शिक्षामा सुधार गर्न प्रधानाध्यापक र शिक्षकको भूमिका महत्वपूर्ण : मन्त्री पौडेल



काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान शुरू गरिने बताउनुभएको छ । उहाँले सो कुरा जुद्धोदय माविको ८३औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा आफ्नो धारणा राख्दै बताउनुभएको हो ।

मन्त्री पौडेलले आफू पनि सोही विद्यालयको पूर्वविद्यार्थी भएकाले व्यस्त समयका बाबजुद पनि उपस्थित भएको स्मरण गर्नुभयो । लामो शैक्षिक इतिहास बोकेको जुद्धोदय स्कुल सय वर्ष मात्रै नभई हजारौं वर्षको इतिहास रच्न सकोस् भनी शुभकामना पनि दिनुभयो । उहाँले सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रधानाध्यापक र शिक्षकको मुख्य भूमिका हुने उल्लेख गर्नुभयो ।

सार्वजनिक विद्यालय बचाउने र सुधार्ने जिम्मा प्रधानाध्यापक र शिक्षकको हातमा रहेको उहाँको भनाइ थियो । उहाँले शिक्षण पेसालाई मर्यादित बनायो भने शैक्षिक सुधारमा उल्लेख्य प्रगति हुने बताउनुभयो । उहाँले विद्यालयहरूलाई आवश्यक भौतिक पूर्वाधारहरु तयार पार्न लागिपर्ने बताउनुभयो ।

सामुदायिक विद्यालयले गरेका राम्रा कामहरू र थप सुधार गर्नुपर्ने केही पक्षहरुको तथा शिक्षा क्षेत्रमा सरकारले चाल्न लागेका कदमहरुको बारेमा उल्लेख गर्नुभएको थियो । कार्यक्रममा प्रधानाध्याक लक्ष्मण पौडेलले गुणस्तरीय शिक्षाका लागि आफ्नै पूरै टिम खटेर लागिपरेको बताउनुभयो । विद्यार्थीलाई हरतरहले शिक्षण सिकाइ सहजीकरण गरिरहेको प्रधानाध्यापक पौडेलको भनाइ थियो ।

कार्यक्रमको दोस्रो सत्रमा नजिकै आइरहेको एसईई परीक्षाका लागि कक्षा १० लाई शुभेच्छा, ११ लाई स्वागत तथा १२ लाई शुभकामना दिइएको थियो । निःशुल्क दन्त शिविर सञ्चालन गर्नुका साथै शिक्षक कर्मचारीलाई प्रशंसापत्र प्रदान पनि गरिएको थियो । शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जुद्धोदय उत्कृष्ट विद्यालयमा पर्दछ भनी सराहना गर्दै विद्यालयको हौसला बढाउनुभएको थियो । कुमारदेव मानन्धरको सभापतित्वमा सञ्चालित कार्यक्रममा शिक्षक तथा विद्यार्थीले छमछम नाची भरपुर मनोरञ्जन दिलाएका थिए ।

कार्यक्रममा कामपा शिक्षा समन्वय विभाग प्रमुख रामप्रसाद सुवेदी, शिक्षा अधिकृत तारापति खरेल, मोतीप्रसाद खनाल, शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी, हेरम्बराज कँडेल, नातिकाजी महर्जन, डा. जानुका नेपाल, गीता काफ्ले, पत्रकार, स्थानीय समाजसेवी बुद्धिजीवीहरू, विद्यालयका व्यवस्थापन समितिका सल्लाहकारलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्