धुलिखेलमा एमाले नेता भित्र्याउँदै कांग्रेस



काभ्रे ।

१४औँ अधिवेशन लगत्तै सङ्गठन सुदृढीकरणका साथ निर्वाचन केन्द्रित भएको नेपाली कांग्रेसले धुलिखेल नगरपालिकामा प्रमुख प्रतिस्पर्धी दल नेकपा एमालेमा ‘भूकम्प’ आउने गरी एमालेका नेताहरूलाई आफ्नो पार्टीमा भित्र्याएको छ । अघिल्लो निर्वाचनमा प्रमुख, उपप्रमुख सहित १२ वडा मध्य तीन वटा वडामा मात्र थोरै मतान्तरले नेतृत्व लिन सफल कांग्रेसले एमालेका प्रभावशाली नेताहरूलाई पार्टी प्रवेश गराएर वैशाख ३० को निर्वाचन जित्ने सुनिश्चितता बढाएको छ ।

धुलिखेल नगरमा कांग्रेसको साख फर्काउन दुई महिना अघि देखि सङ्गठन विस्तार र परिचालनमा लागेको कांग्रेसले पछिल्लो समय पार्टी प्रवेशलाई पनि प्राथमिकता दिएको छ । अघिल्लो हप्ता एमालेका ८ नम्बर वडा अध्यक्ष सहित दर्जनौँ नेतालाई आफ्नो पार्टीमा प्रवेश गराएको कांग्रेसले बुधवार वडा नं ९ का प्रभावशाली नेता रामकृष्ण हुमागाईँ लगायत दर्जनौँ एमालेका नेतालाई पनि काग्रेस प्रवेश गराएको छ ।

अघिल्लो निर्वाचनमा २ हजार ५ सय ७३ मत अन्तरले प्रमुख र १ हजार ७ सय ८३ मत अन्तरले उपप्रमुखमा कांग्रेसले  हारेको थियो । वडा नं ४, ५ र ६ तीन वडामा मात्र कांग्रेसको नेतृत्व रहेको धुलिखेलमा एमाले बाहेक माओवादी र राप्रपाको पनि बलियो उपस्थित रहेको छ । यस अघि माओवादीको प्रमुखमा १ हजार ६ सय २१ र उपप्रमुखमा २ हजार ६ सय ६१ मत आएको थियो । धुलिखेल वडा नम्बर ७ मा दोब्बर भन्दा बढी मत अन्तरका साथ राप्रपा बाट वडा अध्यक्ष रोमिप्रसाद व्याञ्जु विजयी हुनु भएको थियो ।

हालै मात्र काग्रेस प्रवेश गरेका वडा नं ८ का अध्यक्ष नीराजन जंगमले एमालेबाट  ६ सय ४३ मत पाउनु भएको थियो । वडा नं ८ मा तत्कालीन मधेसी जनअधिकार फोरमका सुब्बा तामाङले  ३ सय १७ मत प्राप्त गर्नुभएको थियो । फोरम कांग्रेसमा समाहित भैसकेको छ । कांग्रेसका उम्मेदवारले यस अघि यो वडामा ३ सय १६ मत प्राप्त गरेका थिए । काग्रेस प्रवक्ता डा. प्रकाशसरण महतले एक कार्यक्रम बिच  बुधवार कांग्रेस प्रवेश गराउनु भएका एमाले नेता रामकृष्ण हुमागाईँ एमालेका पूर्व जिल्ला सदस्य, काभ्रे क्षेत्र नम्बर २ का पूर्व अध्यक्ष र हाल प्रदेश सदस्य हुन ।

हुमागाईँ सँगै पूर्व गाविस अध्यक्ष साधुराम वडाल, धुलिखेल नगर कार्यपालिकाका सदस्य अर्जुन भुजेल, उपेन्द्र हुमागाईँ पूर्व वडा अध्यक्ष दामोदर हुमागाईँ पार्टी प्रवेश गरे सँग धुलिखेल वडा नं ९ कांग्रेसको लागि वलियो वडा बनेको छ । वडा नम्बर ९ मा यस अघि पनि कांग्रेस थोरै मात्र मत अन्तरले पराजित भएको थियो । अघिल्लो निर्वाचनमा यो वडामा एमालेको ७ सय ३५ मत आएको थियो भने कांग्रेसको ७ सय २० मत आएको थियो ।

‘हामिले प्रत्येक वडा मात्र हैन टोल टोलमा पार्टी सङ्गठन विस्तार गरी अघि बढेका छौँ’ कांग्रेस जिल्ला उपसभापति समेत रहनु भएका नेता रमेशप्रसाद हुमागाईँले भन्नुभयो– अन्य पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्नेको सङ्ख्या पनि यो नगरमा उल्लेख्य छ । काग्रेसको लागि प्रमुख प्रतिस्पर्धी दल एमाले रहेको धुलिखेल नगरमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ भन्ने एक महिने अभियानमा कांग्रेसको जित सुनिश्चित बनाउने मूल उद्देश्य राखिएको धुलिखेल कांग्रेसले जनाएको छ ।

धुलिखेलमा अघिल्लो निर्वाचनको मत परिणाम

प्रतिक्रिया दिनुहोस्