एमालेको पार्टी कार्यालय सर्ने



काठमाडौं, (नेस) ।

नेपाल कम्युनिस्ट पार्टी एमालेको पार्टी कार्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । हाल थापाथलीमा रहेको पार्टी कार्यालय साँधुरो भएकाले तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्न लागेको हो ।

पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले सोमबार नयाँ वर्षका अवसरमा आगामी वैशाख १ गते पार्टी कार्यालय सर्ने जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालय सञ्चालनका लागि पार्टीले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको पूरै भवन भाडामा लिएको छ । एक वर्षअघि मात्र एमालेको पार्टी कार्यालय धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानबाट थापाथलीमा सरेको थियो ।

नयाँ भवनमा ७३ कार्यकक्ष निर्माण भइरहेको छ । जसमा पार्टी पदाधिकारी, आयोग र विभागका लागि छुट्टाछुट्टै कार्यकक्ष बनाउन थालिएको छ । अधिकारीका अनुसार नयाँ भवनमा एक ठूलो सभा हल र तीन सभाकक्ष रहनेछ । पार्टी केन्द्र्रीय कमिटी बैठक बस्नका लागि ५०० जना क्षमताको ठूलो हल निर्माण गरिएको छ ।

विसं. २०७२ मा गएको भूकम्पले बल्खुमा रहेको पार्टी कार्यालय भत्किएपछि एमाले पार्टी कार्यालय धुम्बाराहीमा रहेको पासाङल्हामु स्मृति प्रतिष्ठानको भवनमा सरेको थियो ।

प्रतिक्रिया दिनुहोस्