नेपाली समाज होलीमा खेलिने रङजस्तै विविधतापूर्ण : राष्ट्रपति भण्डारी



काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले होलीमा खेलिने विविध रङजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको बताएकी छन् । होलीको शुभकामना सन्देश जारी गर्दै भण्डारीले विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सामथ्र्य बनेको बताएकी छन् । त्यसले सम्पूर्ण नेपालीबीच आपसी प्रेम, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

उनले संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्न यसलाई मितव्ययी र विकृतिरहित राख्नुपर्ने बताएकी छन् । ‘हरेक पर्वसँग गाँसिएको इतिहास, सभ्यता र पौराणिकताको गहिराइ आत्मसात् गर्न सकेमात्र हाम्रो अद्वितीय संस्कृतिको मौलिकता जोगाउन सकिन्छ । समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट हामी सबैमा प्रेरणा मिलोस्,’ राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

मर्यादितरुपमा होली मनाउन प्रधानमन्त्री देउवाको आह्वान
प्रधानमन्त्री शेरबहादुर देउवाले फागु पूर्णिमा अर्थात होली पर्वको विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको बताएका छन् । होलीको शुभकामना दिँदै देउवाले होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गरेका छन् ।

उनले कोभिड-१९ को संक्रमण राेकथामका लागि जारी स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउन आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्