क्षतिपूर्तिसहितको नागरिक सेवा दिन सरकार डरायो : अध्यक्ष कोइराला



काठमाडौं ।

नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनका नवनिर्वाचित अध्यक्ष लेखनाथ कोइरालाले ‘क्षतिपूर्तिसहितको नागरिक सेवा’ को बारेमा आफूहरूले पटकपटक कुरा उठाए पनि सरकारले कार्यान्वयन गर्न चासो नदेखाएको आरोप लगाउनुभएको छ । उहाँले कुनै पनि कर्मचारीले काम नगरेबापत सेवाग्राहीलाई कुनै घाटा भए र काम गराउन बसेबापत खर्च भए त्यसबापत सेवाग्राहीलाई क्षतिपूर्ति दिने व्यवस्था यो सेवामा रहने उल्लेख गर्नुभयो । उहाँले ट्रेड युनियन अधिकारबारे सबै प्रदेशमा गएर कार्यक्रम गर्ने पनि स्पष्ट पार्नुभएको छ ।

फागुन २८ गतेदेखि ३ दिनसम्म भएको ११औं राष्ट्रिय अधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्ष चुनिएका उहाँले ट्रेड युनियन अधिकारबारे अझै पनि कताकता अनेक भ्रम रहेकाले त्यसबारे सातैवटा प्रदेश र अन्य निकायमा पुगेर यसबारे स्पष्ट पार्ने बताउनुभएको हो ।

‘ट्रेड युनियन अधिकार के हो ? सुशासन के हो ? जनप्रतिनिधि र उच्च प्रशासकसँगको सम्बन्ध कस्तो हुनुपर्छ भन्नेमा देशव्यापी रूपमा अभियान नै चलाउँछौं’, उहाँले भन्नुभयो– ‘यो अधिवेशनबाट नीतिगत रूपमा निजामती कर्मचारी संगठन कस्तो हुनुपर्ने, यसले के गर्ने र भावी रणनीति कस्तो हुने हो भन्ने स्पष्ट भएको छ ।’

भक्तपुरमा अधिवेशनले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कोइरालाले संस्थालाई आगामी दिनमा कसरी अघि बढाउने भन्ने खाका पनि प्रस्तुत गर्नुभएको थियो । संगठनका नवनिर्वाचित महासचिव जीवन काफ्लेले संस्थाको तर्फबाट भावी योजना र कार्यदिशा पढेर सुनाउनुभएको थियो भने पत्रकारको जवाफ दिँदै अध्यक्ष कोइरालाले आफूहरूले जनताको पक्षमा गरेका राम्रा कामको चर्चा कम हुने गरेको भन्दै कर्मचारीप्रति नकारात्मक धारणा बढेकोमा चिन्ता पनि गर्नुभयो ।

‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान–राजनीतिक अधिकारसहितको ट्रेड युनियन, हाम्रो अभियान’ भन्ने नाराका साथ सम्पन्न महाधिवेशनले कोइरालाको अध्यक्षतामा ३ वर्षका लागि १ सय ५१ जनाको केन्द्रीय समिति गठन गरेको छ । कार्यक्रममा अधिवेशन सम्मन्न गर्न सहयोग गर्ने विभिन्न व्यक्तित्वहरूलाई सम्मानस्वरूप प्रशंसापत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्