रुमालमा संकलन गरेर विद्यालयलाई चन्दा

एकैदिन सात लाख जम्मा



पर्वत ।

उमेरले नेटो काट्दै गरेकी वृद्धा विद्यालयको प्राङ्गणमा आउनुभयो । पटुकामा राखेको रुमालको पोको फुकाउँदै रकमको बिटो विद्यालय व्यवस्थापन समितिकी अध्यक्षलाई दिनुभयो । ‘नानी यो रुमालमा जति पैसा छ विद्यालयको उन्नतिका लागि खर्च गर्नूस्’ भनेर आमाले थमाएको पोको खोल्दा ४० हजार रुपियाँ रहेछ ।

सामुदायिक विद्यालयमा भौतिक र शैक्षिक सुधार हुन थालेपछि खुसी हुँदै गएका अभिभावकले गाँस कटाएर रकम सहयोग गर्न थालेपछि पर्वतको कुस्मा नगरपालिका–१ पाङकी नर्वदा चापागाईंले यसरी रुमालमा संकलन गरेर राखेको रकम विद्यालयलाई दिनुभएको हो ।

स्थानीय पाङ धैरेनी माविमा पछिल्लो समयमा विद्यालयको भौतिक र शैक्षिक वातावरणमा उल्लेख्य सुधार आएको देखेपछि गएको माघमा ४० हजार सहयोग गर्नुभएकी आमा नर्वदाले सोमबार (फागुन २३ गते) भएको विद्यालयका नयाँ भवन उद्घाटन कार्यक्रममा थप ६० हजार १ सय ११ रुपियाँ पनि यसै गरी रुमालको पोको फुकाउँदै विद्यालयलाई दिनुभयो । ‘गाउँमै राम्रो पढाइ भएको देखेपछि मैले वृद्धभत्ता र आफूले जम्मा गरेको धन सहयोग गर्न मन लाग्यो’, आमा नर्वदाले भन्नुभयो– ‘हामी बूढाबूढीले सन्तानहरुको शिक्षामा सहयोग गर्न पाउँदा स्वर्गमा पुगेको आनन्द आउँदो रहेछ ।’ उहाँले विद्यालयलाई दिएको रकमबाट विद्यालयमा उहाँका दिवंगत श्रीमान् जुक्तिबल्लभ चापागाईंको स्मृतिमा ‘जुक्तिबल्लभ नर्वदा चापागाईं’ स्मृतिकोष स्थापना गरिने भएको छ ।

आमा नर्वदा मात्रै होइन पाङ धैरेनी माविलाई अहिले आर्थिक र भौतिक सहयोग गर्ने अभिभावकको बाढी नै लागेको छ । सोमबार आयोजित विद्यालय उद्घाटन कार्यक्रममा समाजसेवी तथा विद्यालयका पूर्वअध्यक्ष तेजनाथ रिजालले ४ लाख रुपियाँ सहयोग प्रदान गर्नुभयो । उहाँले यसअघि पनि १ लाख सहयोग गरिसक्नुभएको थियो । विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने, भवन, कम्युटर, विज्ञान प्रयोगशाला बनाउने लगायतका सुधार भएपछि खुसी हुनुभएका रिजालले त अब विद्यालयमा निजी स्रोतमा शिक्षक राखेर तलब खुवाउन पुग्ने गरी थप सहयोग गर्ने घोषणा पनि गर्नुभयो । सोही समारोहमा पारस सापकोटा र मीरादेवी सापकोटाले आमाबुबाको नाममा ‘मिनेश्वर–टीकादेवी’ अक्षयकोषका लागि १ लाख सहयोग गर्नुभयो । बाबुराम रिजाल र उहाँकी धर्मपत्नी चन्द्रकला रिजालले पनि बाबुआमाको स्मृतिमा अक्षयकोष राख्न १ लाख रुपियाँ सहयोग गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वस्थानी रिजालका अनुसार अहिले विद्यालयमा जन्मदिन, व्रतबन्ध, चौरासीपूजा, विवाहदेखि वार्षिक पुण्यतिथिमा होस् वा दिवंगत बाबुआमा र सन्तानको स्मृतिमा अक्षयकोष स्थापना गर्ने अभियान चलेको छ । अध्यक्ष रिजाल र उहाँका श्रीमान् समाजसेवी रामजी रिजालले दिवंगत छोरा अरुणको स्मृतिमा २०६५ सालमा नै ५ लाख रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको थियो । गत वर्ष उहाँले पनि उक्त अक्षयकोषमा थप १ लाख जम्मा गर्नुभएको छ । यसअघि पदमपाणि रिजाल र रामचन्द्र रिजाल व्रतबन्ध, विवाह र जन्मोत्सवमा खर्च कटाएर १ लाख सहयोग गरिसक्नुभएको छ ।

प्राप्त भएको सहयोगबाट विद्यालयका निजी स्रोतका शिक्षक राखेर अंग्रेजी माध्यममा शुरु भएको पठनपाठनलाई अझै प्रभावकारी बनाउने योजना रहेको अध्यक्ष रिजालले बताउनुभयो । ‘अक्षयकोषको ब्याजबाट कम्तीमा दुई जना शिक्षक निजी स्रोतमा राख्नुपर्छ’, उहाँले भन्नुभयो– ‘अझै अक्षयकोषलाई बढाएर त्यसको आवश्यकता पूरा गर्ने सोचमा छौं ।’

महिलाको नेतृत्वमा नमुना स्कुल
एक जना महिलाले विद्यालयले विद्यालय व्यवस्थापन समितिको नेतृत्व गरेपछि कसरी विद्यालयमा सुधार हुन्छ भन्ने नमुना बन्न सफल भएको छ, पाङधैरेनी मावि । स्वास्थानी रिजालको नेतृत्वमा व्यवस्थापन समिति बनेपछि अहिले विद्यालयका भवनहरु पक्की हुन थालेका छन् ।

बालशिक्षादेखि नै अंग्रेजी माध्यममा शिक्षणसहित थप प्रभावकारी बनाइएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, प्रदेश सरकार र कुस्मा नगरपालिकाबाट सहयोग लिएर विद्यालयमा १२ कोठा पक्की भवन बनेका छन् भने बालमैत्री २ कोठे भवन र चिल्ड्रेन पार्क पनि बनेको छ । कम्युटर ल्याब, विज्ञान प्रयोगशाला, विद्यालयको जमिन संरक्षणका काम पनि भइरहेका छन् ।

आफू नै नियमित रूपमा विद्यालयमा गएर पढाउने र अनुगमन गर्न थालेपछि सबै विद्यार्थीले अध्यक्ष रिजाललाई ‘आमा’का रूपमा सम्बोधन गर्छन् । केही समस्या परेमा पनि उहाँलाई नै खोज्ने अवस्था आएको छ । झण्डै १ सय जनाको संख्यामा रहेका विद्यार्थी बढेर डेढ वर्षको अवधमिा २ सय ५० भन्दा बढी भएका छन् ।

निजी विद्यालयमा जाने विद्यार्थीहरु धमाधम सामुदायिक विद्यालयमा आइरहेको अभिभावक पिताम्बर रिजालले बताउनुभयो । ‘एक जना अध्यक्ष पनि राम्रोसँग खट्ने हो भने धेरै सुधार हुँदोरहेछ ।’ –उहाँले भन्नुभयो । विद्यालयको भौतिक र शैक्षिक विकासका लागि मित्र राष्ट्रसँग करोडौं रुपियाँ सहयोग लिने गरी प्रक्रिया अगाडि बढेको छ । उक्त सहयोग आएमा यो विद्यालय यस क्षेत्रकै नमुना विद्यालयका रूपमा विकास हुने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्