नांगो राजनीति



राजनीति सत्ताका लागि गरिन्छ, यसमा आशंका छैन । व्यापार पैसाका लागि गरिन्छ, त्यो पनि यथाथे हो तर, व्यापारीले भन्नेगर्छ– म उपभोक्ताको सेवा गरिरहेको छु । कम्तिमा उसले व्यापारलाई सिद्धान्तको आवरणले सिंगार्छ । तर राजनीति साँच्चिकै आवरणविहीन भयो, नांगो देखियो । निर्वाचनको मुखमा आएर दलबदलको लहर ल्याउने काम जो देखिएको छ, त्यसले केबल कोसँग लाग्यो भने निर्वाचनमा उम्मेदवारको टिकट पाइएला र चुनाब जितिएला भन्ने स्वार्थ मात्र हो, सेवा र सिद्धान्तको कुनै अस्तित्व त्यहाँ देखिन्न ।

स्थानीय निर्वाचनको मिति जति नजिकिदै छ उति दल अदल–बदल गर्ने क्रमले तीव्रता पाउँदै छ । दिनहँुंजस्तो ठूला दलका शीर्ष नेता पार्टी प्रवेश गराउने कार्यक्रममा व्यस्त हुनथालेका छन् । अवसरको खोजीमा रहेकाहरु आफ्नो पार्टीले महत्व नदिएपछि पार्टी परिर्वतन गर्ने र अवसर लिने लालसाले पार्टी परिर्वतन गरिरहेका छन् । दलमा निष्ठा र सिद्धान्त हराएपछि सबै दल नामले मात्र फरक बन्नपुगेका छन् । नेता तथा कार्यकर्ता अवसरको खोजीमा अन्य पार्टी प्रवेश गर्ने र अवसर लिने क्रम बढेको छ । दलहरुले पार्टीको नीति र सिद्धान्तको बारेमा कार्यकर्तालाई बुझाउन नसक्दा ‘कम्युनिष्ट’ दर्शनधारीहरु कांग्रेस पार्टी प्रवेश गर्ने र ‘प्रजातान्त्रिक’ बिचारधारा बोकेका नेता तथा कार्यकर्ता कम्युनिष्ट पार्टी प्रवेश गर्ने गरिरहेका छन् । यी दुई फरक बिचारधारा बोकेका नेता तथा कार्यकर्ता नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर अवसरको खोजीमा अर्को पार्टी प्रवेश गर्ने क्रमले नेपालमा पार्टीहरुको नीति र सिद्धान्त नै स्खलित भएको प्रमाणित गरेको छ । दलका नेताहरुले जबसम्म आफ्नो नीति र सिद्धान्तको बारेमा नेता कार्यकर्तालाई बुझाउन सक्दैनन् तबसम्म दल अदलबदल गर्ने क्रमले निरन्तरता पाउने निश्चितप्रायः छ । एउटा पार्टी छोडेर अर्को पार्टीमा प्रवेश गर्ने बित्तिकै उम्मेदवारीको अबसर आउने भएकै कारण यो विचलित व्यवहार देखाइरहेका छन् । लामो समयदेखि पार्टीको नीति र सिद्धान्तलाई बोकेर हिड्ने कार्यकर्ता सधैं पछिपर्ने र अवसर खोजेर पार्टीभित्र आउनेहहरु छनोटमा पर्ने क्रमको अन्त्य नभएसम्म यस्ता गतिविधिले निरन्तरता पाउने निश्चित छ । जनाधार नभएका नेता तथा कार्यकर्ताले दल अदलबदल गर्ने बित्तिकै उसलाई समेत अवसर दिने प्रवृत्ति घातक देखिन्छ । यस्ता क्रियाकलापले दल–दलबीच बैमनस्यता बढाउनुको साथै मुलुकको सामाजिक, आर्थिक र राजनीतिक सुधारमा समेत असर पर्ने देखिन्छ ।

अवसरवादी चरित्र बोकेका व्यक्ति भोलि आफूले भनेजस्तो पद नपाएपछि त्यो पार्टी पनि छोडेर अवसरको खोजीमा अर्को पार्टी प्रवेश गर्ने क्रम बढ्ने भएकाले दलहरुले सोच्ने बेला आइसकेको छ । अवसवादी चरित्र बोकेका व्यक्तिहरु पार्टीका लागि भरोसायोग्य नहुने भएकाले दलहरुले क्षणिकभन्दा पनि दीर्घकालीन फाइदा हेर्न जरुरी हुन्छ । मुलुककै जनसंख्या जति कुनै अमुक पार्टीमा प्रवेश गरेको अफबाह फैलाएर जनतालाई दिग्भ्रमित पार्ने कामबाट दलहरु जोगिनुपर्दछ । तत्कालभन्दा पनि त्यस्ता कार्यले दीर्घकालमा कस्तो असर पार्छ भनेर सोच्ने बेला आइसकेको छ । सिद्धान्त र व्यवहारले नै एक दल अर्कोसँग फरक भएको देखिनुपर्छ, जनताले त्यसको पहिचान गर्न पाउनुपर्छ । अन्यथा आगामी दिनमा राजनीति अझ बढी नांगिने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्