पर्वतमा पाँच दलको चुनावी तालमेल, पालिका विभाजनमा सकस



पर्वत ।

पर्वतका पाँचवटा राजनीतिक दलले जिल्लाका सातवटै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गर्ने निर्णय गरेका हुन् ।

सोमबार राजनैतिक दलहरूले पत्रकार सम्मेलन गरेर चुनावमा साझा उम्मेदवार बनाएर जाने सहमति सार्वजनिक गरेका थिए । नेपाली कांग्रेसका सभापति युवराज जोशीको अध्यक्षतामा भएको पाँच दलीय गठबन्धनको बैठकले पालिका र वा तहमा नै साझा उमेदवार तय गर्ने सहमति गरेको नेपाली कांग्रेसका सभापति युवराज जोशीले बताउनुभयो । गठबन्धनले चुनावी तालमेल गर्न जिल्लास्तरीय संयन्त्र समेत निर्माण गरेको छ । संयन्त्रमा नेपाली कांग्रेसबाट युवराज जोशी, नेकपा माओवादी केन्द्रबाट केशव कुवँर, नेकपा (एकीकृत समाजवादी) बाट मोतीप्रसाद पौडेल, जनता समाजवादीबाट ढाकाराम गौतम र राष्ट्रिय जनमोर्चाबाट गोविन्द पौडेल रहेका छन् ।

यसै गरी, जिल्लामा मात्रै नभई सबै निर्वाचन क्षेत्र, पालिका र वडा तहमा समेत संयन्त्र बनाउने निर्णय गठबन्धनमा सामेल दलहरुले गरेका छन् । यस्तो संयन्त्रमा सबै तहका सम्बन्धित पार्टीका प्रमुख वा प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।

पर्वत जिल्लामा २०७४ सालको स्थानिय निर्वाचनमा जिल्ला समन्वय समितिसहित फलेबास नगरपालिका, मोदी, बिहादी र महाशिला गाउँपालिका तथा ६१ मध्ये ३७ वडामा एमाले विजयी भएको थियो । कुस्मा नगरपालिका, जलजला र पैंयु गाउँपालिकासहित २० वडामा नेपाली कांग्रेस विजयी भएको थियो भने माओवादी केन्द्रले चार वडामा जित हासिल गरेको थियो ।

गठबन्धनमा सामेल दलहरुका बीचमा चुनावमा वडा तहमा तालमेल गर्ने निर्णय गरे पनि कार्यान्वयन गर्न भने कठिन देखिएको छ । नेपाली कांग्रेसले आफूले जितेका सबै पालिकाको नेतृत्व आफंैले गर्ने तथा एमालेले जितेका पनि दुई पालिकामा दाबी गरेको छ । माओवादी केन्द्रले कम्तीमा दुई पालिका र अन्य पालिकामा उपमेयरको दाबी गरेको छ । एकीकृत समाजवादीले एक पालिकामा प्रमुख र दुई पालिकामा उपमेयरको दाबी गरेको छ ।

एकीकृत समाजवादीले फलेबासको प्रमुख मागेको छ भने माओवादीले मोदी, जलजला र पैंयुमा पालिकाको नेतृत्व पाउनुपर्ने दाबी गरेको छ । मोदीमा माओवादीलाई छाड्न र फलेबासमा समाजवादीलाई छाड्न कांग्रेसका केही नेता सहमत भए पनि स्थानीय नेतृत्व भने कुस्मा, जलजला र पैंयु तथा फलेबास र बिहादीमा कुनै पनि हालतमा माओवादी वा समाजवादीलाई दुवै पद छाड्न तयार भएका छैनन् ।

गठबन्धनमा सामेल दल नेपाली कांग्रेसमा आन्तरिक रूपमा उम्मेदवार चयन गर्ने र पार्टीभित्रका विरोधी पक्षलाई उम्मेदवार सिफारिस गर्न नदिने गरी घेराबन्दीमा लागेका बेला तालमेल कार्यान्वयन झनै कठिन बन्ने देखिएको छ । कांग्रेसमा कुस्मामा रामचन्द्र जोशी र सीता काफ्ले, जलजलामा रामकृष्ण मल्ल तथा फलेबासमा राधा कुँवरलाई उम्मेदवार बन्नबाट रोक्ने गरी सिफारिसमा नै घेराबन्दी भइरहेको कांग्रेसका कार्यकर्ता बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्