । रम्भा गाउँपालिकामात्र नभई देशभरिकै आदिवासीहरूको पहिरन, वेषभुषा, औजार, सामग्री, बाजा, परम्परागत घरायसी सामानहरूको संग्रहालयमा संकलन गरी अवलोकनको लागि राखिने बताइएको छ ।
पूर्वी पाल्पाको रामपुरमा निकै नै महत्वपूर्ण मानिएको शीत भण्डारको निर्माण कार्य सम्पन्न भई यसै वर्षदेखि शुरू गरियो । शीत भण्डार चालु भएपछि कृषक औधि खुशी भए । आलु भण्डारण गर्न रामपुरदेखि भैरहवा, स्याङ्जाको जिमुवालगायतका स्थानमा कृषकलाई धाउनु परेन ।
काली गण्डकी नदीमा जलयान सञ्चालन गर्ने र नदी थुनेर अर्थात् डाइभर्सन गरी सिँचाइ र जलविद्युत् आयोजना चलाउने योजना ल्याइएको छ ।

कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि पाल्पा खण्डमा सबस्टेसन राख्ने सम्भाव्यताको अध्ययनै शुरू गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म एक सय ३५ किलोमिटर जलयान सञ्चालन गर्न बनाइएको योजनाअनुरूप कालीगण्डकीको देवघाट र रामपुरमा सबस्टेसनको लागि स्थलगत अध्ययन भयो भने कालीगण्डकीको पानीलाई राम्दीबाट मोडेर रूपन्देही, कपिलवस्तुमा सिँचाइ गर्न तिनाउँ कालीगण्डकी डाइभर्सन आयोजना पनि सरकारले समावेश गरी कार्य शुरू गर्ने भनिएको छ ।देश तथा विदेशमा प्रख्यात बनेको पाल्पाली ढाकाकै कारण परिचित पाल्पा अब ढाकाको राजधानी भएको छ । तानद्वारा उत्पादित ढाका कपडा ‘ब्रान्डिङ’ गरी बजार पठाउन थालिएसँगै पाल्पाली ढाकालाई अझ प्रख्यात बनाउने प्रयास भएको छ ।

यातायात व्यवस्था सेवा कार्यालय पाल्पाअन्तर्गत रहने सवारी चालक परीक्षण केन्द्र बन्ने भएको छ । केन्द्रको शिलान्यास हालै भएको छ । सेन्टरबाट पाल्पा, गुल्मी, स्याङजा, अर्घाखाँचीका बासिन्दालाई फाइदा पुग्ने छ ।ऐतिहासिक महत्वको नेपालको ताजमहल र धार्मिक महत्वको भैरवस्थान मन्दिरले यो वर्ष काँचुली फेरेका छन् । तानसेन नगरपालिकाले रेखदेख र व्यवस्थापन गर्न थालेपछि रानीमहल फेरिएको हो । यसअघि रित्तो दरबारको रूपमा मात्रै रहेको रानीमहल क्षेत्रमा अहिले नगरपालिकाले विशेष महत्वका साथ काम गरिहेको छ । जसका कारण रानीमहल क्षेत्र चिटिक्क भएको छ ।

प्रतिक्रिया दिनुहोस्