कम्युनिस्टले विकास दिन सक्दैनन् : सिंह



जाजरकोट, (नेस) ।

नेपाली कांग्रेसका जाजरकोट जिल्ला सभापति वेदराज सिंहले कांग्रेसले दिन सक्ने विकास कम्युनिस्टले दिन नसक्ने बताउनुभएको छ । मंगलबार भेरी नगरपालिका–१३ कांग्रेस वडा कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सो बताउनुभएको हो ।

देश र जनताको रक्षा र स्थायीरूपमा विकास निर्माणका कार्य कांग्रेसले लमात्र गर्न सक्ने भन्दै सिंहले भन्नुभयो– ‘कम्युनिस्ट सरकारले गरेको गलत क्रियाकलापका विरुद्ध लाग्नसमेत म आम कांग्रेसजनलाई आग्रह गर्छु ।’ ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ अभियान थालेको कांग्रेस जाजरकोटले पहिलो चरणमा कार्यकर्तालाई जागरुक, नीति–नियमका बारेमा जानकारी दिन प्रशिक्षण कार्यक्रमको आयोजना गरी सातवटै पालिकामा पुगेको उहाँको कथन छ । नेपाल सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन तोकेसँगै नेता–कार्यकर्ताहरू मतदाताको घर पुुग्न थालेका हुन् ।

नेपाली कांग्रेसमा अवसरवादी नेता टिक्न नसक्ने बताउँदै सिंहले नेता–कार्यकर्तालाई भन्नुभयो– ‘सक्रियतापूर्वक पार्टीमा क्रियाशील हुनुहोस्, क्षमताअनुसारको जिम्मेवारी पाउनुहुनेछ ।’
त्यस्तै, नेपाली कांग्रेस कर्णाली प्रदेशका उपसभापति सनतकुमार कार्कीले आफूले संरक्षण गरेका व्यक्तिबाटै धोका पाएको बताउनुभएको थियो । आगामी निर्वाचनमा कांग्रेसलाई सातवटै पालिकामा जिताउन उहाँले मतदातालाई आग्रहसमेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्