मिलेमतोमै नेपाल भित्रँदै अखाद्य वस्तु

अवैध बाटोबाट तरकारी र फलफूल भित्र्याउने काम तुरुन्त बन्द गर्न माग



भद्रपुर ।

भारतसँग जोडिएको भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकामा प्रहरीकै मिलेमतोमा अवैध बाटो प्रयोग गरी भारतबाट फलफूल, तरकारी, माछालगायत उपभोग्य वस्तु नेपाल भित्रिरहेको पाइएको छ । सीमाबाट विषादी परीक्षणबिनै फलफूल, तरकारी, माछा नेपाल भित्रिरहेको हो ।

भारतबाट यस्ता वस्तु भित्र्याउँदा अनिवार्य विषादी परीक्षण गरी राजस्व तिर्नुपर्ने प्रावधान छ । मेचीनगर–१५ स्थित कालिका चिया बगान नजिकको ९७ र १ नम्बरको सीमास्तम्भ, भद्रपुर–५ गणेश मन्दिर पूर्वको दोभान नजिकैको ९९ नम्बर सीमास्तम्भ, भद्रपुर– ५ स्थित देवीवस्ती नजिकैको १०० नम्बर सीमास्तम्भ र भद्रपुर–३ महेशपुरस्थित झोलुङ्गे पुल नजिकैको १०३ देखि १०४ नम्बर सीमास्तम्भ भएका ठाउँबाट भन्सार छलेर साइकलमा फलफूल, तरकारी र माछा भित्रिरहेको नाम नबताउने सर्तमा स्थानीय बताउँछन् । उता, भद्रपुर भन्सार कार्यालयका प्रमुख रामेश्वर मिश्र भने भन्सारबाट लामो समयदेखि ती वस्तु आयात नभएको बताउनुहुन्छ ।

व्यापारीहरूले भारतबाट साइकलमा फलफूल, तरकारी, माछा सीमानाकासम्म ल्याउने र त्यहाँबाट अटोरिक्स, ट्याम्पोमा हालेर भद्रपुर तथा चन्द्रगढीका साप्ताहिक बजारदेखि बिर्तामोडसम्म पुर्याउने गर्छन् । उनीहरूले सोमबार, बुधबार, शुक्रबार र शनिबार फलफूल, तरकारी र माछा भित्र्याउने गरेको स्थानीय बताउँछन् ।

कालिका बगानमा सशस्त्र प्रहरीको बीओपी ज्यामिरगढीको टोली, घोडामारा प्रहरी चौकीको टोली खटिएको हुन्छ । भद्रपुरको देवीवस्ती नजिकै सशस्त्रको पोस्ट नै छ । झोलुङ्गे पुल नजिकै सशस्त्रको बीओपी मेचीपारि, मेचीपारि प्रहरी चौकी र महेशपुर प्रहरी चौकी पर्छ । अवैध बाटोबाट फलफूल, तरकारी र माछा भित्र्याएबापत व्यापारीले सशस्त्र र नेपाल प्रहरीका इन्चार्जलाई मासिक ५ देखि १० हजार रुपियाँसम्म दिने गरेको व्यापारीको कथन छ । यस्तै, ड्युटीमा खटिएका प्रहरीले प्रतिसाइकल ५० देखि १ सय रुपियाँ रकम दिने गरेको उनीहरू बताउँछन् ।

प्रहरीको मिलेमतोमा अवैध बाटोबाट फलफूल, तरकारी र माछा भित्रिँदा मारमा परेको नेपालका व्यापारीको भनाइ छ । अवैध बाटोबाट ल्याउनेहरूले सस्तो मूल्यमा बिक्री गर्ने र भन्सार शुल्क तिरेर ल्याएको हुँदा उनीहरूसँग प्रतिस्पर्धा गर्न नसकेको तरकारी व्यापारी सुबोध महतोको गुनासो छ । तरकारी व्यापारी सञ्जीव कामती भारतीय व्यापारीले पनि भन्सार शुल्क तिर्नुपर्ने बताउनुहुन्छ । तर, उनीहरूले भन्सार तिर्ने नगरेको उहाँको कथन छ । भन्सार छलेर अवैध बाटोबाट तरकारी र फलफूल भित्र्याउने काम तुरुन्त बन्द गर्नुपर्ने नेपाल तर्फका व्यापारीको माग छ ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले विषादी परीक्षणबिना अवैध बाटोबाट तरकारी, फलफूल, माछालगायतका सरसामान भित्रिरहेको विषयमा जानकारी नभएको जवाफ दिनुभयो । यस्तो पाइए तुरुन्त बन्द गराउन प्रहरी कार्यालयहरूका इन्चार्जलाई निर्देशन दिने र गलत काम गर्नेलाई कारवाही गर्ने उहाँले आश्वासन दिनुभयो । गलत क्रियाकलापमा लागेको पाइएमा प्रहरी कर्मचारीलाई तुरुन्त विभागीय कारबाही गरिने पोखरेलले बताउनुभयो ।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी प्रदीपजंग कार्कीले भन्सार छलेर र बिनापरीक्षण तरकारी, फलफूल र माछा आयात गर्ने नपाइने र त्यस्तो पाइए तुरुन्त रोक्न बीओपी इन्चार्जहरूलाई निर्देशन दिने बताउनुभयो । गत कात्तिक ११ गतेदेखि मात्र भद्रपुर–गलगलिया नाका सहज भएको छ । नाकाबाट आऊ–जाऊ सहज भए पनि भद्रपुर भन्सारबाट यी सामान आयात भएको छैन ।

भद्रपुरको मुख्य नाकाबाट साइकलमा तरकारी, फलफूल र माछा भित्र्याउन नदिएपछि भारतीय व्यापारी र किसानले प्रहरीसँगको मिलेमतोमा अवैध बाटोबाट ती सामान बिनापरीक्षण भित्राइरहेको स्थानीयको आरोप छ । भारतबाट आयात हुने तरकारी र फलफूलको अनिवार्य विषादी परीक्षण गराउनुपर्ने प्रमुख मिश्र बताउनुहुन्छ । विषादी परीक्षणपछि मात्र भन्सारले ५ देखि ८ प्रतिशतसम्म कृषि सुधार शुल्क लिएर तरकारी र फलफूलको जाँच पास गराउने उहाँले जानकारी दिनुभयो ।

सरकारले भन्सार ल्याउने सबै प्रकारका तरकारी र फलफूलमा हर्मोनाइजेसन कोडअन्तर्गतका वस्तु आयातका लागि एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था राखिएको छैन । भन्सार ल्याएका तरकारी र फलफूलको स्याम्पल लिएर पहिला खाद्य क्वारेनटाइन काँकडभिट्टा जानुपर्छ, त्यसपछि विषादी जाँचका लागि बिर्तामोड जानुपर्ने हुन्छ । त्यही भएर भद्रपुर भन्सारमा तरकारी र फलफूल नआएको हो ।

सरकारले एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था लागू गरेपछि भन्सारमा भारतबाट माछा आउन बन्द भएको छ । माछामा अनिवार्य एलसी लागू गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्