अरिङ्गाल कस्तो हुन्छ अब चुनावमा देख्छन् : ओली

‘एमालेमा आएको जनलहरबाट गठबन्धन आत्तियो’



पर्वत ।

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(एमाले)को पक्षमा देशभर जनलहर देखिएको बताउनुभएको छ । नेकपा(एमाले) पर्वतले कुस्मा बजारमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हरेक जिल्ला र बस्तीमा एमालेको पक्षमा बढेको जनलहर देखेर गठबन्धनमा सामेल भएका दलहरू आत्तिन थालेको बताउनुभएको हो ।

‘देशभर एमालेको पक्षमा जनलहर बढी रहेको छ।’ अध्यक्ष ओलीले भन्नुभयो, – ‘एमालेको पक्षमा देखिएको जनलहरले गठबन्धनमा सामेल दलहरूको सातो गएको छ ।’ उहाँले पर्वतमा देखिएको जनलहरले पनि गठबन्धन गरेका दलको सातो गएको हुनुपर्छ भन्नुभयो । ओलीले देशैभर एमाले प्रवेश गर्ने लहर चलेको र घरमा पनि प्रवेश गराउनेका कारण एक छिन फुर्सद नभएको सुनाउनु भयो । पर्वतमा पनि अध्यक्ष ओलीले विभिन्न पार्टीका ५ सय भन्दा बढी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउनुभयो । ‘जनप्रतिनिधिहरु नै आफ्नो दल छाडेर एमाले रोजिरहेका छन।’ अध्यक्ष ओलीले भन्नुभयो ‘सबै नेपाली जनताहरू भ्रमबाट मुक्त हुँदै एमालेमा आबद्ध हुने क्रम अझै बढेर जानेछ।

पाँच दलीय गठबन्धनका विरुद्ध एमाले एक्लै काफी भएको चर्चा गर्दै अध्यक्ष ओलीले एमालेलाई अरिङ्गाल भनेर टिप्पणी गर्नेहरूले आगामी चुनावमा अरिङ्गाल के हो भनेर देखाइदिने बताउनुभयो । ‘गठबन्धनले एमालेको गुँड चलाउने प्रयास नगरे हुन्छ।’ उहाँले भन्नुभयो ‘हिजो हामीलाई अरिङ्गाल भन्थे, अरिङ्गाल कस्तो हुन्छ आगामी स्थानीय चुनावमा देखाइदिन्छौँ ।’

उहाँले एमालेलाई स्थानीय तहमा जिताउन सके मात्र विकास के हो ?, भन्ने जनताले देख्न पाउँछन् भन्नुभयो । एमालेले गरेका विकास निर्माणका कामको चर्चा गर्दै अध्यक्ष ओलीले एमालेको पालामा विकास कस्तो हुन्छ भनेर मध्य पहाडी लोक मार्गको कुस्मा खण्ड हेरे काफी हुन्छ भन्नुभयो । आफ्नो नेतृत्वको सरकारले गरेका राष्ट्र हितका कामबाट अत्तालिएर अदालत प्रयोग गरेर हटाउने काम गरेको दोहोर्‍याउनुभयो । ‘एमाले विकास गर्ने पार्टी हो, देश बनाउने पार्टी हो।’ अध्यक्ष ओलीले भन्नुभयो‘यो सबैको साझा पार्टी भएकाले सबैलाई स्वागत छ ।’

कुस्मामा रेलको स्टेसन बन्न सक्ने तर्क गर्दा त्यसलाई हाँसो मजाकको विषय बनाएको प्रति लक्षित गर्दै ओलीले रेल आउने कुरा धागो ताने जस्तो सजिलो छैन भन्नुभयो । ‘रेल आउन समय लाग्छ’ उहाँले भन्नुभयो, – ‘धागो ताने जस्तो उतिबेला नै तयार हुँदैन।’ आफ्नो सरकारका पालामा रेल खरिद गरी राखेको र अहिले चलेको बताउँदै अन्य रेलमार्ग, सुरूङ् मार्ग पनि क्रमशः बन्दै जाने अध्यक्ष ओलीको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्