२५ सय जनाद्वारा मृत्यु पश्चात अंगदानको घोषणा



पुष्कर बुढाथोकी, भक्तपुर ।

कानुनी अड्चन र जन चासो तथा चेतनाको अभावका कारण ब्यबहारमा कार्यान्वय हुन नसकेको नेपालमा मृत्युपछिको अंगदानबारे उल्लेख्य उपलब्धि हुन थालेको छ ।

हालसम्म २ हजार ५ सय जनाले मृत्यु पश्चात अंगदानको घोषणा गरी सक्नु भएको छ भने करीब ४०० जनाले मस्तिष्क मृत्यु (ब्रेन डेथ )पश्चात अंग प्राप्त गरी प्रत्यारोपण गर्नका लागि पर्खाइमा रहेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनाएको छ ।

सरकारले ब्रेन डेथ भएका व्यक्तिको अंगदान गर्ने व्यवस्था कार्यान्वयनका लागि प्रत्यारोपण केन्द्र भक्तपुरलाई समन्वय केन्द्र समेत तोकेको छ । अंग दान गर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न भक्तपुरको दूधपाटीस्थित केन्द्रलाई देशैभरको समन्वय केन्द्र तोकेको हो ।

नेपालमा हाल सम्म ३ जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट ६ जनाको मृगौला र १ जनाको कलेजो प्रत्यारोपण भएको केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले बताउनुभयो । ब्रेन डेथ भएका व्यक्तिको अंग प्रत्यारोपणबाट बर्षेनी हजारौ व्यक्तिलाई बचाउने सकिने भए पनि खासै उपलब्धी हासिल हुन नसकिरहेको अवस्थामा यससम्बन्धी थप काम गर्न केन्द्र स्थापना गरिएको डा.श्रेष्ठले बताउनुभयो ।

मृत्यु पश्चात आफ्नो शरीरको अंगदान घोषणा गर्नुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रस्तावमा गत बिहीबार भएको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्री तथा सबै मन्त्रीले मृत्यु पश्चात अंगदान गर्ने निर्णय भएको थियो ।

यस ऐतिहासिक कार्यबाट झण्डै ३ करोड नेपालीलाई अंगदान गर्न प्रत्साहान मिल्ने भएकाले यस पुनीत कार्यप्रति नेपाल सरकार मन्त्रिपरिषद प्रति केन्द्रले कृतज्ञता समेत व्यक्त गरेको छ । सो प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्नको लागि यस शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले पहल गर्नु भएको थियो ।

स्वास्थ्य सेवा दिवस २०७८ को अवसर पारी स्वाथ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा र मुख्यसचिव शंकरदाश बैरागी, स्वास्थ्य राज्य मन्त्री भवानी प्रसाद खापुङ्ग र स्वास्थ्य सचिव देव कुमारी गुरागाँइले पनि मृत्युपश्चात अंगदान गर्नु भएको थियो ।

सरकारले स्वास्थ्योपचार र मृत्युपछिको अंगदानको सम्बन्धमा ऐतिहासिक निर्णय गरेको छ । ५० वर्ष भन्दा माथिका सबै नागरिकको वर्षको १ पटक कलेजो मिर्गौला लगायतको स्वास्थ परीक्षण समेत निःशुल्क गर्ने निर्णय गरेको छ ।

अंगदानको लागि केन्द्रमा ट्रान्सप्लान्ट कोर्डिनेटर विभाग (फोन नं. ०१–६६१४०४७/९८२३५८१७१४)मा सम्पर्क गर्न सकिने र केन्द्रको वेवसाइट www.hotc.org.npबाट अंगदान फर्म डाउनलोड गरी अंगदान गर्न सकिने ब्यबस्था गरिएको छ । विस्तृत जानकारी ०१६६१४७०९/०१६६१४६५६ फोनबाट लिन सकिने केन्द्रले जनाएको छ ।

नेपालमा बिसं २०७२ सालमा अंग प्रत्यारोपण ऐन आएको थियो । सो ऐनपछि ब्रेन डेथ भएका व्यक्तिको अंग जिवित व्यक्तिमा प्रत्यारोपण गर्न सक्ने कानून आएको हो । पहिले नजिकका नातेदारले मात्र अंग दान गर्न सक्ने कानून भएपनि अहिले नाता सम्बन्ध पर्ने जो सुकैले पनि अंग दान गर्न सक्ने कानुनी व्यवस्था छ भने पछिल्लो समय बिदेशमा जस्तै जो सुकैबाट पनि दान गर्न सकिने कानूनी व्यवस्थाका लागि समेत पहल भैरहेको छ ।

अंग प्रत्यारोपण विज्ञ समेत रहेका डा. श्रेष्ठले कुनै पनि व्यक्तिले आफ्नो मृत्यु पछि अंग दान गर्न चाहेको अवस्थामा केन्द्रमा सम्पर्क राखेर इच्छापत्र लिन सक्ने व्यवस्था गरेको बताउनुभयो । कुनै व्यक्तिको सडक दुर्घटना वा अन्य कारणले ब्रेन डेथ भएको अवस्थामा उक्त व्यक्ति उपचाररत अस्पतालले ब्रेन डेथ भएको घोषणा गरेपछि भक्तपुरको समुन्वय एकाईलाई खबर गर्नु पर्छ ।

केन्द्रले विज्ञ चिकित्सकिय टोलीले ब्रेन डेथ भएको अस्पतालमा गई ब्रेन डेथ भएका व्यक्तिका आफन्त वा नातेदारहरुसँग सल्लाह गरेर उनीहरुको सहमती दिएमा ब्रेन डेथ भएको व्यक्तीको अंग निकालेर अंग प्रत्यारोपण आवश्यक भएको जिवित व्यक्तिमा प्रत्यारोपण गर्ने गरिन्छ ।

ट्रान्सप्लान्ट कोर्डिनेटर विभागका संयोजक डा. कल्पना श्रेष्ठका अनुसार नेपालमा हरेक वर्ष ३ हजार भन्दा बढीको बर्षेनी मिर्गौला फेल हुने गरेको सरकारी तथ्यांक छ । तर देशभरि मुस्किलले ३ सय जनाको मात्र मिर्गौला प्रत्यारोपण हुन्छ । मिर्गौला प्रत्यारोपणमा यो सबैभन्दा ठूलो चुनौति हो, जिवित व्यक्तिहरुले मात्र अहिले गरि रहेको मिर्गौला दानले यो खाडललाई पुर्न सक्दैन, डा. श्रेष्ठले भन्नुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा बर्षमा करिब २ हजार बढीले सडक दुर्घटनामा परेर ज्यान गुमाउने गरेका छन् । ती मध्ये करिब एक हजारको ब्रेन डेथ हुने गरेको छ । यी एक हजारको मिर्गौला लगायत कलेजो, प्यांक्रियाज, ठूलो आन्द्रा,सानो आन्द्रा जस्ता अंग निकालेर जिवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिए हजारौको जिवन बचाउन सकिने विज्ञहरुको दावी छ ।

कार्यकारी निर्देशक श्रेष्ठका अनुसार एक जना ब्रेन डेथ भएको व्यक्तिबाट आठ वटा अंग जिवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । ब्रेन डेथ भएका व्यक्तिको अंग दान मार्फत प्राप्त हुने अंग जिवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिए नेपाल अंग प्रत्यारोपणमा आत्म निर्भर हुने डा श्रेष्ठको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्