बाफ्टा अवार्डमा पुटिनको विरोध



ब्रिटिस एकेडेमी अवार्ड (बाफ्टा) को ७५औँ सस्करण हालै लन्डनस्थित रोयल अल्बर्ट हलमा सम्पन्न भएको छ। सन् २०२१ का राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मका विभिन्न विधामा अवार्ड वितरण गरिएको समारोहमा द पावर अफ द डग उत्कृष्ट फिल्म सावित भएको छ भने निर्देशकको अवार्ड पनि यही फिल्मका निर्देशक जेन क्याम्पेनले चुमेका छन्। समारोहमा सर्वाधिक पाँच अवार्डको विजेता फिल्म ड्युन बनेको छ। ११ विधाको मनोनयनमा परेको यस फिल्मले प्रमुख विधाको अवार्ड हात नपारे पनि छायांकन, ओरिजनल स्कोर, ध्वनि, भिजुअल इफेक्ट र प्रोडक्सन डिजाइनको अवार्ड चुमेको छ।

दुई वर्षपछि खचाखच दर्शकसहित आयोजना भएको अवार्ड समारोह अभिनेत्री रिबेल विल्सनले सञ्चालन गरेकी थिइन्। कार्यक्रम सञ्चालन गर्ने क्रममा उनले हातको विचको औंला माथि उठाउँदै रुसका राष्ट्रपति भ्लामिर पुटिनको विरोध गरेकी थिइन् भने समारोहमा अधिकांश सेलिब्रेटीले कालो कपडा लगाएर एकताको चिह्नस्वरूप हातमा युक्रेनको रिबन बाँधेका थिए।

समारोहमा अभिनेताको अवार्ड किङ रिचार्डबाट विल स्मिथले जित्दा अभिनेत्रीको अवार्ड आफ्टर लभबाट जोना स्क्यानलान, सहअभिनेताको अवार्ड कोडाबाट ट्रोए कोत्सुर र सह अभिनेत्रीको अवार्ड वेस्ट साइड स्टोरीबाट एरियाना डेबोसले जितेकी छिन्।

पटकथाको अवार्ड फिल्म लिकोराइस पिज्जाले जितेको छ भने एडेप्टेड पटकथाको अवार्ड फिल्म कोडाले, ब्रिटिस फिल्मतर्फ नव प्रतिभाको अवार्ड द हार्डर द फलबाट निर्देशक तथा लेखक जेम्स स्यामुअलले, गैर अंग्रेजी भाषाको फिल्मको अवार्ड जापानी फिल्म ड्राइभ माईले, डकुमेन्ट्रीको अवार्ड समर अफ सोलले, एनिमेटेड फिल्मको अवार्ड एन्क्यान्टोले, कास्टिङको अवार्ड वेस्ट साइड स्टोरीबाट सिन्डी टोलनले, ब्रिटिस सर्ट एनिमेसन फिल्मको अवार्ड डु नट फिड द पिजनले, ब्रिटिस सर्ट फिल्मको अवार्ड द ब्ल्याक कोप चेरिस ओटेकाले र ईई राईजिङ स्टारको अवार्ड लास्ना लिन्चले चुमेका छन्।

त्यस्तै, सम्पादकको अवार्ड नो टाइम टु डाईबाट टम क्रस र इलिएट ग्राहमले, भेषभूषाको अवार्ड क्रुएला जेनी बेभानले, केश सज्जा तथा श्रृगारको अवार्ड फिल्म द आइज अफ टेमीफाइबाट लिन्दा डाउट्स, स्टेफनी, इन्ग्राम र जस्टिन रालेले जितेका छन्।

प्रतिक्रिया दिनुहोस्