२३ लहर समूहका ७७ प्रकारका मतपत्र छापिने



काठमाडौं ।

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि २३ लहर समूहका ७७ प्रकारका मतपत्र छपाइ गर्ने भएको छ । आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाइ हुने जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचनका लागि मतदाता नामावलीअनुसार कुल मतदाता संख्यामध्ये महिला मतदाता ८७ लाख ४१ हजार ५ सय ३०, पुरुष मतदाता ८९ लाख ९२ हजार १० र र १ सय ८३ अन्य मतदाता रहेका छन् । प्रवक्ता पौडेलका अनुसार डोल्पाको सबैभन्दा कम अर्थात् १६ लहरका मतपत्र र काठमाडौंको सबैभन्दा बढी ५६ लहरका मतपत्र हुनेछ ।

राष्ट्रिय मान्यता प्राप्त ६ दलसहित साना दल गरी ७९ दलले स्थानीय चुनावमा भाग लिनेछन् भने आयोगले साना दललाई पनि उनीहरूले नै प्रयोग गर्दै आएको चुनाव चिन्ह दिने जनाएको छ । आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि आवश्यक मतपत्र छपाइ कार्य जनक शिक्षा सामग्री केन्द्रमा जारी रहेको पनि जनाएको छ ।

त्यस्तै, आयोगले निर्वाचन तथा मतदाता निर्देशिका, निर्वाचन तालिम व्यवस्थापन सञ्चालन निर्देशिका र मतदान निर्देशिका २०७८ तथा मतगणना निर्देशिका २०७८ आयोगबाट स्वीकृत भई कार्यान्वयनमा आएको जनाएको छ ।

यसैबीच, निर्वाचन आयोगले दर्ता भएका सबै दललाई स्थानीय तहको निर्वाचन आचारसंहितामा प्रतिबद्धता जनाउन मंगलबार आयोगमा बोलाएको छ । गत चैतमा निर्वाचन आचारसंहिता स्वीकृत भई राजपत्रमा समेत प्रकाशित भइसकेको छ । प्रतिबद्धतापछि आयोगले केही दिनमै आचारसंहिता लागु गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्