तिवारीले गरे मौद्रिक नीतिमा विद्यावारिधि



काठमाडौं (नेस) ।

सेयर विश्लेषक विमलकुमार तिवारीले युनिभर्सिटी अफ मैसुरबाट विकास अध्ययनमा विद्यावारिधि गर्नुभएको छ । उहाँले आफू मार्च २२ मा भारतको मैसुरमा हुने दीक्षान्त समारोहमा सहभागी हुन जान लागेको जानकारी दिनुभयो । प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ लिमिटेडका कार्यकारी अध्यक्षसमेत रहनुभएका तिवारी सेयर बजारको प्राविधिक विश्लेषण गर्दै आउनुभएको छ ।
उहाँले यसअघि लगानीका क्षेत्रका साथै बैंक तथा वित्तीय संस्थाहरूमा १८ वर्षको अनुभव हासिल गर्नुभएको छ ।

तिवारीले नेपालको अर्थतन्त्रको दिगो विकासमा मौद्रिक नीतिको प्रभाव विषयमा विद्यावारिधिको शोधपत्र तयार गर्नुभएको थियो । उहाँको शोध निर्देशकमा चर्चित प्राध्यापक एम. देवराज हुनुहुन्थ्यो ।

तिवारीको शोधमा मौद्रिक नीति आएपछिका डेढ दशक (सन् २०११ देखि २०१६सम्म) मा बैंक तथा वित्तीय संस्थाको विकासमा धेरै परिवर्तनहरू भएको उल्लेख छ । त्यसको परिणाम मुलुकको आर्थिक गतिविधिअन्तर्गत घरेलु बचत र भुक्तानी सन्तुलनमा सकारात्मक प्रभाव परेको छ ।

लगानी नीतिमा निर्माणमा मौद्रिक नीति प्रभावकारी देखिएको छ । र, यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । बाणिज्य बैंकहरूको तरलता जहिले पनि बचतभन्दा बढी भएको देखिन्छ ।

त्यसैले अनिवार्य नगद मौज्दातको सामान्य घटबढले ऋण प्रवाहको वृद्धिमा असर नपार्ने सोधबाट देखिएको छ । यसै गरी कृषि उत्पादत्वको मूल्य वृद्धि अनुपात भने घटाउन सघाएको देखिन्छ । तर, मौद्रिक नीतिले मुद्रा स्फीर्ति अस्वाभाविक रूपमा उच्च दरले बढेको, ब्याजदर उतार चढावपूर्ण, तरलताको समस्या, सेयर बजार अस्थिर रहेको, बढ्दो बेरोजगारी, बढ्दो घाटाले दिगो विकासमा असर पारिरहेको शोधले देखाएको छ । तत्काल दिगो प्रकृतिको मौद्रिक नीति ल्याइनुपर्ने तिवारीको शोधको निष्कर्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस्