एडीबीले नेपालको आर्थिक विकासमा सहयोग गर्ने



काठमाडौं (नेस) ।

एसियाली विकास बैंक (एडीबी) का दक्षिण एसियाका लागि महानिर्देशक केनिची योकोयामाले चार दिने नेपालको भ्रमण गर्नुभएको छ । भ्रमणको क्रममा योकोयामाले नेपाल सरकारको विकास एजेन्डालाई एडीबीको निरन्तर समर्थन गरेको बताउनुभएको छ । उहाँ सन् २०१२ देखि २०१७ सम्म नेपालका लागि कन्ट्री डाइरेक्टरको रूपमा काम गर्नुभएको थियो ।

नेपालमा एडीबीको सञ्चालन, हाम्रो साझेदारी र प्रमुख रणनीतिक दिशाबारे छलफल गर्न काठमाडौं आएर वरिष्ठ सरकारी अधिकारीसँग भेट्न पाउँदा आफू खुसी भएको बताउँदै उहाँले एडीबी उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्न, नेपाली जनताको जीवनस्तरमा सुधार गर्न र जलवायु परिवर्तनको प्रभावसँग लचिलोपन निर्माण गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

अब स्थानीय तहमा सेवा हस्तान्तरण गर्दै वैदेशिक प्रत्यक्ष लगानीलगायत निजी क्षेत्रको लगानीलाई थप प्रोत्साहन गर्न पूर्वाधार र मानव पुँजीमा संरचनागत सुधार तथा गुणस्तरीय लगानीमा ध्यान केन्द्रित गर्न उहाँले नेपाललाई आग्रह गर्नुभएको छ । नेपालका अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा योकोयामाले कोरोना भाइरस (कोभिड–१९) महामारीको फैलावटलाई नियन्त्रण गर्न र जनस्वास्थ्य, कल्याण र अर्थतन्त्रमा परेको असरलाई व्यवस्थित गर्न नेपाल सरकारले गरेको प्रयासको प्रशंसा गर्नुभयो ।

खोप कार्यक्रमको प्रगतिको रूपमा, लक्षित जनसंख्याको ८० प्रतिशतभन्दा बढीले दुई डोज लगाएकोमा खुसी हुँदै उहाँले विकास कार्यक्रम र सुधारको समयानुकूल, प्रभावकारी र गुणस्तरीय कार्यान्वयनलाई तीव्रता दिन मन्त्री शर्मालाई आग्रह गर्नुभयो । आफ्नो ४ दिने भ्रमणका क्रममा योकोयामाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग पनि भेट गर्नुभयो । खानेपानी मन्त्री उमाकान्त चौधरी, सहरी विकास मन्त्री रामकुमारी झाँक्री ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलगायतका उच्च सरकारी अधिकारीसँग भेट गर्नुभएको थियो ।

योकोयामाले एडीबीको सहयोगमा सञ्चालित आयोजना काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन परियोजनाको निरीक्षण गर्नुभएको थियो । उक्त परियोजनामा एडीबीले १सय ३७ मिलिनयन अमेरिकी डलर लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्