चुनाव जित्ने ओलीको १८ बुँदे आधार



काठमाडौं ।

केन्द्रीय कमिटीको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको १५ पृष्ठको राजनीतिक प्रतिवेदनमा स्थानीय तहको निर्वाचनमा जित्ने आधार प्रस्तुत गरिएको छ । ओलीले आफू नेतृत्वको सरकारले गरेको कामहरूको विवरण प्रस्तुत गर्दै चुनाव जित्नका लागि १८ बुँदे आधार प्रस्तुत गर्नुभएको छ ।

सिके राउत समूह र विप्लव समूहसँग वार्ता, पृथकतावादको अन्त्य र हिंसाको शान्तिपूर्ण अवतरणजस्ता राजनीतिक समस्याको समाधानमा आफ्नो सरकारले ठूलो सफलता हासिल गरेकोे प्रतिवेदनमा उल्लेख छ । पार्टीका सही सिद्धान्त, कार्यदिशा, नीति र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा खेलेको प्रभावकारी भूमिका, राष्ट्रको पहिचान, भूमिका र प्रतिष्ठा अभिवृद्धिका लागि गरेको असाधारण योगदान दिएको भन्दै प्रतिवेदनमा समावेश गरिएको छ ।

केन्द्र, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्दा विकास र समृद्धिका क्षेत्रमा खेलेको महत्वपूर्ण भूमिका, प्राप्त गरेका उपलब्धि र तिनले समाजमा ल्याएको परिवर्तन, स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन पार्टीले २०४७ सालदेखि नै खेलेको भूमिका, राज्यका हरेक अंगमा न्यूनतम एक तिहाइ महिला सहभागिताका लागि पार्टीको नेतृत्वदायी योगदान जितको आधार भएको प्रविदेनमा भनिएको छ ।

त्यसै गरी नेपालको संविधान निर्माणका क्रममा तीन तहको संघीय ढाँचा र स्थानीय तहलाई संवैधानिक प्रत्याभूति दिन पार्टीले खेलेको भूमिका, एमाले नेतृत्वको सरकारले स्थानीय तहलाई प्रभावकारी बनाउन गरेको वित्तीय, कानुनी र प्रशासनिक योगदानका साथै प्रत्येक पालिकामा आधारभूत अस्पताल, प्रशासनिक भवन, प्रत्येक पालिका र केन्द्र जोड्ने सडक, प्रत्येक निर्वाचन क्षेत्र जोड्ने रणनीतिक सडकलगायत कार्यक्रम एमालेको जितको आधार भएको प्रतिवेदनमा दाबी गरिएको छ ।

तराईका जिल्लामा सघन शहरी विकास कार्यक्रम र तराई–मधेस समृद्धि कार्यक्रममार्फत गरिएको लगानी एवं सुनकोशी–मरिन र भेरी–बबई डाइभर्सन जस्ता रूपान्तरणकारी योजनाको थालनी, ‘एक घर एक धारा’, खरको छाना विस्थापन, भूमिहीनलाई आवासलगायत सरकारका जनमुखी कामहरू लिएर चुनावमा जाने ओलीले बताउनुभएको छ । पार्टीले विजय हासिल गरेका स्थानीय तहमा हासिल उपलब्धि र महत्वपूर्ण काम, भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, जयनगर–जनकपुर–कुर्था, पूर्व–पश्चिम रेलमार्ग निर्माणलगायत पूर्वाधार विकासमा दूरगामी महत्वपूर्ण रणनीतिक योजनाहरूको थालनी आफ्नो नेतृत्वको सरकारले शुरू गरेको बताउँदै ओलीले संघीय संरचना र नयाँ प्रणालीको संस्थागत विकासका लागि गरिएका योजनाबद्ध कामहरू चुनावमा जाने एजेन्डा भएको बताउनुभएको छ ।

प्रतिवेदनमा एमाले नेतृत्वको सरकारले शुरू गरेको सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै नागरिकको जीवनचक्रमाथि आधारित सामाजिक सुरक्षाको अवधारणा विकास, स्वास्थ्य बीमा, योगदानमाथि आधारित सामाजिक सुरक्षालगायत महत्वपूर्ण कामहरूको थालनी, महामारी र प्राकृतिक विपत्तिका विरुद्ध आफ्नो सरकारले खेलेको प्रभावकारी भूमिका, भूकम्पपछिको पुनर्निर्माणमा सरकारले हासिल गरेको असाधारण सफलता चुनाव जित्नेका आधारको भएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्