एनटीसीको अल नेट डे भ्वाइस प्याक सार्वजनिक



काठमाडौं (नेस) ।

नेपाल टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्यका अल नेट भ्वाइस प्याक उपलब्ध गराउने भएको छ । हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका अननेट भ्वाइस प्याक कायम राख्दै तिनमा थप सुविधासहित किफायती मूल्यमा विभिन्न प्रकारमा अल नेट भ्वाइस प्याक उपलब्ध गराउन लागेको हो ।

यसका साथै सेवाग्राहीहरूको चाहनालाई ध्यानमा राख्दै कम्पनीले उपलब्ध गराइरहेका विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सीयूजी प्याकहरूलाई अझै ग्राहकमैत्री र आकर्षक बनाइएका छन् । नयाँ व्यवस्थाअनुसार जुनसुकै नेटवर्कमा ५ सय मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक २६५ मा र १ हजार २ सय मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक ५ सय ५० मा उपलब्ध गराइएको छ ।

यसै गरी बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट डे भ्वाइस प्याक र राती १० बजेदेखि बिहान ७ बजेसम्म जुनसुकै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट नाइट प्याक २५ रुपियाँमा खरिद गर्न सकिने एनटीसीले जनाएको छ । साथै, आवश्यकताअनुसार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२ मा ३० मिनेट र १५ मा १२० मिनेट जुनसुकै नेटवर्कमा कुराकानी गर्न सकिने अल नेट डे भ्वाइस प्याक पनि उपलब्ध हुनेछ ।

कम्पनीले उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याक थप आकर्षक बनाइएका छन् । ५ सय ९९ मा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा २५० मिनेट कुराकानी गर्न सकिने सुविधा थप गरिएको छ ।

अब ५ सय ९९ मा कम्पनीको नेटवर्कमा असीमित कल गर्न र अन्य नेटवर्कमा २ सय ५० मिनेट कल गर्न वा प्रतिदिन १ जीबी डाटा चलाउन सकिने छ । साथै, ७९९ मा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा ५ सय मिनेट कुराकानी गर्न सकिने र २ सय वटा सन्देश पठाउन सकिने व्यवस्था छ ।

यो प्याकमा प्रतिदिन १ जीबी डाटासमेत चलाउन सकिने कम्पनीले जनाएको छ । ९९९ र १४९९ का प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अबदेखि अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने (अल नेट अनलिमिटेड) सुविधा उपलब्ध हुनेछ । त्यसै गरी यी प्याकमा क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा ४ सय वटा र १ हजार वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यी प्याकहरू पोस्टपेड मोबाइलमा ३० दिन र प्रिपेड मोबाइलमा २८ दिनका लागि उपलब्ध हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्