बेग्लै विशेषता बोकेको ‘यौन पर्व’ को रूपमा मनाइन्छ होली 



भक्तपुर । 

देश र भक्तपुर जिल्लाकै अधिकांश भागमा विभिन्न रंग र अबिर दलेर होली मनाइन्छ । कतिपय ठाउँमा त होली आउनु भन्दा अघि नै लोला हान्ने गरेको देख्न सकिन्छ । तर भक्तपुर नगरमा भने अलग र मौलिक किसिमले होली मनाइन्छ । दत्तात्रय मन्दिर अघि रहेको भीमसेनको मन्दिरमा रहेको काठबाट बनेको मानव आकारको लिंग अर्थात् लग र रातो कपडाले बनाइएको योनी आकारको कपडालाई जुधाएर यौन समागमको सङ्केत गर्दै होली मनाउने प्रचलन छ ।

भक्तपुरमा दत्तात्रय स्थित भिमलेन मन्दिरमा राखिएको काठबाट बनेको लग अर्थात् लिंगलाई फागु शुक्ल पूर्णिमा अघि अष्टमीका दिन  टोल–टोलमा घुमाएर सात दिनसम्म मनाइने होली पर्व सुरु हुने गर्दछ । लगलाई स्थानीयले टोल टोलमा घुमाएर पुन मन्दिरको पाटीमा राखेपछि विधिवत् रूपमा होली सुरु भएको मानिन्छ ।यसलाई टोल टोलमा रहेको पसलै पिच्छे घुमाएर पूजा गरी पुन पाटीमा ल्याएर झसण्ड्याए पछि हरेक दिन यसको दर्शन गर्न महिला तथा पुरुष आउने जाने र भेटि चढाएर पूजा गर्ने गर्दछन्

होली पर्व सुरु भएपछि फागुन नवमीको दिनमा भीमसेनको लिंगलाई दुई जनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, ब्रम्हायणी, च्यामासिंह हुँदै, दत्तात्रय मन्दिर वरिपरि रहेको घर, पसल पिच्छे लिंग दर्शनका लागि लगिन्छ  । लिंगको दर्शन गरेर दक्षिणा दिए व्यापार फस्टाउने धार्मिक विश्वास रहेको स्थानीयवासीको विश्वास छ ।

बजार घुमाएर ल्याएको लिंग र योनी आकारको प्वाल भएको रातो कपडा भीमसेनको पाटीमा सात दिनसम्म झुण्ड्याउने गरिन्छ । झुन्ड्याएको लिंग हल्लाउदा योनी आकारको कपडाको प्वाल भित्र छिर्ने गर्दछ । यसलाई भिमलेन र द्रौपतीको यौन समागमको रूपमा लिइने गरेको संस्कृतिकर्मी बताउँछन् । करिब दुई हात लामो र करिब ३० इन्च मोटाइको काठबाट बनेको लिंगलाई भक्तपुरका बासिन्दाले भीमसेनको लिङ्ग र कपडाबाट बनेको प्वाललाई द्रौपतीको योनीको रूपमा लिने गरिएको भक्तपुरका संस्कृतिकर्मी ओम धौभडेल बताउनुहुन्छ ।

धौभडेलले भन्नुभयो–नेवारी परम्परा अनुसार यसलाई चिर स्वायगू भन्ने गरिन्छ ।यसको आशय लिङ्ग घुमाएपछि फागु पर्व सुरु हुन्छ भन्ने हो । बजार घुमाएर ल्याएको लिंग र योनी आकारको प्वाल भएको रातो कपडा भीमसेनको पाटीमा ७ दिनसम्म झुण्ड्याउने गरिन्छ ।

चिर स्वायगू अर्थात लिंग झुन्ड्याए पछि यहाँका नेवार समुदाय भिमलेन मन्दिरमा गई गुठी भोज खाने परम्परा रहेको छ । बिशेष गरी होलीभरी भिमलेन मन्दिरमा भव्य मेला लाग्ने गर्दछ । यहाँका गायजु गुठीले भिमलेन मन्दिरको पाटीमा बसेर होलीको गीत गाउने गरेका छन् । “भिमलेन देया लज खङगलो वानला ल्यासे बिस्यूवाने म्वायक सो झायला” अर्थात्  भीमसेनको लिंगले मन लोभियोकी, भाग्नु नपर्ने गरी हेर्न आउनु भयो की” जस्ता गीत गाउने गरेको गुठीयार बत्ताउँछन् ।

फागुन शुक्ल पूर्णिमाका दिन भक्तपुरका वासिन्दाले दिनभर रंगको होली खेलेपछि  साँझ भक्तपुर तलेजुबाट निकालिएको भगवाण कृष्णको खटलाई नगर परिक्रमा गराउँदै दत्तात्रय अगाडिको भीमसेनको मन्दिरबाट ल्याएपछि मन्दिरमा झुन्ड्याएको लिंग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिर स्थित खोलामा लगेर पखाली पुनः मन्दिरमा ल्याएर राखेपछि भक्तपुरमा मनाइने होली पर्व सम्पन्न हुने परम्परा रहेको छ ।

छोरा नहुनेले उक्त लिङ्ग बोकेर ब्रम्हायणीसम्म लगेमा छोरा हुन्छ भन्ने जनविश्वास यद्यपी रहेकोले यसरी मन्दिरबाट खोलासम्म लिंग बोकेर लैजाने व्यक्तिको प्रतिस्पर्धा हुने गरेको स्थानीय बत्ताउँछन्  । वास्तविकतामै पनि छोरा नहुने धेरैले लिङ्ग बोके पछि छोरा भएको बताएका छन् ।लिंग पखालेर भिमलेन मन्दिरमा ल्याएपछि यस वर्षको होली समाप्त हुन्छ ।

भीमसेनको मन्दिर जगतप्रकाश मल्लको समयमा बनेकोले यो परम्परा  पनि यही बेला देखि सुरुवात भएको हुन सक्ने संस्कृतकर्मीको अनुमान रहेको छ । “साङ्केतिक रूपमा यौनसंग सम्बन्धित फागु पर्व अथार्त होली पर्व दक्षिण एसियामै कतै कृष्णसंग र कतै प्रल्हादसंग सम्बन्धित रहने भए पनि विशेषत भक्तपुरमा भीमसेनसंग सम्बन्धित रहने गरेको छ,” उनीहरूको भनाई छ । पाटीमा राखेको काठको लिंग हेर्न आन्तरिक र बाह्य पर्यटकको समेत भिड लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्