मुलुकको दीर्घ शान्तिका लागि गठबन्धन : गृहमन्त्री खाँण



तनहुँ ।

गृहमन्त्री बालकृष्ण खाँणले लोकतान्त्रिक मूल्य मान्यतामाथि प्रहार भइरहेको अवस्थामा देश, लोकतन्त्र र संविधान बचाउन गठबन्धन गरिएको बताउनुभएको छ । तनहुँ उद्योग वाणिज्य संघद्वारा आयोजित आठौं तनहुँ महोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले गठबन्धन चुनाव जित्नका लागि मात्र नभएर मुलुकको संरक्षणका लागि गठबन्धन गरिएको प्रस्ट पार्नुभएको छ ।

उहाँले भन्नुभयो– ‘गठबन्धनको उपलब्धि भनेको सरकार मात्रै होइन, मुलुकको दीर्घ शान्ति हो, गठबन्धन वैचारिक आधारबिना मात्र हुन्छ भन्ने छैन ।’ सशस्त्र आन्दोलनको समयमा शान्ति सम्झौता भएर गठबन्धन अझ बलियो भएको उहाँको भनाइ छ ।

‘लोकतान्त्रिक मूल्य माध्यतामाथि प्रहार भएको कारणले संविधानको रक्षा गर्न, लोकतान्त्रिक मूल्य पद्दति, नागरिक अधिकारको रक्षा गर्न, स्वतन्त्र पत्रकारिताको रक्षा गर्न र मानवअधिकारको रक्षा गर्न सम्पत्ति नागरिकको अधिकार स्थापित गर्नका लागि यो गठबन्धन गरिएको हो, मुलुक र संविधानको संरक्षण गर्नका लागि गठबन्धन गर्न आवश्यक छ, त्यसैले गठबन्धन गरिएको हो,’ –मन्त्री खाँणले भन्नुभयो ।

गृहमन्त्री खाँणले नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व भएको बताउँदै कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भनेर सरकार गम्भीर रहेको बताउनुभयो । सीमित स्रोत र साधनका बाबजुद पनि सुरक्षा निकायले गम्भीरतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको उहाँको भनाइ थियो ।

उद्योगी व्यवसायीको संरक्षणका लागि सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री खाँणले भन्नुभयो– ‘उद्योगीको सुरक्षाका लागि गम्भीर र संवेदनशील छौं । रोजगारी वृद्धि गरी अर्थतन्त्र चलायमान बनाउन व्यवसायी गतिशील बन्नुपर्छ । जनतालाई सम्पन्न र सरकारलाई सक्षम बनाउन उद्योगी व्यवसायीको भूमिका छ ।’

खानेपानी मन्त्री उमाकान्त चौधरीले तोकिएकै मितिमा चुनाव गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै मुलुक निर्वाचनको तयारीमा जुटिसकेको बताउनुभयो । हरेक नेपालीलाई स्वच्छ खानेपानी पु¥याउन सरकार प्रतिबद्ध रहेको मन्त्री चौधरीको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले हरेक वडामा कृषि उपज बजारीकरणका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्