‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित

0
Shares

काठमाडौं ।

सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भय रहित रूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षता बिहीबार बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो ।

‘सुरक्षा समिति बैठकले निर्वाचनका लागि आवश्यक पर्ने एकीकृत सुरक्षा नीति पारित गरेको छ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भन्नुभयो, ‘अब निर्धारित स्थानीय तह निर्वाचन र अन्य निर्वाचन पनि त्यही सुरक्षा नीति अनुरुप सम्पन्न गर्न सजिलो हुन्छ । निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न नीतिले सहयोग पुर्याउँछ ।’

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र निर्वाचन सम्पन्न गर्न गर्नुपर्ने कार्यबारे धारणा राख्नुभएको थियो । ‘बैठकमा आगामी सुरक्षा चुनौति र ती चुनौतिको सम्बोधन गर्न अपनाउनुपने रणनीतिबारे सदस्यहरूले धारणा राख्नुभयो,’ प्रवक्ता पोखरेलले भन्नुभयो ।

बैठकमा शुक्रबारबाट हुन लागेको चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमणमा सुरक्षाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भएको छ । बैठकमा गृहमन्त्री खाणले चिनियाँ विदेशमन्त्री वाङको भ्रमणका बेलामा आवश्यक सुरक्षा व्यवस्था प्रदान गर्न सुरक्षा प्रमुखहरूलाई निदेर्शन दिनुभएको थियो । भ्रमण शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आफूहरूले कार्ययोजना बनाएको सुरक्षा प्रमुखहरूले बैठकमा बताउनुभएको थियो ।

गृहमन्त्री खाणको अध्यक्षतामा भएको बैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुनाथ खरेल, गृहप्रवक्ता पोखरेलसहितको सहभागिता थियो ।