सैनिक कल्याणकारी कोषको सम्पति ६४ अर्ब



सुर्खेत (नेस) ।

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक कल्याणकारी कोषको सम्पत्ति करिब ६४ अर्ब पुगेको जानकारी दिनुभएको छ । विसं २०३२ मा एक करोड २४ लाख एक हजारबाट स्थापना भएको सैनिक कल्याणकारी कोषको रकम माघ मसान्तसम्म आइपुग्दा ६३ अर्ब ९७ करोड २६ लाख ६० हजार पुगेको बताउनुभयो ।

राजदल गणमा आयोजित ‘भूतपूर्व सैनिक सम्मेलन’ उद्घाटन गर्दै प्रधानसेनापति शर्माले भूपू सैनिक तथा बहालवालाको जीवनस्तर उकास्न इन्भेस्टमेन्ट बैंकसँगको सहकार्यमा अघि बढाइएको सहुलियत कर्जा कार्यक्रमबाट हालसम्म ३१ हजार ५ सयभन्दा बढी हिताधिकारीसमेत लाभान्वित भएको उल्लेख गर्नुभयो ।

कल्याणकारी बोर्डको समन्वयमा हिताधिकारीका लागि बैंकले लघुवित्त कार्यक्रममा हालसम्म करिब छ अर्ब ७५ करोड रुपियाँ कर्जा प्रवाह गरिसकेको छ । कल्याणकारी कोषमार्फत आफ्ना हिताधिकारीका लागि शिक्षा, स्वास्थ्य, स्वरोजगार, सीप, सहुलियतजस्ता कार्यक्रममार्फत जीवनस्तर उकास्ने कार्यक्रमलाई सेनाले जोड दिँदै आएको छ ।

प्रधानसेनापति शर्माले लामो सैनिक जीवनबाट सेवा निवृत्त भएका भूपू समाजलाई दिएको योगदान खेर नजाने भएकाले सङ्गठनको ओज र गरिमा अभिवृद्धि गर्ने ढङ्गबाट समाज सेवामा लागेर उदाहरण प्रस्तुत गर्न सुझाव दिनुभयो ।

सम्मेलनमा ज्येष्ठ भूपू सैनक तथा एकल महिलालाई सम्मान, अशक्त तथा फरक क्षमता भएकालाई ह्विल चियर, लघुउद्यम व्यवसायीलाई प्रशंसापत्र र पुरस्कार वितरण तथा चारभन्दा बढी सन्तानलाई सेनामा पठाउने मातापितालाई सम्मान गरियो ।

कल्याणकारी कोषको दिगोपन, मितव्ययी र पारदर्शी प्रयोग गर्न सङ्गठन कटिबद्ध रहेको जनाउँदै सहभागी अन्य वक्ताले सेवासुविधालाई विस्तारित, विकेन्द्रित एवं परिणाममुखी तुल्याउने लक्ष्य बनाइएको जानकारी दिनुभयो ।

सम्मेलनलाई भूपू सैनिकले आफ्ना सहपाठीसँगको भेटघाट र औषधिमूलोका हिसाबले अभूतपूर्व जमघटका रूपमा लिने गरेका छन् । यसअघि दिपायल र धनगढीमा भूपूसैनिक सम्मेलन भइसकेको छ ।

मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनामा जीवनको महत्वपूर्ण क्षण बिताएका भूपू र एकल महिलाको संख्या करिब ८५ हजार छ । नेपाली सेनाको कल्याणकारी बोर्डको संयोजनमा हुँदै आएको सम्मेलनका यस वर्षको नारा ‘भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा : सेनाप्रतिको समर्पण र भरोसा’ भन्ने रहेको छ ।

सम्मेलनका अवसरमा हिताधिकारीलाई लक्षित गरी आयोजना गरिएको बृहत् स्वास्थ्यबाट ७ सयभन्दा बढी सेवाग्राही लाभान्वित भएको जानकारी दिइयो । सैनिक कल्याणकारी बोर्डका कार्यकारी अधिकृत गौरव तण्डुलले गौरवमय इतिहास र विशिष्ट परम्परा बोकेको नेपाली सेना आफैंमा एउटा मर्यादित, अनुशासित, सशक्त र उत्कृष्ट संस्था भएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘कल्याणकारी कोषको अभिवृद्धि गर्ने, नयाँ चिन्तनसहित गति ल्याउने, लगानीका सम्भावित क्षेत्रको पहिचान गर्ने, कार्यक्रमलाई विकेन्द्रीकरण गरी सेवालाई घरदैलोसम्म पुर्याउन हरहमेसा प्रयत्न भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्