एमालेले भरतपुरमा मेयरको उम्मेदवार प्रदेश सांसद सुवेदीलाई बनाउने



चितवन ।

नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा प्रदेश सांसद विजय सुवेदीलाई उठाउने भएको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको उपस्थितिमा आइतबार बसेको एमाले महानगर कमिटीको विस्तारित बैठकले महानगरको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीले जानकारी दिए ।

महानगरको मेयरमा सुवेदीलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउने घोषणा गरिएको ज्ञवालीले बताए । मेयरको उम्मेदवारमा सुवेदीलाई निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका हुन् ।

यसअघि महानगरको मेयरको उम्मेदवारमा देवी ज्ञवालीको पनि चर्चा थियो । २०७४ को चुनावमा माओवादी केन्द्रकी रेनु दाहालसँग पराजित भएका ज्ञवालीले यस पटक विजय सुवेदीलाई नै मेयरको उम्मेदवारमा प्रस्ताव गरेका हुन् । उपमेयरको उम्मेदवारको घोषणा गरिएको छैन । उपमेयरमा एमालेले राप्रपासँग तालमेल गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्