संविधान र व्यवस्था बचाउन गठबन्धन : भट्टराई



बुटवल ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान र व्यवस्था बचाउन गठबन्धन गरेको बताउनुभएको छ । गठबन्धनका लागि उहाँले सम्मानजनक सिट चाहिने पनि बताउनुभयो । ‘बेइमानी, हेप्ने र चेप्ने काम भयो भने गठबन्धनको विकल्प सोच्छौं’ –भट्टराईले भन्नुभयो । देशलाई विकल्प दिने गरी भर्खरै बनेको भविष्यमुखी जनता समाजवादी पार्टी हो भन्दै उहाँले २०७४ सालको मतको आधारमा पद बाँड्ने कुरा स्वीकार्य नहुने उहाँले बताउनुभयो ।

सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच २०७४ सालको मतका आधारमा स्थानीय चुनावको सिट बाँडफाँट आफ्नो दललाई मान्य नहुने बताउनुभएको छ । रूपन्देहीको शुद्धोधनमा सोमबार आयोजित पार्टी प्रवेश एवं आम सभालाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले आफ्नो पार्टी २०७८ सालमा बनेकाले २०७४ सालको मतका आधारमा हुने बाँडफाँट स्वीकार्य नहुने बताउनुभयो ।

नेता भट्टराईले पुराना दल र नेताहरूबाट देश विकास सम्भव नभएको तर्क गर्दै नयाँ परिणामका लागि वैकल्पिक पार्टीलाई रोज्न आग्रह गर्नुभयो । पुराना दलहरू राजनीतिक व्यापारी र ठग भएको आरोप लगाउँदै भट्टराईले आफ्नो दल राजनीतिक व्यापारी र ठग नभएको दाबी गर्नुभयो । अध्यक्ष भट्टराईले पुराना पार्टीले चुनाव जित्दा सिंहदरबारमा मात्रै रहेको भ्रष्टाचार सातै प्रदेश र गाउँगाउँसम्म पुगेको टिप्पणी गर्नुभयो । भ्रष्टाचार रोक्न र संविधानको अपूर्णतालाई पूर्ण बनाउन संविधान संशोधन अपरिहार्य रहेको भट्टराईको कथन थियो ।

राजनीतिक स्थिरता र सुशासनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक संसद्को व्यवस्थामा जानुपर्नेमा भट्टराईले जोड दिनुभयो । आमसभामा जसपा कार्यकारिणी समिति सदस्य एवं संघीय सांसद मोहम्मद इस्तियाक राईले जनयुद्ध, जनआन्दोलन, मधेस र जनजाति आन्दोलन एवं पहिचान र अधिकारको लडाइँको नेतृत्व गरेका नेताहरूको पार्टी जसपा भएकाले आउने तीनवटै तहको चुनावमा पार्टी निर्णायक शक्ति बन्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्