कम्युनिस्टहरूलाई विश्वास गर्न सकिँदैन : कोइराला

स्थानीय निर्वाचनमा गठबन्धन गर्न हुँदैन



विराटनगर ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वाम दलहरू फेरि मिल्न सक्ने चिन्ता कांग्रेसलाई भएको बताउनुभएको छ । मंगलबार विराटनगरस्थित कोइराला निवासमा पार्टीको चुनावी गीत सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै नेता कोइरालाले भन्नुभयो– ‘अहिले मेरो देशभरिका कार्यकर्ता साथीहरूसँग कुराकानी भइरहेको छ । सबैको मत गठबन्धन गरेर जानुहुँदैन भन्नेछ । तर, यसो भनिरहँदा २०७४ मा जस्तो एमाले र माओवादीहरू फेरि मिल्लान् कि भन्ने चिन्ता पनि छ ।’

कांग्रेसका नेता डा. कोइरालाले अहिले कांग्रेसले कम्युनिस्ट दलहरूसँग फेरि गठबन्धन गर्ने कुरा आइरहेको भन्दै गठबन्धन गरे कांग्रेस ट्रयापमा पर्ने दाबी गर्नुभयो । कोइरालाले आम कार्यकर्ताको भावना गठबन्धन गर्नुहुँदैन भन्नेमा स्पष्ट रहेको दाबी गर्नुभयो । उहाँले गठबन्धन गर्दा पनि २०७४ मा माओवादी र एमाले मिलेको सम्झिँदै फेरि पनि मिल्नसक्ने सम्भावना रहेकोले कांग्रेसले गठबन्धनमा भन्दा त्यतातिर चिन्ता गर्नुपर्ने बताउनुभयो । ‘अहिले गठबन्धनको कुरा चलिरहेको छ, आम कार्यकर्ता र विभिन्न जिल्लाका साथीहरूको कुरा गठबन्धन गरेर जान हुँदैन भन्ने छ’, डा.कोइरालाले भन्नुभयो – ‘तर हामीले ध्यान पनि पुर्याउनुपर्ने एउटा आवश्यकता छ ।’

उहाँले गठबन्धनको औचित्य नै स्पष्ट नभइकन कांग्रेसले कसैलाई पनि विश्वास गर्न नहुने बताउनुभयो । गठबन्धन गर्दा कांग्रेसले ९० प्रतिशत भोट अरू पार्टीलाई खसालिदिनुपर्ने तर उनीहरूबाट चाहिँ कांग्रेसलाई भोट नदिने अवस्था आउने हो भने त्यस्तो गठबन्धनलाई कांग्रेसलाई स्वीकार्य नहुने बताउनुभयो । कांग्रेस बेग्लै सिद्धान्त भएको पार्टी भएको र विचार पनि अन्य पार्टीहरूसँग नमिल्ने भन्दै निर्वाचनमा गठबन्धन गरेर जान नहुने बताउनुभयो ।

कोइरालाले झन स्थानीय निर्वाचनमा गठबन्धन गर्नै नहुने बताउनुभयो । उहाँले कांग्रेस नेतृत्वकै सरकारमा रहेर २०७४ सालमा माओवादी केन्द्र र एमालेको गठबन्धन बनेको स्मरण गर्नुभयो । ‘हामीसितै सरकारमा थिए २०७४ मा, तर एमालेसित मिलिसकेको हामीलाई नै थाहा छैन, सरकार छोडेको पनि छैन, सरकारमा बसिबसी एमालेसित मिलेर चुनाव लडिरहे’ गठबन्धनको औचित्यमाथि आशंका थप्दै कोइरालाले भन्नुभयो, ‘हामीहरूले गठबन्धन गर्यौं, महन्थ ठाकुरलाई सिट छोडिदियौं, उपेन्द्र यादवलाई छाड्यौं, विक्रम पाण्डेलाई सिट छोड्यौं, अशोक राईलाई धरानमा सिट छोड्यौं । तर, नेपाली कांग्रेसलाई कसैले सिट नछाडेको उहाँको भनाइ थियो ।

कोइरालाले ठूला पार्टीका नेताहरूलाई जिताउने जिम्मेवारी भने कांग्रेसकै रहेको बताउनुभयो । तर, त्यसैका लागि गठबन्धन गरेरै गएको खण्डमा कांग्रेस कमजोर हुने दाबी गर्नुभयो । ‘हाम्रो सिद्धान्त, विचार कमजोर हुन्छ भन्ने कुरा भरतपुरको स्थानीय निर्वाचनमा हामीले रेणु दाहाललाई जितायौं, त्यसपछिको घटना हेर्नुहोस् आजसम्म पनि कांग्रेस एकढिक्का भएर अगाडि बढ्न सकेको छैन’, उहाँले भन्नुभयो, ‘त्यही बिचमा विक्रम पाण्डेलाई जिताउने भन्यौं, आधा कांग्रेसले विक्रम पाण्डेलाई भोट दिए, आधाले प्रचण्ड जीलाई भोट दिए, कतिले त भोटै हालेनन् ।’ उहाँले कांग्रेस ‘मास बेस्ड’ पार्टी भएकोले जनतालाई कुनै पनि कुरा सुनाउन खोज्यो भने पनि त्यसलाई नसुन्ने बताउनुभयो ।

कोइरालाले भन्नुभयो , ‘म मनमर्जीले गर्छु भन्छन्, हामी कम्युनिस्टजस्तो ‘क्याडर बेस्ड’ होइन, क्याडरमा के हुन्छ भने कम्युनिस्टले भन्दिन्छ यसलाई भोट हाल भनेर, मलाई लाग्दैन कुनै पनि कम्युनिस्ट दलले नेपाली कांग्रेसलाई भोट हाल्छ भनेर, म चैं विश्वस्त छैन ।’ यस्तो बेलामा कांग्रेसले सोचेर विचार गरेरमात्रै निर्णय लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्