तीन वर्षभित्र सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधार सम्पन्न बनाइने : मन्त्री पौडेल



काठमाडौं ।

राणाकालदेखि नै गुणस्तरीय शिक्षा दिँदै आएको काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयले हीरक जयन्ती मनाएको छ । २००३ सालमा स्थापना भएको यस विद्यालय सामुदायिक विद्यालयतर्फ नेपालकै उत्कृष्टमध्ये पर्छ । हीरक जयन्ती समारोहमा प्रमुख अतिथिका रूपमा वोल्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षक, अभिभावक र सरकारको संयुक्त पहलमा मात्र सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सकिने बताउनुभयो । उहाँले सरकारले सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र शिक्षासम्बन्धी कानुनी सुधारमा केन्द्रित भई शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुँदे कार्यक्रम अगाडि ल्याएको जानकारी दिनुभयो ।

सार्वजनिक विद्यालयको सुधारका लागि सरकार कटिबद्ध रहेको बताउँदै मन्त्री पौडेलले आगामी तीन वर्षभित्र देशभरका सार्वजनिक विद्यालयहरूलाई भौतिक सुविधा सम्पन्न बनाउने तर्फ सरकार अगाडि बढेको पनि जानकारी दिनुभयो । गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा विश्व निकेतन माध्यमिक विद्यालयको योगदानको प्रशंसा गर्दै उहाँले विद्यालयसँग आगामी दिनमा पनि निरन्तर सम्पर्कमा रहेर गुणस्तरीय शिक्षाका लागि अगाडि बढ्ने प्रतिबद्धता पनि जनाउनुभयो । उहाँले सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधार, शैक्षिक सुधार र कार्यक्रम सुधारका लागि सरकारले नीति र बजेट दिइरहेको अवगत गराउँदै शिक्षण सुधार प्रक्रियाका लागि सरकार सदैव तत्पर रहेको बताउनुभयो ।

उक्त अवसरमा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले विद्यालयको भौतिक पूर्वाधारको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालयका प्राचार्य हेरम्बराज कँडेलले विद्यालयले गुणस्तरीय शिक्षामा गर्दै आएको योगदान र प्राप्त गरेको सफलताको बारेमा चर्चा गर्दै विद्यालयको भौतिक पूर्वाधारको विकासका लागि सरकारको तर्फबाट थप सहयोगको अपेक्षा गर्नुभयो ।

१० लाखको अक्षयकोष स्थापना
हीरक महोत्सवकै अवसरमा विद्यालयमा ‘पद्य ज्योति तथा मिरा ज्योति’ नामक अक्षयकोषको स्थापना गरिएको छ । वार्षिक रूपमा उत्कृष्ट शिक्षक विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले १० लाख रुपियाँको अक्षयकोषको स्थापना गरेको सौरभ ज्योतिले घोषणा गर्नुभएको हो । आफ्ना बुबाआमाको नाममा हीरक महोत्सवका अवसरमा ज्योतिले सार्वजनिक रूपमा अक्षयकोष स्थापना गरिएको घोषणा गर्नुभएको छ ।

दीर्घ सेवा पदक
सोही कार्यक्रममा तिस र पच्चिस वर्षदेखि निरन्तर सेवा गरिआउनुभएका शिक्षक तथा कर्मचारीहरूलाई स्वर्ण पदक, प्रमाण पत्र, दोसल्ला तथा अन्य धातुको कलात्मक उपहारसहित सम्मानित गरिएको थियो ।

सम्मानित हुनेहरूमा प्रधानाध्यापक हेरम्बराज कँडेललगायत तीन सहायक प्रधानाध्यापक क्रमशः गंगा थापा, ओमशंकर श्रेष्ठ र केदार दाहालसमेत रहनुभएको थियो । सोही कार्यक्रममा शैक्षिक तथा अन्य अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई विद्यालय व्यवस्थापन समितका अध्यक्ष गोपाल श्रेष्ठलगायतका विशिष्टि व्यक्तित्वहरूले सम्मानित गर्नुभएको थियो । समारोहमा विद्यार्थीहरूद्वारा नेपाली मौलिक गीत तथा नृत्यहरू प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्