यसपालि पनि कक्षा १२ को प्रश्नपत्र अनलाइनबाट



काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले जेठ १६ देखि हुने कक्षा १२ को परीक्षामा देशैभर अनलाइनबाट प्रश्नपत्र पठाउने भएको छ । बोर्डले गएको वर्षको परीक्षामा अनलाइनबाट प्रश्नपत्र पठाउँदा कुनै समस्या नभएको र सहज रूपमा परीक्षा सम्पन्न गर्न सफल भएको मूल्याङ्कन गर्दै यो वर्षको परीक्षामा पनि अनलाइनबाट प्रश्नपत्र पठाउने निर्णय गरेको हो।

बोर्डले आफ्ना सबै प्रदेश परीक्षा कार्यालयलाई पत्राचार गरी इन्टरनेट, विद्युत्, इन्भर्टर वा जेनेरेटर सुविधा, प्रिन्टर भएका विद्यालयलाई मात्र परीक्षा केन्द्र कायम गर्न निर्देशन दिएको छ। रापबोर्डका अध्यक्ष डा. महाश्रम शर्माले सोमबार नेपाल समाचारपत्रसँग कुरा गर्दै खर्च कटौती गर्दै परीक्षालाई व्यवस्थित गर्न अनलाइनमार्फत प्रश्नपत्र पठाउने व्यवस्था गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘विगत वर्षको अनुभवलाई कार्यान्वयन गर्न सबै केन्द्रमा अनिवार्य रूपमा अनलाइन प्रश्नपत्र पठाउने निर्णय गरेका हौं।’

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार परीक्षामा आंशिकसमेत गरी ४ लाख २५ हजार परीक्षार्थी सहभागी हुनेछन्। उहाँका अनुसार करिब १ हजार २ सय परीक्षा केन्द्र कायम गरिनेछ। बोर्डले कोभिड महामारीका कारण गएको वर्ष होमसेन्टर कायम गर्दा ४ हजार ३ सय विद्यालयमा अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरेको थियो।

बोर्डका अध्यक्ष डा. शर्माले धेरै विद्यार्थी हुँदा प्रश्नपत्र छापेर वितरण गर्दा समस्या देखिने भएपछि बढीमा ३ सय मात्र विद्यार्थी रहने गरी केन्द्र कायम गर्न आग्रह गरिएको जानकारी दिनुभयो। तर, इन्टरनेट, प्रिन्टर, व्यवस्थित कक्षाकोठा र धेरै विद्यार्थी अट्न सक्ने विद्यालयमा उपकेन्द्र कायम गर्ने तयारी गरी बोर्डले सबै प्रदेश कार्यालयलाई आग्रह गरिसकेको छ। उपकेन्द्रमा विद्यालयका प्रधानाध्यापक केन्द्राध्यक्ष हुने व्यवस्था छ भने अन्य शिक्षकलाई सहायक केन्द्राध्यक्षको जिम्मेवारी दिएर उपकेन्द्र कायम गर्ने तयारी गरेको छ।

गएको वर्ष आधा घण्टाअघि मात्र प्रिन्ट गर्ने व्यवस्था गर्दा परीक्षामा ढिलाइ हुन गएकाले बोर्डले परीक्षा हुनुभन्दा करिब १ घण्टा अगावै प्रश्नपत्र प्रिन्ट गर्न मिल्ने व्यवस्था गर्न लागेको छ। बोर्डले सबै केन्द्रमा केन्द्राध्यक्षले मात्र हेर्न मिल्ने गरी पासवर्ड उपलब्ध गराउने र सोही पासवर्डको आधारमा प्रश्नपत्र छापेर वितरण गर्ने व्यवस्था गरेको छ। परीक्षा जेठ १६ देखि २५ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्