चैत २३ गतेदेखि स्टक क्लियरेन्स मेला आयोजना हुँदै



काठमाडौं (नेस) ।

चैते दशैंको अवसर पारेर चैत २३ गतेदेखि राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । इभेन्ट सोलुसन प्रालिले आयोजना गर्न लागेको मेलाको तयारी भइरहेको आयोजक संस्थाले जनाएको छ ।

चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनि स्वदेशी तथा विदेशी सामानहरू खरिद गर्न सक्नेगरी मेला आयोजना हुन लागेको हो । अधिक रुचाइएको यो मेला वर्षेनी आयोजना हुँदै आएकोमा पछिल्लो वर्ष कोरोना महामारीका कारण आयोजना हुन सकेको थिएन ।

‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ आयोजना हुने स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुनेछ । एक्स्पोमा चैते दशैंका साथै दैनिक उपभोगका लागि आवश्यक सबै किसिमका सामग्रीहरूको कारोबार हुने आयोजक संस्था इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताउनुभयो ।

एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्यान्ड र जापानका उत्पादन तथा प्रदर्शकहरूको सहभागिता रहनेछ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफरसमेत रहने आयोजकले जनाएको छ ।

‘मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामग्री, छालाका उत्पादनहरू, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्यान्डीक्राफ्ट, इलेक्ट्रोनिक्सलगायत सामग्रीका सयभन्दा बढी स्टलहरू रहने छन्’ –इभेन्ट सोलुसन प्रालिका बजार निर्देशक नवीन भट्टले भन्नुभयो ।

सम्पूर्ण उपभोग्य सामग्रीहरू एकै ठाउँबाट विशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरू सञ्चालन गरिनेछ । छाला जुत्ता तथा वस्तुहरूको मेलामा विशेष सहभागिता रहनेछ ।

मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरू सामान किन्न आउने र बिक्रेताहरूको पनि राम्रो जमघट हुने विश्वास इभेन्ट सोलुसनले लिएको छ । ‘सपिङ गर्न उपभोक्ताहरू बजारमा धेरै भौंतारिनु पर्ने अवस्था नहोस् भन्न एउटै छानामुनि क्लियरेन्स मेला आयोजना गर्न लागेका हौं ।’ इभेन्ट सोलुसन प्रालिका अध्यक्ष सुनिल भण्डारीले बताए ।

६० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्दै आफूलाई आवश्यक पर्ने वस्तु खरिद गर्ने आँकलन इभेन्ट सोलुसनको छ । वर्षेनी आयोजना हुँदै आएको एक्स्पोको यो संस्करणबाट व्यवसायी तथा उपभोक्ता दुवै लाभान्वित हुने विश्वास लिइएको छ । स्टक क्लियरेन्स मेला चैत २७ गते चैते दशैंका दिनसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्