भारतबाहेक विनोद चौधरी दक्षिण एसियाका एक्ला अर्बपति



काठमाडौं (नेस) ।

विश्वभरका धनीहरूका बारेमा सूची प्रकाशन गर्ने फोब्सले यो वर्ष पनि विश्वभरका डलर अर्बपतिको सूची सार्वजनिक गरेको छ ।
बुधबार सार्वजनिक सूचीअनुसार दक्षिण एसियामा भारत बाहेकका अर्बपति नेपालका विनोद चौधरीमात्र रहनुभएको छ । दक्षिण एसियाका देशमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपालमात्र परेका हुन् ।

दक्षिण एसियाका अन्य मुलुक श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानका कुनै पनि व्यवसायी अर्बपतिको सूचीमा परेका छैनन् । नेपालका एकमात्र डलर अर्बपति चौधरीको सम्पत्तिमा पनि वृद्धि भएको छ ।

फोब्सका अनुसार उहाँको सम्पत्ति गत वर्ष १ दशमलव ४ अर्ब डलर रहेकोमा यो वर्ष दश करोड डलरले वृद्धि भई १ दशमलव ५ अर्ब डलर पुगेको छ । व्यवसायी चौधरी फोब्सको सूचीमा १९२९ नम्बरमा हुनुहुन्छ । चौधरी २०१३ देखि अर्बपतिहरूको सूचीमा निरन्तर रहँदै आउनुभएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्यसमेत रहेका चौधरी पछिल्लो समय राजनीतिमा सक्रिय हुनुहुन्छ । एउटा व्यक्तिमात्र धनी हुँदैमा आफूलाई सन्तुष्टि नमिल्ने बताउँदै चौधरीले देशलाई आर्थिक रूपले समृद्ध बनाउन सक्दाको दिनमा मात्र वास्तविक आत्मसन्तुष्टि मिल्ने बताउनुभयो ।

‘मेरो सपना समृद्ध नेपाल निर्माण गर्ने हो’, चौधरीले भन्नुभयो–आफूसँग भएको ज्ञान र सिकेको सिप सबै नेपालीले देखेको देशको आर्थिक समृद्धिको सपना साकार पार्न प्रयोग गर्न सकौं भनेर नै म राजनीतिमा आएको हुँ ।

चौधरीको सन् २०१३ मा एक बिलियन डलर सम्पत्ति थियो । उक्त सम्पत्ति बढेर सन् २०१४ मा १ दशमलव १ बिलियन डलर पुग्यो । त्यस्तै, २०१५ मा १ दशमलव ३ बिलियन डलर पुग्‍यो । तर, २०१६ मा घटेर पुन १ दशमलव १ बिलियन डलरमा झरेको थियो ।

सन् २०१७ मा भने चौधरीको सम्पत्ति १ दशमलव ३ बिलियन डलर नै पुग्यो । त्यसैगरी सन् २०१८ मा १ दशमलव ५ बिलियन डलर पुगेको थियो । २०१९ मा १ दशमलव ७ बिलियन डलर पुग्‍यो ।

कोभिड–१९ का कारण सन् २०२० मा भने चौधरीको सम्पत्ति १ दशमलव ४ बिलियन डलरमा झरेको थियो । यो समयमा नेपालमा मात्र नभई विश्व नै कोभिडका कारण धर्मराएको थियो । त्यस्तै, सन् २०२१ चौधरीको सम्‍पत्ति १ दशमलव ५ बिलियन डलर पुगेको छ ।

यस्तै, उक्त सूचीका अनुसार दक्षिण एसियाको अर्को मुलुक छिमेकी भारत विश्वका धेरै अर्बपति रहेको मुलुकमध्ये तेस्रो भएको छ । भारतमा १ सय ६६ अर्बपति रहेका छन् भने अर्को छिमेकी चीनमा ५ सय ३९ अर्बपति रहेका छन् । सूचीको सबैभन्दा माथि रहेको अमेरिकामा अर्बपतिहरूको संख्या ७ सय ३५ रहेको छ ।

२९० दशमलव ३ अर्ब डलर सम्पत्ति रहेका एलन मस्क यस वर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्ति भएका छन् । यस्तै दोस्रो धनी जेफ बेसोजको सम्पत्ति १८९ शदमलव ८ रहेको छ भने बर्नाड र बिल गेट्स क्रमशः तेस्रो र चौथो धनी रहेका छन् । भारतका गौतम अदानी र मुकेश अम्बानी पहिलो दशको सूचीमा रहेका छन् । अदानी नवौं र अम्बानी दशौं नम्बरमा छन् ।

प्रतिक्रिया दिनुहोस्