कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने



खोरियाघाट, (स्याङ्जा) ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक महत्व बोकेको कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने बताउनुभएको छ । ङ्जाको चापाकोट नगरपालिका–८ खोरियाघाटमा जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले दशश्लोकीमाथि दार्शिनिक प्रवचन दिने कार्यक्रममा उहाँले सो बताउनुभएको हो ।

पोखरेलले यसका लागि युनेस्कोसँग समन्वय गरिएको जानकारी दिनुभएको छ । रामदी नजिकै डाइभर्सन बनाएर कालीगण्डकीको पानी तिनाउमा मिसाउन संघ सरकारको आयोजना कुनै हालतमा हुन नदिने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । ‘कालीगण्डकी नदी अन्य नदीजस्तो होइन, यसको छुट्टै महत्व र विशेषता छ, कालीगण्डकी हाम्रो सभ्यता, आस्था, भावना र शालिग्रामसँग जोडिएको छ ।’ –उहाँको भनाइ छ ।

विश्वको इतिहासको अध्ययन गरिरहेका पश्चिमाहरुले समेत अहिले शालिग्रामलाई आधार मानेर अनुसन्धान गरिहेको नेपालीले सुनाउनुभयो । गण्डकी प्रदेशसभामा यसअघि नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा पनि डाइभर्सनको विरोधमा आवाज उठाएको स्मरण गर्दै अहिले सरकारमा रहँदा पनि सशक्त विरोध गरिरहेको उहाँको कथन छ ।

कालीगण्डकी डाइभर्सनका लागि बुटवलमा कार्यालय खोलेपछि गण्डकी प्रदेश सरकारले बृहत् भेला डाकेर प्रदेशको साझा धारणासमेत गत असारमा सार्वजनिक गरिसकेको छ । त्यसलगत्तै सरकारले कालीगण्डकीको धार्मिक, सांस्कृतिक, सामाजिकका साथै आर्थिक महत्वका साथै सम्भाव्यताका बारेमा अध्ययन गर्न समिति पनि गठन गरेको छ । प्रदेश नीति तथा योजना आयोगको सदस्य डा. सुवास अधिकारी संयोजक रहेको टोलीले अब केही दिनमा अन्तिम प्रतिवेदन बुझाउने मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।

गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन रहेको भन्दै उहाँले यसमा धार्मिक पर्यटन महत्वपूर्ण पाटो रहेको जनाउनुभयो । दक्षिणको गजेन्द्रमोक्ष धामदेखि उत्तर दामोदरकुण्डसम्मका तीर्थस्थललाई धार्मिक करिडोरमार्फत जोडेर लैजानुपर्ने उहाँको भनाइ थियो ।

स्याङ्जाको चापाकोटमा पहिलोपटक पुगेका मुख्यमन्त्री पोखरेलले चापाकोट मात्र नभएर कालीगण्डकी उपत्यकाको समग्र विकासका लागि एकीकृत योजना ल्याउने प्रतिबद्धता जनाउनुभएको छ । स्थानीयको माग सम्बोधन गर्दै उहाँले चापाकोट र पाल्पाको रामपुर जोड्ने पक्की पुल, ज्याग्दीखोलामा पुलको योजना आगामी बजेटमा समावेश गर्ने बताउनुभयो ।
त्यस्तै, गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका सचेतक भागवत्प्रकाश मल्लले चापाकोट र आसपासका क्षेत्रको विकासका लागि आफूले हरसम्भव प्रयास गर्दै आएको बताउनुभयो । आफ्नो निर्वाचन क्षेत्रका २६ वटै वडामा समानुपातिक रूपमा योजना परेको भन्दै चुनावमा प्रतिबद्धता जनाएअनुसारका वाचा पूरा गरेरै छाड्ने उहाँको भनाइ छ ।

त्यसै गरी, कार्यक्रममा चापाकोट नगरपालिकाका मेयर शिव गिरीले झण्डै ५ वर्षको अवधिमा स्थानीय सरकारले नगरपालिकको मुहार फेर्ने काम गरेको बताउनुभएको थियो । उक्त अवसरमा नगरपालिका उपमेयर विमला श्रेष्ठ, नेपाली कांग्रेस स्याङ्जा सचिव गुरुप्रसाद भट्टराई, मन्दिर व्यवस्थापन समिति अध्यक्ष भोजराज भण्डारी, स्थानीय रोहित विक, नवीन काफ्ले, गोकर्णप्रसाद भट्टराईलगायतले विकास निर्माणको आवश्यकताका बारेमा भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्