केजरीवाल सरकारबाट पाठ सिक्ने सुनौलो अवसर



  • इन्द्रकुमार श्रेष्ठ

भारतको एउटा शहर दिल्लीको मात्रै जनसङ्ख्या झन्डै नेपालको जति नै रहेछ– लगभग तीन करोड । त्यहाँ सन् २०१० नोभेम्बरमा स्थापित आम आदमी पार्टीले जम्मा ७० सिटको विधानसभामा झन्डै सबैजसो सिट दुई–दुईपटक जितेर त्यहाँ बहुमतको सरकार बनाउने अवसर पायो । अहिले, भारतको अर्को स्टेट पञ्जाबमा पनि उक्त जनमुखी पार्टीले दुई तिहाइ सिट जितेको छ । यो विजयपश्चात् दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले, पञ्जाबका १२२ पूर्वमन्त्री र नेताहरूले सुरक्षाको नाममा दुरुपयोग गरिरहेका सुरक्षाकर्मी फिर्ता गराएको समाचार छ । परिवर्तन भनेको त यो हो नि !

यहाँ हाम्रोमा चाहिँ अहिले पनि करिब सात हजार सुरक्षाकर्मीलाई नेताको घरेलु काममा राखेको बताइन्छ । एकजना नेताको सुरक्षाका लागि दर्जनौं सुरक्षाकर्मी प्रयोग गरेर सुरक्षा दिइएको भन्दा पनि चाकरी पुर्याइएको हामीले देखेकै छौं ।

एकजना नेता मात्रै असल भइदिँदा पनि जनताको जीवनशैलीमा धेरै परिवर्तन हुने रहेछ ! मन, वचन र कर्ममा एकरूपता देखिने अरविन्द केजरीवालको जनमुखी योजनाका र सोको कार्यान्वयनका कारण दिल्ली र पञ्जाबका जनताले सुख पाएका छन् । हामी नेपालीले पनि त्यो सुनेर आनन्दानुभूतिसम्म गरेका छौं ।

नेपालमा जसरी, कसरी जनताबाट कर उठाएर आफू मोजमज्जा गर्न सकिन्छ भन्ने ‘नेता भावना’ का सट्टा, कसरी जनतालाई सुविधा दिन सकिन्छ भन्ने ‘केजरीवाल भावना’ नभएको भए, दिल्लीका जनताले यस्तो सुविधा पाउन सक्दैनथे :

(क) महिलाहरूलाई निःशुल्क बस सेवा,
(ख) २०० युनिटसम्म बिजुली निःशुल्क,
(ग) मासिक २० हजार लिटर पानी निःशुल्क,
(घ) सडक दुर्घटना र आगलागी पीडितहरूको उपचार खर्च निःशुल्क,
(ङ) नयाँ खानेपानी तथा ढल जडानको कार्य निःशुल्क,
(च) गरिब बालबालिकाका लागि विद्यालय शिक्षा निःशुल्क,
(छ) प्यानलमा राखिएका अस्पतालहरूमा निःशुल्क शल्यक्रिया,
(ज) मोहल्ला क्लिनिकहरूमा सबैका लागि निःशुल्क जाँच उपचार र औषधि,
(झ) प्यानलमा राखिएका अस्पतालहरूमा निःशुल्क शल्यक्रिया ।

यता हाम्रो देशको अवस्था सम्झ्यो भने घोर निराशा लागेर आउँछ, अति नै आक्रोश जागेर आउँछ अनि साह्रै नै वैराग लागेर आउँछ । यहाँ त क्रान्ति, विकास र लोकतन्त्रका गफ दिने सबै सत्ताधारी दलजति दलाल देखिएका छन् । शीर्षस्थ नेताहरू स्वार्थ नमिल्दा दोषादोषमा रमाउँछन् । स्वार्थ मिल्नासाथ खोसाखोस गरेर खान्छन् तर कहिल्यै पनि अघाउँदैनन् ।
भनिन्छ, एउटा साधारण मस्तिष्कले एकदिनमा ५० हजार विचार उत्पन्न गर्न सक्छ । त्यसमा ७० प्रतिशत विचार नकारात्मक हुन्छन् । अपवादबाहेक एकहातका औंलामा गन्न सकिने नेताबाहेक, हाम्रा सत्ताधारी दलका नेताका मनमा त सयका सय नै नकारात्मक विचार उत्पन्न हुँदो रहेछ । त्यसो नभएको भए, यत्तिका नेतामध्ये कसै न कसैमा यस्तो भाव किन आउँदैन ?

‘यो देशमा यत्तिका नेताको काम केही कुनै काम छैन ।’
‘मैले सरकारबाट लिएको यत्तिका सुविधा आवश्यक छैन ?’
‘सरकारी सुविधा लिएबापत मैले जनताका लागि उपयोगी हुने त्यस्तो कुन काम गरेको छैन ।’
‘चुनाव जितेपछि म जनताको काम गर्ने चिन्ताले दुब्लाउनुभन्दा आफैं खान पाएर भुँडीवाल भई मोटाएको छु ।’
‘पहिला मजासँग लेकबेंसी गर्न सक्ने, जति पनि हिँड्न सक्ने र मिहिनेत गर्न सक्ने मान्छे म, आजकल दुई–चार पाइला हिँड्दैमा स्वाँस्वाँ गर्न थालेको छु र सवारीसाधनको प्रयोग नगरी हिँड्नै सक्तिन ।’
‘आजकल मलाई काम गर्न भनेपछि अल्छी र गफ गर्न भनेपछि जाँगर लाग्छ ।’
‘मेरो जीवनशैलीमा आकाश–पातालको परिवर्तन भएको कुरा पक्कै पनि साराले देखिरहेका होलान् !’
‘म यस्तो र उस्तो गर्छु भनेर बेला–बेलामा जे बोलेँ त्यो कुरा सुन्नेले पक्कै पनि सम्झिरहेका होलान् !’
‘मैले गरेका त्यत्तिका भ्रष्टाचारले पोलेको यो मनलाई कसरी शीतल गराउने होला ?’

हाम्रा नेतामा यस्ता कुराको पनि सोचाइ भएको भए देशको अवस्था यस्तो हुँदै हुँदैनथ्यो । नयाँ–नयाँ देशमा श्रम सम्झौता युवावर्गलाई विदेश पठाउने योजना बनाइएको छ । व्यापार घाटा र जनताको थाप्लामाथि थपिएको ऋणको अंक झन्–झन् बढिरहेको छ । मागेरै देश बनाउने, भ्रष्टाचार गरेरै ठूलो मान्छे हुने, जे पायो त्यही भनेरै दिन काट्ने र पैसा खर्च गरेकै भरमा चुनाव जित्ने योजनामा रमाइआएका छन् हाम्रा नेताहरू ।

लाग्छ– यो देशभरि छरिएर नेता र तिनका कार्यकर्तामात्र बसेका छन् । बाँकी, नेताका भाषण सुनेर ट्वाँ पर्ने, ताली बजाउन लगाएको बेलामा बजाउने श्रमजीवी सीधासादा मतदाता छन् । अहिलेका लागि केजरीवाल सरकारको प्रभावका कारण नेपाली जनतामा पनि तत्काल, चेतनाको आँधीबेहेरी आउने हो भने यहाँ पनि परिवर्तन सम्भव छ । त्यसैले आउँदै गरेको स्थानीय चुनावसँगै सत्ताधारी दललाई पाखा लाउने, चुनावी खर्च घटाउने, प्रदेश सरकार खारेज गर्ने, भ्रष्टाचारीलाई कारबाही गर्ने, एमसीसी लागू हुन नदिनेजस्ता केही एजेन्डाहरूलाई राष्ट्रव्यापी गराउने सुनौलो अवसर यही हो ।

प्रतिक्रिया दिनुहोस्